राजविराज- २०७५ फागुन १४ गते बिहान सप्तरीको खडक नगरपालिका–५ का ७२ वर्षीय सवुरी साह र उनकी पत्नी ६५ वर्षीया बेचनीदेवीको हत्या भयो।
दुध पुर्याउन आएका व्यक्तिले घरको गेट नखुलेको जानकारी गराएपछि छरछिमेक हुँदै घटनाको जानकारी प्रहरीसम्म पुग्यो। प्रहरीले घरको गेट खोल्यो, दम्पत्तिलाई कोठाभित्रै जलाइएको थियो। सबुतका रुपमा केही हड्डी र खरानी मात्र थियो।
उनीहरूका दुवै छोरा जागिरे छन्। जेठा सत्यनारायण उदयपुर सदरमुकाम गाईघाटस्थित खानेपानी कार्यालय र कान्छा तेजनारायण सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्जिनियर हुन्। अन्य कोही सदस्य नभएको घरमा आगो लगाएर वृद्ध दम्पत्तिको हत्या हुनु सामान्य कुरा थिएन। त्यसमाथि पूर्वपश्चिम राजमार्ग अन्तर्गत खरचुहिया बजारमै भएकाले प्रहरीको सुरक्षा व्यवस्था माथिको प्रश्न पनि थियो यो घटना।
प्रहरीको सक्रियता र चासोले पनि घटनालाई असामान्य रुपमा देखायो। प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरवोनाको संयुक्त टोली अनुसन्धानमा लाग्यो। फरेन्सिक एक्स्पर्टदेखि सुनसरीको धरानस्थित पूर्व क्षेत्रीय प्रहरी आवासीय माद्यमिक विद्यालयबाट तालिम प्राप्त कुकुर पनि झिकाइयो।
तर, अपेक्षा अनुसार फरेन्सिक एक्स्पर्ट र कुकुरबाट पनि प्रहरीले सहयोग पाउन सकेन। कुकुरले प्रहरीलाई नजिकै रहेको पोखरीको डिलसम्म मद्दत गर्यो, त्यसपछि रोकियो। पोखरीको डिलमा कस्तुरी मदिराको बोतल बरामद भएपछि भारतीय डाका समूहले उनीहरूको हत्या गरेको प्रहरीले अनुमान लगायो।
भारतको बिहार राज्यमा मदिरा निषेध गरिएपछि नेपालबाट भारत तस्करी हुने मध्ये ‘कस्तुरी ब्राण्ड’ प्रमुख हो। तर, नेपालमा भने यसको प्रयोग नगण्य छ। यसैका आधारमा हत्याराले पोखरीमा पुगेर शरीर तथा रगत सफा गरी मदिरा सेवन गरेर हिँडेको हुन सक्ने प्रहरीको अनुमान थियो।
फरेन्सिक एक्स्पर्टले पनि अनुसन्धानमा बल गर्न सकेनन्। लामो समयसम्म डिएनए परीक्षणमै प्रहरी अल्मलियो। जग्गा तथा गहना बन्धक राखी ब्याजमा ऋण लगानी गर्ने दम्पत्तिको करिब ४० लाख रुपैयाँ गाउँमा लगानी र हत्या हुँदाका बेला पनि घरमा ५/७ लाख रुपैयाँ रहेको आधारमा पैसाकै लागि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान थियो। प्रहरीले सोही एंगलबाट अनुसन्धान थाल्यो।
२० जना सहयोगी र १० जना विशेष गरी ३० जना प्रहरीको टोली करिब १ महिना इलाका प्रहरी कार्यालय कडरबोनामा बसेर अनुसन्धान गर्दा पनि घटनाको वास्तविकता पत्ता लागेन। जेठा छोरा सत्यनारायण भन्छन्, ‘मुद्दा फाँटका इन्स्पेक्टरदेखि डिआजीसम्मलाई भनिरहेका छाैं। घटनाको एक वर्ष पूरा हुन लाग्यो, तर सकारात्मक जवाफ पाएको छैन।’
‘काम गर्दैछौं, सबै कुरा भन्न मिल्दैन भन्दै' प्रहरीले अनुसन्धानलाई लम्ब्याउँदै लगेको उनले गुनासो गरे। ‘जाहेरी पनि डेढ महिनाअघि मात्रै दर्ता भयो,’ उनले थपे, ‘छोरा/छोरीलाई पनि जानकारी दिन नमिल्ने गरी प्रहरीले कस्तो अनुसन्धान गर्दैछ। बुझ्न गाह्रो परेको छ।’
