काठमाडौं- मानव तस्करहरुको एउटा सञ्जालले ६२ जना युवाहरुबाट ५ करोड रुपैयाँ ठगी गरेको पाइएको छ।
काभ्रे, सिन्धुपाल्चोक, बारालगायत विभिन्न जिल्लाका युवाहरुलाई रोजगारीका लागि दक्षिण पूर्वी एसियाली मुलुक कम्बोडियामा पठाइदिने भन्दै ठगी गरेको खुलेको हो।
एजेन्टहरुले कम्बोडियामा सेक्युरिटी गार्डको काम भन्दै उनीहरुसँग प्रतिव्यक्ति ८ लाखदेखि १५ लाखसम्म रकम उठाएको पाइएको छ।
धादिङ घर बताउने एजेन्ट कमल गुरुङ र पूर्णबहादुर तामाङले ठगी गरेको पाइएको हो।
यसरी गरे ठगी
काभ्रे जिल्ला रोशी गाउँपालिका-१ का विशाल तामाङलाई साथी चक्रमान घिसिङले चिनजानका व्यक्तिले रोजगारीका लागि राम्रो मुलुक कम्बोडिया पठाउने बताए।
‘कमल गुरुङ नाम गरेका व्यक्तिले कम्बोडियामा पठाउँछन्। ती व्यक्तिलाई मेरी श्रीमतीले राम्रोसँग चिनेकी छन्,’ चक्रमान घिसिङले सुनाए। आफ्नै नजिकको साथी चक्रमानको कुरा सुनेर विशाललाई यसबारे थप बुझ्न मन लाग्यो। विशालले चक्रमान घिसिङकी श्रीमतीसँग कुरा गरे।
युवालाई कम्बोडिया रोजगारीमा पठाउने कमल गुरुङलाई आफूले तिहारमा भाइटीका लगाएर दाइ बनाएको एकदम विश्वासिलो पात्र भएको चक्र घिसिङकी श्रीमतिले विशाललाई बताइन्।
त्यसपछि विशालले सजिलै विश्वास गरे। उनले कमल गुरुङसँग ठमेलस्थित बुद्ध गार्डेनमा भेट गरे। कुराकानी भयो।
गन्तव्य मुलुकः कम्बोडिया
कामः सेक्युरिटी गार्ड
तलबः मासिक १६ सय अमेरिकी डलर
लागतः ८ लाखदेखि १५ लाखसम्म (प्रतिव्यक्ति)
‘कम्बोडिया इन्ट्री गर्न निकै गाह्रो छ। त्यहाँ पुगेपछि जसरी पनि काम मिलाउने व्यवस्था मेरो भयो, काम निकै राम्रो,’ कमल गुरुङले मिठो आश्वासन दिए। कमलले आफू कम्बोडिया ओहोरदोहोर गरिरहेकाले रोजगारीका लागि कुनै समस्या नहुने सुनाए।
अर्का एकजना पूर्णबहादुर तामाङ भन्ने व्यक्ति सेक्युरिटी गार्डको सुपरभाइजर भएर जाने भएकाले उनीहरुको राम्रो रेखदेख पनि हुने सुनाइयो। त्यसपछि विश्वस्त भएर विशाल कम्बोडिया जान तयार भए। उनले ८ लाख रुपैयाँ कमल गुरुङलाई बुझाए। विशाल तामाङ, अमृत घिसिङ, चक्रमान घिसिङ, एजेन्ट कमल गुरुङ र एजेन्ट पूर्णबहादुर तामाङ पहिलो पटक कम्बोडिया जाने भए।
२०७५ पुस १४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कम्बोडियाको भिजिट भिसा बनाएर हिँडेका ५ जनामध्ये अमृत घिसिङ र चक्रमान घिसिङलाई अध्यागमनले रोक्यो। उनीहरु त्यहीँबाट फर्काइए। पूर्णबहादुर तामाङ, विशाल तामाङ र कमल गुरुङ गरी ३ जनाले अध्यागमन पार गरे। त्यहाँबाट उनीहरु थाइल्यान्ड पुगे।
थाइल्याण्डमा १ दिन बसेर उनीहरु भोलिपल्ट कम्बोडिया पुगे। कम्बोडिया पुगेपछि एउटा होटलमा उनीहरुलाई राखियो। पूर्णबहादुर सुपरभाइजर कामका लागि गएकाले त्यहाँ उसले अरु युवाहरुको व्यवस्थापन गर्ने भनिएको थियो।
