काठमाडौं– प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सूचना प्रवाहका दृष्टिबाट प्रधानमन्त्री कार्यालयलाई गुनासोरहित बनाउने बताएका छन्। मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबारमा जिम्मेवारी सम्हाल्दै उनले यस्तो बताएका छन्।
आफू सूचना लुकाउने संस्कारबाट हुर्केको व्यक्ति नभएकाले सरकारका सूचना प्रवाहमा सकेजति पारदर्शी हुने बताए । उनले भने, ‘म सूचना लुकाउने संस्कारबाट हुर्केको होइन। सूचना दिने कुरामा सकेजति इमान्दार हुने कोशिस गरिनेछ।’
केही वर्षअघि नेकपा नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारका रुपमा आफूले सार्वजनिक सरोकारका विषयमा प्रेस नोट जारी गर्ने चलन चलाएको स्मरण गराए। सरकारका कामका विषयमा एकीकृत सूचना सम्प्रेषणमा जोड दिने कुरामा पत्रकारहरुलाई विश्वस्त रहन आग्रह गरे।
फोन र सामाजिक सञ्जालमा आफू सकेसम्म उपलब्ध हुने जानकारी गराउँदै भने, ‘सवै समयमा फोनमा कुरा गर्न सम्भव हुँदैन । त्यस्तो बेला कति जरुरी कुरा हो, म्यासेजमा लेख्नुहोला। अवस्था हेरेर सम्बोधन गर्ने प्रयास गर्नेछु।’
सूर्य–कुन्दन संयोग
प्रधानमन्त्रीको प्रेस सल्लाहकारबाट कुन्दन अर्यालले राजिनामा गरेपछि थापा उक्त जिम्मेवारीमा आइपुगेका हुन्। अर्यालले जिम्मेवारी छाड्ने र उनले पाउने सिलसिला भने पहिलो होइन। यसअघि तत्कालिन नेकपा एमाले निकट पत्रिका बुधबार साप्ताहिकको सम्पादकको जिम्मेवारी थापालाई सुम्पिदै अर्याल बाहिरिएका थिए।
पत्रकारितामा अर्यालसँग आफूले दृष्टि साप्ताहिक हुँदै बुधबारसम्म सहकार्य गरेको थापाले बताए। उनले भने, ‘दृष्टि र बुधबारमा मैले उहाँसँग पत्रकारिता सिकेको छु। संयोगले उहाँले जिम्मेवारी छाड्ने र मैले सम्हाल्ने क्रम दोहोरिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।