प्रहरीकै भनाइलाई आधार मान्ने हो भने पनि मुद्दा दर्ता गर्ने बाहेक उल्लेख्य उपलब्धि छैन। सप्तरीका एसपी कृष्ण प्रसाई भन्छन्, ‘अनुसन्धान भइरहेको छ। अभियुक्तहरूको पहिचान हुन सकेको छैन, खोजी जारी छ।’
०००
२०७६ जेठ १३ गते राजविराज नगरपालिका–१६, बोरिया निवासी ४६ वर्षीय तुलसी दास विवाहमा सहभागी हुन सर्लाही जाने भन्दै घरबाट निस्किए। राजविराज ९, जोलहरीका रेशमलाल यादवसँगै निस्केका उनी १४ गते साँझसम्म पनि सर्लाही पुगेनन्। दोस्रो दिन सिरहाको लहानबाट तुलसीले पत्नी सोमिन्द्रादेवीलाई फोन गरे। सोही दिनदेखि उनी बेपत्ता छन्।
राजविराज हटियामा किराना पसल सञ्चालन गर्दै आएका उनले पसलमा सामान थप्न भन्दै नगद ५० हजार बोकेका थिए। सोही पैसाका लागि रेशमलालले आफनो पतिलाई बेपत्ता बनाएको हुनसक्ने सोमिन्द्राको आशंका छ।
तुलसी बेपत्ता भएकै दिनदेखि रेशम पनि सम्पर्कबिहीन छन्। सोमिन्द्राले रेशम विरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा जेठ १९ गते नै किटानी जाहेरी दर्ता गराएकी छन्। तर, उजुरी दर्ता भएको साढे ५ महिना वितिसक्दा पनि प्रहरीले घटनाको यथार्थ पत्ता लगाएको छैन।
यो घट्नामा पनि प्रहरीलाई असफलता नै हात लागेको छ। आफनो पति बेपत्ता भएको विषयमा प्रहरीले हालसम्म पनि चित्तबुझ्दो जवाफ नदिएको सोमिन्द्राले गुनासो गरिन्। प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरे पनि आधिकारिक पुष्टि गर्न र संलग्न व्यक्तिलाई उभ्याउन सकेको छैन।
‘आशंका गरिएको व्यक्ति पनि बेपत्ता छ,’ एसपी प्रसाईले भने, ‘हामीले सप्तरीदेखि सर्लाहीसम्म वाच गरिरहेका छौं। तर, सुराक फेला परेको छैन।’
०००
२०७५ असोज २३ गते राजविराज नगरपालिका-२ स्थित पिस जोन बोर्डिङ स्कुल नजिक स्थानीय युवाहरूको ग्याङ फाइट चल्यो। सो घटनामा तरबार प्रहारबाट राजविराज–१ डुमरी शिवथानका २५ वर्षीय प्रेम यादव घाइते भए। उपचारको क्रममा दुई दिनपछि उनको मृत्यु भयो।
प्रेमको हत्यामा संलग्न भएको आरोपमा १३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा किटानी जाहेरी परेको छ। सो मध्ये राजविराज-१३, विषहरीयाका मिथिलेस यादव र सरोज कुमार यादवलाई प्रहरीले पक्राउ गरी गरेको छ। मिथलेश पुर्पक्षका लागि कारागार चलान भएका छन् भने सरोज कुमार यादव नाबालक भएकाले व्यक्तिको जिम्मा लगाइएको छ। अन्य ११ जना हालसम्म पनि फरार छन्।
छोराको हत्यामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्न मृतकका पिता भनालाल यादवले बेला-बेला प्रहरीलाई दबाब पनि दिँदै आएका छन्। तर, प्रहरीले आफनो कुरालाई गम्भीरतापूर्वक नलिएको उनको गुनासो छ। ‘उनीहरू कहाँ छन् भन्नोस्, हामी पक्राउ गर्छाैं भन्छन्,’ उनले भने, ‘हामीले खोजेर जिम्मा लगाउने भए प्रहरी किन चाहियो?’
