काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) एक वर्षमै पौने २ अर्ब रुपैयाँभन्दा बढी घाटामा गएको छ।
गत आर्थिक वर्ष २०७५/०७६ मा मात्रै नेपाल एयरलाइन्सले १ अर्ब ८२ करोड रुपैयाँ भन्दा घाटा ब्यहोरेको हो।
गत आवमा नेपाल एयरलाइन्सले १५ अर्ब १४ करोड ५ लाख ६१ हजार ४ सय १ रुपैयाँ आम्दानी गरेको थियो। तर, निगमले खर्च भने १७ अर्ब रुपैयाँको हाराहारीमा गरेको स्रोतको भनाइ छ। निगमको सबैभन्दा बढी घाटा अपरेशनमा छ।
निगमले गत आवमा अन्तर्राष्ट्रिय उडानबाट १० अर्ब ७० करोड ४ लाख ४५ हजार ३ सय ४५ रुपैयाँ आम्दानी गरेको थियो भने आन्तरिक उडानबाट २९ करोड ५२ लाख ९५ हजार ३ सय ८४ रुपैयाँ आम्दानी गरेको थियो। साथै निगमले ग्राउन्ड ह्यान्डलिङ सेवाबाट ४ अर्ब रुपैयाँ १४ करोड ४८ लाख २० हजार ६ सय ७० रुपैयाँ आम्दानी गरेको थियो।
निगमले ग्राउन्ड ह्यान्डलिङबाट आउने आम्दानीबाट विगत वर्षहरुमा घाटा पूर्ति गर्ने गरेको थियो। तर यसपटक भने अत्याधिक खर्चका कारण त्यो आम्दानीले पनि निगमलाई घाटाबाट जोगाउन सकेन। चर्को घाटापछि निगमले जहाज खरिदमा लिएको ऋणको सावाँ तथा ब्याज भुक्तानी गर्न सकेको छैन। निगमको ऋण मात्रै अहिले ३८ अर्ब रुपैयाँभन्दा बढी छ।
निगमले प्रत्येक ३ महिनामा जहाज खरिदका लागि लिएको ऋणको किस्ता र ब्याज मात्रै १ अर्ब रुपैयाँभन्दा बढी तिर्नुपर्छ। निगमले ३ पटकको किस्ता तिर्न सकेको छैन। चर्को घाटा व्यहोरिरहेको निगमले हालैमात्र खर्च कटौतीका केही योजना अघि सारेको छ।
निगमले आर्थिक वर्ष २०७४/०७५ मा पनि २५ करोड रुपैयाँ र २०७३/०७४ मा ३५ करोड रुपैयाँ बराबर नाफा गरेको थियो। तर, ती आर्थिक वर्षहरुमा पनि निगम जहाज उडानमा भने घाटामा नै थियो।
गत आवमा भने निगमलाई एकैपटक झन्डै २५ अर्बको ऋण भार थपिएको थियो। निगमले अहिले लामो दूरीमा उडानका लागि खरिद गरेको दुई वटा वाइडबडी ए ३३० जहाज पनि जापानको ओसाका मात्रै उडान गर्न सकेको छ। ओसाका उडानमा पनि निगमलाई घाटा छ।
निगमले चीन र जापानकै नारिता विमानस्थमा पनि उडान गर्न सकेको छैन। योसँगै अन्तर्राष्ट्रिय उडानमै रहेको बोइङ पनि गत अक्टोबरदेखि ग्राउन्डेड हुँदा निमगको आम्दानी कम भएको थियो।
साथै आन्तरिक उडानमा रहेको ९ वटा जहाज मध्ये वर्षभरी नै नियमित रुपमा ४ देखि ५ वटा मात्रै जहाजले उडान भरेको थियो। उडेका जहाजको उडान संख्या पनि अतिनै न्यून छ। निगम स्रोतका अनुसारनिगमलाई आन्तरिक उडानमा मात्रै १ अर्ब रुपैयाँ बराबरीको घाटा छ। (तस्बिर : नेपाल एयरलाइन्स)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।