काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारको मुख्य भवन भत्काइने भएको छ। विक्रम संवत् २०१९ सालमा डा तुल्सी गिरी प्रधानमन्त्री भएका बेला बनाइएको सो भवन पुनर्निर्माणका लागि भत्काउन लागिएको हो।
प्रधानमन्त्री निवास रहेको सो भवनमा बुधबार बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक अन्तिम भएको छ। अब तत्कालै सो स्थानमा भवन भत्काउने काम सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
योसँगै प्रधानमन्त्री ओली हालको प्रधानमन्त्री निवाससँगै जोडिएको राष्ट्रियसभा अध्यक्षको निवासमा सर्न लागेका छन्।
'प्रधानमन्त्री राष्ट्रियसभा अध्यक्षको निवासमा सर्न लाग्नुभएको छ। हाल उहाँको निवास रहेको स्थानमा अब पुनर्निर्माणअघि कुनै औपचारिक कार्यक्रम हुने छैनन्,' प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले भने।
राष्ट्रियसभा अध्यक्ष भने सभामुख निवासमा सारिसकेका छन्। राष्ट्रियसभा अध्यक्ष सभामुख निवासमा सरेसँगै यसअघि 'सभामुख निवास' लेखिएको प्लेट हटाइ सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।