वीरगञ्ज- अतिरिक्त शुल्क फिर्ताको माग राखेर नेसनल मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीलाई कलेज प्रशासनले अभद्र व्यवहार गरेको छ। आन्दोलनमा उत्रिएका विद्यार्थीलाई कलेज प्रशासनले बिहीबार राती अबेरसम्म पनि होस्टल छिर्न नदिएर अभद्र व्यवहार गरेको हो।
राती अबेरसम्म पनि होस्टल प्रवेश गर्न नदिने, धम्की दिनेलगायतका काम कलेज प्रशासनबाटै हुन थालेको भन्दै विद्यार्थीहरूले सुरक्षाको माग गरेका छन्। कलेज प्रशासनबाटै आफूहरू असुरक्षित भएकाले सुरक्षाको ग्यारेन्टी गर्न स्थानीय प्रशासनसमक्ष उनीहरुले माग गरेका हुन्।
सरकारले तोकेकोभन्दा बढी शुल्क उठाएको विरोधमा कलेज परिसरमा धर्नालगायतका विरोधका कार्यक्रम गरिरहेका उनीहरूमाथि कलेज प्रशासनले नै आक्रमणको प्रयास गरेको विद्यार्थीको आरोप छ। बिहीबार साँझ कलेज प्रशासनले आफू निकटका विद्यार्थी र बाहिरका व्यक्ति बोलाएर धम्की दिएको विद्यार्थीको भनाइ छ।
आन्दोलनरत विद्यार्थीलाई होस्टल प्रवेश गर्न लागेका विद्यार्थीलाई कलेज प्रशासनले मुख्य गेटभन्दा बाहिर नै रोकेको थियो। यसपछि विद्यार्थीले आक्रोशित बनेका थिए। तर विद्यार्थी आत्तिएर रोइकराईमा उत्रिएपछि सामाजिक दबाब पर्ने भएकाले कलेज अर्कै गेटबाट विद्यार्थीलाई होस्टल प्रवेश गराएको छ।
कलेज परिसरका एक स्थानीयका अनुसार भर्खरैमात्र कलेज प्रशासनले विद्यार्थीलाई होस्टल प्रवेश गर्न दिएको छ। 'राती अबेरसम्म पनि होस्टल प्रवेश नगराएपछि विद्यार्थीहरू आत्तिएका थिए। केही विद्यार्थीले रोइकराई गर्न थालेपछि प्रशासनले मुख्य गेटभन्दा छुट्टै स्थानबाट भित्र प्रवेश गर्न दिएको हो,' ती स्थानीयले भने। विद्यार्थी होस्टल प्रवेश गरेपछि कलेज गेटबाहिरको वातावरण शान्त बन्दै गएको उनको भनाइ छ।
विद्यार्थीहरूले तत्काल बढी शुल्क फिर्ता गर्नुपर्ने माग राखेका छन्। बढी शुल्क फिर्ता नभएसम्म फर्म नभर्ने उनीहरूको अडान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।