काठमाडौं- नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय सीमा सुरक्षाबारे दुई देशका सुरक्षा अधिकारीहरुकाे बैठक बुधबारदेखि पोखरामा सुरु भएको छ।
तीन दिनसम्म चल्ने बैठकमा नेपालकाे तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी)का महानिर्देशक कुमार राजेश चन्द्रले नेतृत्व गर्ने छन्।
दुई देशबीच कालापानी क्षेत्रको सीमा विवाद चलिरहेका बेला बस्न लागेको उक्त बैठक कालापानी विवादकै विषयमा भने प्रवेश गर्ने छैन।
सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरज श्रेष्ठले बैठक नियमित भएकाले अन्तरदेशीय सीमा अपराध, दशगजा क्षेत्रमा संयुक्त गस्ती, सूचना र तालिम आदानप्रदान जस्ता विषयमा छलफल हुने बताए।
परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीसमेत सहभागी हुने बैठक सीमा सुरक्षाको विषयमा मात्र केन्द्रित हुने श्रेष्ठले बताए।
कालापानी क्षेत्रको विषयले बैठकमा प्रवेश पाउँछ? भन्ने नेपाल लाइभको प्रश्नमा डिआइजी श्रेष्ठले भने, ‘यस्ता विषयमा प्रवेश गर्ने अधिकार हामीलाई हुँदैन। यो हाम्रो तहमा समाधान हुने विषय पनि होइन।’
सीमा सुरक्षाको जिम्मेवारी पाएका एपिएफ र एसएसबी ०६९ देखि यस्तो बैठकमा बस्न थालेका हुन्।
दुवै देशमा आलोपालो गरी बस्ने गरेको यो चौथो बैठक हो।
पहिलो बैठक २०६९ मा भारतमा बसेको बैठक थियो।
दोस्रो बैठक २०७२ मा नेपालमा भएको थियो भने तेस्रो बैठक २०७३ मा नयाँ दिल्लीमा बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।