काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले ५ जना मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले ५ मन्त्रीको हेरफेर गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सचिवालय सदस्यले जानकारी दिएका छन्।
सचिवालय बैठक बस्नुअघि मन्त्रीका लागि सम्भावित नामबारे नेताहरुबीच छलफल भएको छ।
नेकपाका एक स्थायी कमिटीका सदस्यका अनुसार नयाँ मन्त्री बनाउनै पर्नेहरुको एउटा सूची बनेको छ।
त्यही सूची भित्रबाट केहीले मन्त्री बन्ने अवसर पाउनेछन्।
मन्त्रिपरिषद् हेरफेर गर्दा प्रधानमन्त्रीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापालाई बिदा दिने लगभग स्पष्ट भइसकेको छ।
यीबाहेक भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, श्रम मन्त्री गोकर्ण विष्ट, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, खानेपानी तथा सरसफाई मन्त्री बिना मगरप्रति पनि प्रधानमन्त्री असन्तुष्ट भएको विश्लेषण गरिएको थियो।
बुधबारकै सचिवालय बैठकले नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार दिइएको छ।
'अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकार सहित पार्टी काममा केन्द्रित हुने निर्णय भएको छ', बुधबारको सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।
दुवै अध्यक्षको वरियता भने समान रहने सचिवालयको निर्णय छ। बैठक संयुक्त अध्यक्षतामा सम्पन्न हुने छ। तर आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्नेछन्।
यस्तै, ओली भने बाँकी कार्यकाल पनि प्रधानमन्त्री रहने सचिवालयको निर्णय छ। प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने निर्णय भएको श्रेष्ठले बताए।
'पार्टी र सरकार सञ्चालन अध्यक्षद्वय बीचको आपसी सल्लाहमा गर्ने र पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र पार्टी कमिटीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय भएको छ', प्रवक्ता श्रेष्ठले भने।
पार्टी एकता गर्दा दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने गोप्य सहमति भएको थियो। सो विषयले पार्टीबाट वैधानिक अनुमोदन नपाउँदा अन्यौल देखिएको थियो। प्रचण्डले आफूलाई पार्टी सञ्चालनमा कार्यकारी अध्यक्ष दिन माग गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।