काठमाडौं- विश्वकप छनोटको दोस्रो चरणमा नेपाल कुवेतविरुद्धको दोस्रो लेगमा १–० गोलको पराजित भयो। झट्ट हेर्दा नतिजा नेपालको लागि सन्तोषजनक छ। पहिलो लेगको ७–० हार हेर्ने हो भने त ठूलो सुधार भयो।
पछिल्लो समयमा कुवेत र नेपालबीच प्रतिष्ठाको लडाइ जस्तै भइरहेको थियो। यसको पृष्ठभूमि बुझ्न कुवेतसँग हारेको त्यो ७–० गोल पहिलो लेग पुग्नु पर्ने हुन्छ। विश्वकप छनोटको दोस्रो चरणमा नेपालले कुवेतसँग उसैको भूमिमा भदौ १९ गते प्रतिस्पर्धा गर्दै गर्दा राम्रो नतिजा ल्याउँदै सुुखद सुरुवात गर्ने लक्ष्यमा थियो। यसअघि नेपालले कुवेतसँग खेलेको मैत्रीपूर्ण खेलमा निकालेको गोलरहित नतिजाले पनि त्यहि आँकलन देखाएको थियो।
तर खेल नेपालको लागि अनपेक्षित नतिजा निस्कियो। अन्ततः नेपालले कुवेतसँग ७–० गोलको नसोचेको हार भोग्यो। कुवेतसँगको हारपछि नेपालले चाइनिज ताइपेइसँग २–० गोलको जित्यो। त्यसपछि अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० गोलको पराजित भयो।
अवे खेलमा फराकिलो हार ब्यहोरेको नेपाल आफ्नै घरेलु भूमि दशरथ रंगशालामा कुवेतलाई हराउने रणनीति नेपालले लियो। कुवेतलाई पनि यसको हेक्का राम्रोसँग थियो।
दशरथ रंगशालाले ल्याएको टुइष्ट
२०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त बनेको दशरथ रंगशाला मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको लागि भन्दै निर्माण थालिए पनि कुवेत र नेपालको खेल खेलाउने हेतुले नेपालले तयारी थाल्यो। तर रंगशालाले एउटा यस्तो ‘टुइष्ट’ ल्याइदियो, पलाएका आशा र कुवेतलाई जित्ने आकांक्षा हराएर गयो।
कात्तिक तेस्रो साता एसियन फुटबल फेडेरेशन (एएफसी) का प्रतिनिधी देङ सिओ लोङ नेपाल आए। उनी नेपाल आउनुको मुख्य कारण थियो– दशरथ रंगशाला निरिक्षण गर्नु। यसअघि नै कुवेतले रंगशाला ठीक नभएको रिपोर्ट एएफसीमा गरेको थियो।
त्यसबेला रंगशाला धमाधम बनिरहेको थियो। चेन्जिङ रुम बन्दै थियो भने भिआइपीतर्फको प्याराफिटको छाना हाल्नका लागि पिल्लर जडान जारी थियो। अर्कोपट्टी साधारण प्याराफिटतर्फ कुर्सी हाल्ने काम चलिरहेको थियो। तर अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एएफसीका प्रतिनिधि देङ सिओ लोङ रुष्ट बने।
त्यसपछि एएफसीले नेपाल र कुवेतबीचको खेल रंगशालामा नगराउन आदेश दिएपछि एन्फाले न्युट्रल भेन्युको रुपमा भुटानको चाग्लिमिथाङ रंगशाला प्रस्ताव गरेको हो।
कुवेतले नेपालको चिसो मौसममा आएर राति फुटबल खेल्न रुचाइरहेका थिएन। भुटानको रंगशालामा पनि अत्याधिक चिसो हुने कारणले फेरि कुवेतले नमान्ने भयो। यसपछि एन्फा र कुवेत फुटबलसँग बीचमा प्रतिष्ठाको लडाईँ चल्दै गयो। तर जसो तसो एन्फाले एएफसीलाई मनाएपछि नेपाल र कुवेतबीचको खेल भुटानमै भयो।
१२औं खेलाडी अभाव र चार खेलाडी निष्कासन
१२औं खेलाडीको रुपमा घरेलु मैदान र समर्थकको साथ गुमाएको नेपालले कुवेतविरुद्धको खेल खेल्नका लागि भुटान उड्नुअघि झनै ठूलो क्षति खेप्यो।
शनिबार नेपाली फुटबल टिम कुवेतविरुद्ध प्रस्थान गर्दै थियो तर शुक्रबार राति विमल घर्तिमगरसँगै अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी नाइट क्लबमा रक्सी खाँदै हिँडेको पाएइपछि एन्फाले राष्ट्रिय टिमबाटै हटायो।
उनीहरुको स्थानमा मिडफिल्डर सुवास गुरुङलाई समेटेर २० खेलाडी लिँदै मुख्य प्रशिक्षक योहान कालिन भुटान उडेँ। खेलाडीको यस्तो हर्कतले नेपाली फुटबलमा निकै ठूलो बज्रपात भयो। अहिले एन्फाले घटनाको छानविन गरिरहेको छ।
सुधारिएको प्रदर्शन!
