काठमाडौं– अभिनेता विपिन कार्की प्रमुख भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा विपिन विल्कुल फरक अवतारमा देखिएका छन्।
कतिपयले फिल्मको पोस्टरलाई हलिउड फिल्म ‘जोकर’सँग मिलेको भन्दै टिप्पणी समेत गरिरहेका छन्। विशाल सापकोटाको डेब्यू निर्देशनमा तयार भएको यो फिल्मलाई निर्देशक दिनेश राउतले निर्माण गरेका हुन्।
दिनेश स्वयम्लाई फेसबुकमा निशा मानन्धरले ‘जोकर ?’भनेर प्रश्न गर्दा उनले ‘हो’ भनेर जवाफ फर्काएका छन्। त्यस्तै अस्मिता कुमारी लामिछानेले ‘पोस्टर ‘जोकर’कोजस्तै देखिन्छ। केही रोचक छैन। केही नयाँ गरौँ,’ भनेर कमेन्ट गरेकी छन्।
त्यसमा दिनेशले ‘हो, जोकर नै हो। अब नेपाली जोकर हेर्ने नि, के भो र’ भन्दै रिप्लाई गरेका छन्।
यद्यपी विपिनको गम्भिर अवतारलाई पोस्टरमा धेरैले रुचाइरहेका भने छन्। फिल्म युनिटले यसको कथा ‘जोकर’सँग एक प्रतिशत पनि नमिल्ने भन्दै दाबी समेत गरिरहेको छ। फिल्मको पोस्टरमा विपिनको आँखामा गाजल छ, ओठमा रातो रंङको लिपिस्टिक छ भने हुलिया ‘जोकर’को झै छ।
त्यसो त यो फिल्मलाई निर्माण युनिटले यो फिल्मलाई हास्यकलाकारको जीवनमा आधारित फिल्म भनेर बताइसकेको छ। फिल्मको पोस्टरले पनि कमेडी चरित्रको झल्को दिन्छ।
पोस्टर रिलिजसँगै फिल्म युनिटले रिलिज मिती पनि सार्वजनिक गरेको छ। फिल्म आउँदो माघ २४ गते रिलिज हुने घोषणा गरिएको छ।
यो फिल्ममा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराईलगायतका कलाकारको समेत अभिनय छ । अभिनेत्री केकी अधिकारीले समेत एक गीतमा नृत्य गरेकी छन्। फिल्ममा विपिन र लक्ष्मी श्रीमान्(श्रीमतीको भूमिकामा छन् । अभिनेत्री भुवनले विपिनको आमाको भूमिका निभाएकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।