तर काम केही पनि काम उनीहरूलाई लगाइएन। अरु धेरै संख्यामा श्रमिकको माग रहेकाले सबैजना आइसकेपछि सँगै काममा लगाउने भनियो। काम गरेसम्मको पनि तलब पाइने विशाल तामाङलाई सुनाइयो।
फेरि दोस्रो लटमा पनि नेपालबाट ४ जना युवाहरुको समूह कम्बोडिया पुर्याइयो ।
काम नगरी तलब
कम्बोडिया पुगेको दुई महिना भएको थियो। उनीहरु अन्य युवाहरु भेला पारिरहेका थिए। होटलमा बसेरै पनि उनलाई मासिक १८ सय अमेरिकी डलरका दरले तलब दिइयो।
दोस्रो लटमा पुगेका अन्य केही श्रमिकहरुलाई पनि कमल गुरुङ र पूर्णबहादुर गुरुले रोजगारदाताले दिएको भन्दै मासिक १८ सय अमेरिकी डलरका दरले तलब दिएका थिए। त्यसै क्रममा पूर्णबहादुर गुरुङको पद सुपरभाइजरबाट म्यानेजर बनेको भन्दै पहिले बसिरहेको होटलबाट अर्को होटलमा सार्थे।
तस्करको जालोमा आफन्तबाट आफन्त तानिए
तलब राम्रो थियो। काम नगरेरै त पाइएको छ। काम गरेपछि ओभरटाइम सुविधा पनि हुँदा कमाई कति होला उनीहरुको मन भित्रभित्रै रमाइरहेको थियो। ‘रोजगारदाताले तलब दिइरहेको छ। खान/बस्न पनि राम्रो छ, काम सुरु नभएपनि बसीबसी तलब पाइएको छ,’ उनीहरुले खुसी हुँदै आफन्तलाई सुनाए।
उनीहरुको कुरा सुनेपछि चिनेजानेका साथीहरु आफन्त सबै कम्बोडिया जाने सुर कसे। चिनेजानेकै २७ जना युवाहरु कम्बोडिया पुगिसकेका थिए। होटलमा बस्न थालेको ३ महिना भएको थियो।
सुपरभाइजर कामकै लागि भनेर कम्बोडिया पुर्याइएका अर्का काभ्रेकै आशमान तामाङले कामका बारेमा राम्रोसँग बुझ्दा बल्ल आफूहरु मानव तस्करको फन्दामा परेको थाहा भएको थियो। केही श्रमिकलाई रोजगारदाताले दिएको पारिश्रमिक भन्दै दिएको मासिक १८ सय डलर पनि एजेन्ट आफैँले दिएको पत्ता लाग्यो।
सोही क्रममा एजेन्टहरु पनि २७ जनालाई अलपत्र पारेर फरार भइसकेका थिए। २७ जना श्रमिकलाई कम्बोडियाको होटलमा अलपत्र पारियो। अन्य ३५ जना श्रमिक भने प्रतिव्यक्ति ८ लाखदेखि १५ लाखसम्म बुझाएर कम्बोडिया जाने दिन गनेर बसिरहेका थिए। उनीहरुलाई भिसा आउँछ आउँछ भनेर झुलाएर राखिरहेको थियो।
कम्बोडियाबाट पीडितहरुले आफूहरु फसेको थाहा पाएपछि नेपालमा भएका बाँकी ३५ जना नेपालमै रोकिए। ‘हामीले विश्वास गरेर पैसा त बुझाइसकेका थियौँ, तर पैसा बुझाएको प्रमाण हामीलाई केही पनि दिएन,’ पीडितहरुले नेपाल लाइभसँग गुनासो गर
सिन्धुपाल्चोकका अभिनास तामाङ, फुर्वा तामाङ, सूर्य तामाङ, प्रेमलाल तामाङ, काभ्रेका खिलबहादुर तामाङ, सन्तबहादुर तामाङ गरी ३५ जना श्रमिकले कम्बोडिया जान प्रतिव्यक्ति ८ लाख देखि १५ लाखसम्म बुझाएको बताएका छन्।
