नेकपा सचिवालय बैठक बस्दै, मन्त्रीको नाम टुंग्याउन सक्ने

नेपाल लाइभ | २०७६ मङ्सिर ४ बुधबार | Wednesday, November 20, 2019 ०६:३८:०० मा प्रकाशित

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिहान ९ बजेका लागि बोलाइएको छ।

बैठकले पुनर्गठित मन्त्रिपरिषद्‍मा अवसर पाउने मन्त्रीहरुको नाम टुंग्याउने अपेक्षा गरिएको छ। सचिवालयका एक सदस्यले बैठकले नयाँ मन्त्रीहरुको नामलाई अनुमोदन गर्ने सक्ने बताए। 

बुधबार नै नयाँ मन्त्रीले शपथ ग्रहण गर्ने यसअघि नै तय भइसकेको छ। बुधबार दिउँसो ४ बजे नयाँ मन्त्रीहरूको सथप ग्रहणको कार्यक्रमका लागि तयारी गरिएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ।  

लामो समयदेखि चर्चामा रहेको मन्त्रिपरिषद् बुधबार नै हुनसक्ने हिजोको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले नै बताएका थिए।  'प्रधानमन्त्रीले बुधबार नै नयाँ मन्त्रीले सपथ खाने जानकारी दिनुभयो', बैठकमा सहभागी एक मन्त्रीले नेपाल लाइभसँग भने, 'अहिलेसम्मको कार्यकालका लागि धन्यवाद दिनुभयो।'

प्रधानमन्त्रीले हट्ने मन्त्रीहरू र नयाँ आउने मन्त्रीका बारेमा भने केही नखुलाएको ती मन्त्रीले दाबी गरे।

उनका अनुसार, नयाँ साथीहरूलाई पनि अवसर दिन आफूले यस्तो निर्णय लिएकाले पदमुक्त हुने साथीहरूले चित्त नदुखाउन आग्रह गरेका थिए। उनले पार्टीका काममा भूमिका खेल्न पदमुक्त हुने मन्त्रीहरूलाई आग्रह थिए। प्रधानमन्त्रीले मन्त्रीहरूलाई भोलि औपचारिक कार्यक्रम नराख्न पनि सुझाएका थिए।

मन्त्रिपरिषद् पुनर्गठनका लागि सत्तारूढ दल नेकपाले प्रधानमन्त्रीलाई आइतबार नै सैद्धान्तिक सहमति दिएको थियो।

त्यसयता नेकपाका नेताहरूबीच तीव्र भेटवार्ता भएको थियो।