काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले द्वन्द्वपीडितका संवेदनामा आघात पर्ने काममा आयोगको सर्मथन नुहने बताएको छ।
द्वन्द्वकालका पीडितहरुले न्याय पाउनु पर्दछ भन्ने कुरामा आयोग रहेको भन्दै आयोगले उपयुक्त समयमा उचित जिम्मेवारी निर्वाह गर्ने बताएको छ।
‘द्वन्द्वकालका पीडितहरुले न्याय पाउनु पर्दछ भन्ने कुरामा आयोग दृढ छ,’ शान्ति प्रक्रिया सुरु भएको १३ वर्ष पुगेको अवसरमा आयोगले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘द्वन्द्वपीडितका संवेदनामा आघात पर्ने खालका काम, कारबाही, निर्णय तथा गतिविधिहरुमा आयोगको समर्थन हुन नसक्ने कुरामा सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदै आयोग आफूले उपयुक्त समयमा उचित रुपमा जिम्मेवारी निर्वाह गर्ने कुरा पुनः दोहोर्याउँछ।’
द्वन्द्वकालीन मुद्दा टुंगो लगाउन बनाइएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा राजनीतिक दलले चाहेका व्यक्ति सिफारिस गर्ने काममा आयोग पनि साक्षी बसेको भन्दै द्वन्द्वपीडितले आयोगको आलोचना गरिरहेका छन्।
दुवै आयोगमा नाम सिफारिस गर्न पूर्वन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा बनेको सिफारिस समितिले सोमबार ६१ जनाको रोष्टर सार्वजनिक गरेको थियो।
सिफारिस समितिमा आयोगका आयुक्त पनि एकजना सदस्य छन्।
प्रमुख राजनीतिक दलहरुले सहमति गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यक्षमा गणेशदत्त भट्टलाई सिफारिसका लागि समितिमा नाम पठाउने निर्णय गरेका थिए।
दलहरुकै निर्णय अनुसार भट्टको नाम पनि सूचनामा समावेश गरिएपछि सिफारिस प्रक्रियामा राजनीतिक हस्तक्षेप भएको भन्दै द्वन्द्वपीडितले आपत्ति जनाउँदै आएका छन्।
आयोगले भने आफूहरु यस्तो कुरामा संवेदनशील रहेको बताएको छ।
राजनीतिक दलहरुको दबाबअनुसार आयोगमा सदस्यको नाम सिफारिस गर्ने विषयमा सञ्चारमाध्यमहरुमा समाचार प्रकाशित भएपछि त्यसमा आयोगले आपत्ति जनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।