सम्पर्कमा नआएका अन्य धेरै जना युवाहरु ठगिएको हुन सक्ने देखिएको छ। पीडितहरु आफन्तसँग पैसा मगाएर गत बैशाखमा फर्किएका छन्। राम्रो काम र कमाइको प्रलोभनमा परेर कम्बोडिया हिँडेका श्रमिकले श्रम स्वीकृति नलिई गएको पाइएको छ।
‘श्रम स्वीकृति लिनु पर्दैन। काम मिलाउने जिम्मा हाम्रो भयो' भनेपछि आफ्नै काकाको छोराले चिनेको साथीमार्फत मैले मेरो छोरालाई पठाएँ, छोरा गएपछि छोराका साथी र चिनजानका ८ जनाभन्दा बढी कम्बोडिया गए। अहिले म पो नराम्रो भएँ,’ पीडित राजु भनिने कामिसिंह घिसिङले गुनासो गरे।
चक्रमान घिसिङ कामिसिंह घिसिङका काकाका छोरा हुन्। आफ्नी श्रीमतीले तिहारमा टिका लगाउने गरेको दाइले राम्रो कमाई हुने मुलुक कम्बोडिया पठाउने भनेपछि उनले पनि विश्वास गरेका थिए।
पीडितहरु कम्बोडियाबाट नेपाल फर्किएपछि पनि उनीहरुलाई मानव तस्करहरुको जालोमा पारिएको पाइएको छ। काठमाडौं आएपछि भेटिएकी शर्मिला गुरूङ आफूलाई म्यानपावर व्यवसायी भनेर चिनाउने गर्छिन्। उनले आफू कमल गुरुङको बहिनी भएको बताएकी छन्। आफू कुन म्यानपावर सञ्चालक भनेर चाहिँ उनले खुलाइनन्।
‘कमल गुरुङ मेरो दाइ हो। उहाँले तपाइँहरुबाट लिएको रकम म फिर्ता दिन्छु,' कमलकी बहिनी भनिने शर्मिला गुरुङले सुनाइन्।
तिनै शर्मिला गुरुङले कमलका साथी भनेर लालकाजी गुरुङलाई भेटाइन्। लालकाजी गुरुङले कमलले ठगी गरेको रकम पीडितलाई दिलाउन सहयोग गर्ने बताए।
पीडितलाई जग्गा
कास्की जिल्लास्थित पोखरामा पक्की सडक नजिकै कमलको नाममा एउटा जग्गा रहेको र पीडितको रकम त्यो जग्गाबाट आउने सुनाइयो। पीडित विशाल तामाङले जग्गाको लालपुर्जा देखाउँदै भने, ‘हामीलाई मेन रोडको जग्गा भनेर कास्की जिल्लाको एउटा डाँडाको ३ रोपनी ९ आना जग्गा पनि पास गरिदिएको छ।’
त्यो जग्गा पीडित उतरध्वज लामाको नाममा पास गरिएको छ। तर जग्गा बेच्दा जम्मा ५० लाखसम्म मात्रै आउने पीडितहरुले बताएका छन्। यस सन्दर्भमा नेपाललाइभले मानव तस्करीमा संलग्न कमल गुरुङकी बहिनी भनिने शर्मिला गुरुङलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन सकेकी छैनन्।
कमल गुरुङलाई तिहारमा टीका लगाउने चक्रमान घिसिङकी श्रीमती भने खुल्न चाहिनन्। आफू र मानव तस्करी/ठगी आरोप लागेका कमल गुरुङ सँगै काम गरेको साथी भएको उनले बताइन्।
‘कमल र म साथी हो । ऊ र म पहिले लाजिम्पाट सांग्रिला क्यासिनोमा काम गर्दा चिनजान भएको हो,’ उनले नेपाल लाइभलाई बताइन्।
मानव बेचविखन अनुसन्धान ब्युरोका डिएसपी राजकुमार सिलवालले पछिल्लो समय मानव तस्करीका घटनाहरु बढ्दै गइरहेको बताए। प्रमाण नदिई रकम ठगी गर्ने र श्रमिकलाई अर्को मुलुकमा लगेर अलपत्र पार्ने घटना बढ्दै गएकाले सचेत हुन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।