काठमाडौं- इंग्लिस क्लब टोटनह्यामले जोसे मोउरिन्होलाई प्रशिक्षकमा नियुक्त गरेको छ। प्रिमियर लिगमा खराब नतिजा आइरहँदा प्रशिक्षक मोउरिसियो पोचेटिनोलाई बर्खास्त गरेको टोटनह्यामले मोउरिन्होलाई नियुक्त गरेको हो।
मोउरिन्होलाई २०२२–२३ को सिजनसम्मका लागि प्रशिक्षक नियुक्त गरिएको टोटनह्यामले जनाएको छ।
‘टोटनह्यामका खेलाडीहरुसँग काम गर्ने कुराले नै मलाई आकर्षित गरेको हो। खेलाडी र एकेडेमी नै स्तरीय छ’ ५६ वर्षका पोर्चुगिज प्रशिक्षक मोउरिन्होले भने।
टोटनह्यामका प्रमुख डानियल लेभीले भनेका छन्– ‘जोसेका रुपमा हामीले विश्व फुटबलमा सर्वाधिक सफल मध्येका एक प्रशिक्षक पाएका छौँ।’
गएको सिजन पोचेटिनोको प्रशिक्षणमा टोटनह्याम च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो। पोचेटिनो २०१४ को मेदेखि क्लबमा थिए।
अहिले प्रिमियर लिगमा १२ खेल खेल्दा टोटनह्याम १४ औँ स्थानमा छ। जसमा टोटनह्यामले ३ खेल मात्र जितेको छ भने पाँच खेल बराबरी र ४ खेल हारेको छ।
मोउरिन्होले यसअघि चेल्सीमा हुँदा तीन प्रिमियर लिग र एक एफए कप साथै म्यानचेस्टर युनाइटेडमा हुँदा काराबाओ कप र युरोपा लिगको उपाधि जितेका थिए।
यसअघि मोउरिन्होले पोर्चुगिज क्लब पोर्टोमा प्रशिक्षण गर्दा च्याम्पियन्स लिग, इटालियन क्लब इन्टर मिलानमा हुँदा लिग, कप र च्याम्पियन्स लिग साथै स्पेनिस क्लब रियल मड्रिडमा रहँदा ला लिगाको उपाधि जितेका थिए।
२०१८ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेडले प्रशिक्षकबाट बर्खास्त गरेपछि मोउरिन्हो खालि बसिरहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।