काठमाडौं- जर्मनीले समूह ‘सी’ को शीर्ष स्थानमा रहँदै युरो कप फुटबल छनोट टुंग्याएको छ।
मंगलबार राति भएको खेलमा घरेलु टोली जर्मनीले उत्तरी आयरल्यान्डलाई ६–१ गोलअन्तरले पराजित गरेको हो। जर्मनीको जितमा सर्ज गन्ब्रीले ह्याट्रिक गोल गरे। लियोन गोरेट्जकाले २ गोल गर्दा जुलियन ब्रान्ड्टले १ गोल थपे। यता, आयरल्यान्डका लागि मिचेल स्मिथले १ गोल फर्काएका थिए।
खेलको सुरुवाती अग्रता भने आयरल्यान्डले बनाएको थियो। खेलको सातौं मिनेटमा नै स्मिथले गोल गर्दै आयरल्यान्डलाई अग्रता दिलाएका थिए। तर यो अग्रता धेरै बेर टिक्न सकेन। खेलको १९औं मिनेटमा नै गन्ब्रीले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए।
खेलको ४३औं मिनेटमा गोरेट्जकाले गोल गरेपछि पहिलो हाफसम्म जर्मनीले २–१ गोलको अग्रता बनाएको थियो। खेलको ४७औं र ६०औं मिनेटमा गन्ब्रीले गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि ७३औं मिनेटमा गोरेट्जका र खेलको अतिरिक्त समयमा जुलियनले गोल गरेपछि जर्मनीले आयरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो।
यसै समयमा भएको अर्को खेलमा नेदरल्यान्ड्सले इस्टोनियालाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ। नेदरल्यान्ड्सले पहिलो हाफमा २ र दोस्रो हाफमा थप ३ गोल गर्दै जित हात पारेको हो।
यो समूहबाट जर्मनी विजेता र नेदरल्यान्ड्स उपविजेता बन्दै युरो कपमा यसअघि नै प्रवेश गरिसकेका थिए।
शीर्ष स्थानमा रहेको जर्मनीको ८ खेलबाट ७ खेलमा जित र १ खेलमा हार ब्यहोर्दै २१ अंक बनाएको हो। दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले समान ८ खेलमा ६ खेलमा जित तथा १ खेलमा हार र १ खेलमा बराबरी खेल्दै १९ अंक बनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।