कुवेतसँग नेपालले मंगलबार १–० गोलको हार ब्यहोरे पनि तुलनात्मक रुपमा सुधारिएको प्रदर्शन गरेको छ। मुख्य चार खेलाडीविना नै यस्तो प्रदर्शन निकाल्नु स्वभाविक नै मान्न सकिन्छ।
सुरुवाती समयमै आक्रामक खेल खेलेको कुवतेविरुद्ध रक्षात्मक खेल खेल्ने रणनीति नेपालको थियो। खेलको १३औं मिनेटमा कुवेतका खेलाडीले प्रहार गरेको बल कप्तान किरण चेम्जोङले मुस्किलले बचाएका थिए। खेलको २३औं मिनेटमा नेपालले पनि एउटा राम्रो मौका गुमायो।
अजित भण्डारीले प्रहार गरेको क्रस पासमा सुजल श्रेष्ठले मिलाएको बल अभिषेक रिजालले डिबक्सभित्र गोल गर्ने राम्रो मौका गुमाए।
तर खेलको २८औं मिनेटमा कुवेतका बादेर अल मुतवाले कुनै गल्ति गरेनन्। उनले डिबक्सबाहिरबाट नेपाली डिफेन्डरलाई छक्याएर प्रहार गरेको बल साइड बार च्यापेर गोलमा परिणत भयो। उनले प्रहार गरेको बल कप्तान किरणले पनि ठम्याउन सकेनन्।
पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा निकै राम्रो खेल्यो। तर गोल गर्न भने सकेन। एउटा संकटमा गुज्रिएको फुटबल टिमले हारे पनि सुधारिएको प्रदर्शन गर्दै राम्रो छाप छोड्यो।
नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली खेलाडीले निकै राम्रो प्रदर्शन गरेको बताए। उनले भने, ‘केटाहरुले निक्र राम्रो खेले, हामीले एक अंक बटुल्न सक्थ्यौं तर पाएको मौकालाई सदुपयोग गर्न सकिएन। हामीले आजको खेलको गल्तिहरुलाई सुधार गर्दै आगामी दिनमा राम्रो गर्नु पर्छ।’
पहिलो लेगमा ७–० ले हार्नुभन्दा अघि नेपाल र कुवेतबीच गएको मार्चमा भएको दुई खेलमा एउटा गोलरहित बराबरीमा टुंगिएको थियो भने अर्कोमा नेपाल १–० ले पराजित भएको थियो।
विश्वकप छनोटमा ५ खेल खेलेको नेपालले ४ खेलमा हार र १ खेलमा जित हात पार्दै ३ अंक बनाएको छ। समूह ‘बी’ मा रहेको नेपाल अंक तालिकाको चौथो स्थानमा छ।
विश्वकप छनोटको दोस्रो चरणमा अब नेपालले दशरथ रंगशालामा चैत १३ गते चाइनिज ताइपेइसँग र अस्ट्रेलियासँग १८ गते प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, जेठ २२ गते जोर्डनसँग विश्वकप छनोटको दोस्रो चरणको अन्तिम खेल दशरथ रंगशालामा खेल्दै विट मार्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।