काठमाडौं- सरकारी तथा दातृ निकाय एसियाली विकास बैंक (एडिबी)का अधिकारीहरुले पूर्वाधार आयोजनाको प्रगतिप्रति असन्तुष्टी राखेका छन्। आयोजना, अर्थमन्त्रालय र एडिबीका प्रतिनिधीबीचको त्रिपक्षीय छलफलमा सरकारी र दातृ निकायका प्रतिनिधिले कार्यान्वन क्षमतामा प्रश्न उठाएका हुन्।
एडिबीले नेपालमा सन् २०१९ मा ठेक्का सम्झौता र खर्च गर्न राखेको लक्ष्य पुरा नभएपछि कार्यान्वयन क्षमतामै प्रश्न उठाइएको हो। एडिबीको लक्ष्यअनुसार कुनै पनि क्षेत्रमा प्रगति हासिल भएको छैन।
एडिबीले यो अवधिमा सहरी तथा खानेपानीको क्षेत्रमा ८३ करोड ऋण दिने सम्झौता गरेको भए पनि २४ करोड २० लाख डलर बराबरको ठेक्का लागेको छैन भने ३४ करोड ८० लाख डलर खर्च हुन सकेको छैन।
सैगरी यातायात क्षेत्रमा ४२ करोड ३० लाख डलर बराबरको ठेक्का लाग्न बाँकी छ भने ६० करोड डलर खर्च हुन बाँकी छ। ऊर्जा क्षेत्रमा १० करोड डलरको ठेक्का लाग्न बाँकी छ भने ३९ करोड ५० लाख डलर खर्च हुन बाँकी छ।
एडिबीका नेपालस्थित आवासीय मिसनका पोर्टफोलियो व्यवस्थापन युनिट प्रमुख रुदी भान डिलले कुनै पनि क्षेत्रमा लक्ष्यअनुसारको खर्च नभएको बताए। उनका अनुसार शिक्षामा १३ करोड २३ लाख डलर खर्च गर्ने लक्ष्य राखिएकोमा ७ करोड ११ लाख डलर मात्रै खर्च भएको छ। सहरी तथा खानेपानीमा ११ करोड ४९ लाख डलर खर्च गर्ने लक्ष्य राखिएकोमा ५ करोड २४ लाख डलर मात्रै खर्च भएको छ।
यसैगरी ऊर्जा क्षेत्रमा ९ करोड ३३ लाख खर्च गर्ने लक्ष्य राखिएकोमा ४ करोड ९४ लाख डलर खर्च भएको छ। यातायात क्षेत्रमा ४ करोड ११ लाख डलर खर्च गर्ने लक्ष्य राखिएकोमा २ करोड ७२ लाख डलर मात्रै खर्च भएको छ। कृषि तथा अन्य क्षेत्रमा पनि उपलब्धि हासिल नभएको उनले उल्लेख गरे।
कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाले एडिबीको सहयोमा सञ्चालित आयोजनाको ठेक्का सम्झौता र खर्चमा निकै समस्या रहेको उल्लेख गरे। वित्तीय तथा भौतिक प्रगति सुधारका लागि आयोजना कार्यान्वयनका लागि खटिने कर्मचारी, एडिबी र अन्य सरोकारवालाबीच सहकार्य हुनुपर्ने पनि उनले उल्लेख गरे। 'यस्ता समीक्षाबाट समस्या पहिचान र समाधानमा सहयोग पुग्छ,' उनले भने।
एडिबीका आवासीय प्रतिनिधि मुख्तोर हामुदखानोभले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको प्रगतिको प्रसंसा गरे। उनले आयोजना कार्यान्वयनमा हुने ढिलासुस्ती र पटकपटक हुने कर्मचारी सरुवाको भने आलोचना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।