काठमाडौं– आजै हुने भनिएको मन्त्रिषरिषद् पुनर्गठनमा आन्तरिक सहमति जुटाउन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु छलफलमा जुटेका छन्।
बिहान ९ बजेका लागि बोलाइएको सचिवालय बैठक दिउँसो १२ बजेका लागि सारिएको छ। त्यसअघि नेताहरु आन्तरिक छलफलमा व्यस्त छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन्। उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरिसकेका छन्। नयाँ मन्त्रीहरुको सपथ बुधबार दिउँसो ४ बजे हुने बालुवाटार स्रोतको दाबी छ।
निकटस्थ नेताहरुका अनुसार, उनीहरु पदमुक्त हुने मन्त्रीहरु र नयाँ आउने मन्त्रीहरुकै नाममाथि छलफलमा छन्। केही दिनदेखि जारी छलफल निष्कर्षमा नपुगेकै कारण मन्त्रिपरिषद् पुनर्गठनले निष्कर्ष पाउन सकेको थिएन। यद्यपि, मंगलबारको मन्त्रिपरिषद्बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै मन्त्रिपरिषद् पुनर्गठन हुने बताइसकेका छन्। त्यसअघि आइतबारको नेकपा सचिवालय बैठकले पुनर्गठनको लागि सैद्धान्तिक सहमति दिएको थियो।
सोमबार साँझको अध्यक्षद्वयको भेटमा अध्यक्षद्वयबीच कुरा नमिलेपछि मन्त्रिपरिषद् पुनर्गठन केही थकेलिएको आशंका गरिएको थियो। सो बैठकमा प्रचण्डले पुनर्गठनमात्रै होइन, अन्य विषयलाई पनि प्याकेजमै सहमति गर्न आग्रह गरेका थिए। उनी निकटस्थ नेताहरुका अनुसार, प्रचण्डले आफूलाई कार्यकारी अध्यक्ष दिनुपर्ने र सभामुख पनि पूर्व माओवादीबाटै बनाउनुपर्ने माग गरेका थिए। तर ओलीले निर्णय दिन नसक्दा बैठक निष्कर्षमा पुगेको थिएन।
पदमुक्त हुने मन्त्रीहरुको विषय प्रधानमन्त्रीले खुलाएका छैनन्। तर मंगलबारको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित हुनेहरुलाई सोही सूचीमा राखेर हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।