जिल्ला प्रहरी कार्यालय सप्तरीले भने फरार रहेका प्रतिवादीहरूको नाममा अदालतबाट म्याद जारी भएको र खोजतलास जारी रहेको जनाएको छ।
गम्भीर प्रकृतिका घटनामा प्रहरीको सक्रियता फितलो
उल्लेखित घट्ना प्रतिनिधिमूलक हुन्। सप्तरीमा यस्ता गम्भीर प्रकृतिका घटना अत्यधिक छन्। २०७६ असार ७ गते राजविराज नगरपालिका ७ स्थित खर्साल टोलमा तिरहुत गाउँपालिका–३, पिप्राहीका २५ वर्षीय जयकृष्ण विराजी (यादव)लाई कुटपिट गरी हत्या गरिएको देखि लागू औषधदूर्व्यसनीले कुटपिट गरी तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठीका परशुराम मिश्रको हत्या गरेको (कुटपिटः ०७५ मंसिर २९, मृत्युः ०७५ पुष १ गते) सम्मका घटनाका पीडितले अहिलेसम्म पनि न्याय पाएका छैनन्।
प्रहरीले दोषी पक्रेर कारबाही गर्छौं भनेर पीडित परिवारलाई आशा मात्र देखाइहेको छ। ‘हामीले त प्रहरीलाई भन्ने मात्रै हो। नत अनुसन्धान गर्न सक्छौं, नत कसैलाई पक्राउ गर्ने क्षमता हामीसँग छ,’ मृतक साह दम्पत्तिका छोरा सत्यनारायण भन्छन्, ‘कारबाही पनि हुँदैन, सबै कुरा जानकारी पनि दिँदैनन्। चित्त बुझाउने ठाउँ कहाँ छ?’
गम्भीर प्रकृतिका मुद्दा सप्तरीमा धेरै छन्। आव ०७४/०७५ पछि दर्ता भएका २ सय ७० वटामा ४९ वटा मुद्दा अझै फर्छ्यौट हुन बाँकी छ। फर्छ्यौट भएका २ सय २१ मुद्दाका पनि २ सय ४८ अभियुक्त हालसम्म पनि फरार रहेको प्रहरीको तथ्यांकले देखाउँछ।
अधिकांश अभियुक्त फरार
यति मात्रै होइन, सप्तरीमा अधिकांश आपराधिक घटनामा अभियुक्तहरू फरार हुने क्रम बढेको देखिन्छ। प्रहरीले उनीहरूलाई पक्राउ गर्न नसक्दा पीडित परिवारमा निराशा छ। प्रहरीको काम अनुसन्धान र खोजतलासमै अलमलिएको प्रहरीकै तथ्यांकले पनि प्रष्ट्याउँछ। जसका कारण पीडित परिवारले चित्तबुझ्दो जवाफसम्म पाएका छैनन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आव ०७६/०७७ को कार्तिकसम्म ४ महिनामा मात्रै सप्तरीमा कर्तब्य ज्यानका ५ वटा मुद्दा दर्ता छन्। जसमा ४ वटा फर्छ्यौट र एउटा मुद्दा बाँकी छ। ती घटनामा ८ जना अभियुक्त पक्राउ परेका छन्, तर १७ जना अभियुक्त फरार छन्।
आव ०७४/०७५ र ०७५/०७६ को तथ्यांकले यसलाई थप पुष्टि गर्छ। यस अवधिमा प्रहरीले कर्तब्य ज्यानको मात्रै २२ वटा मुद्दा दर्ता गरेको छ। फर्छ्यौटका १६ वटा मुद्दामा २७ जना अभियुक्त पक्राउ परेका छन् भने फरारको संख्या २८ छ। फर्छ्यौट हुन बाँकी ६ वटा मुद्दाको हिसाब गर्दा यो संख्या अझै थपिन सक्ने प्रहरी अधिकारी नै बताउँछन्।
प्रहरीको तथ्यांक अनुसार सप्तरीमा आव ०७४/०७५ पछि ५६ प्रकारका १ हजार ७ सय ९ वटा मुद्दा दर्ता भएका छन्। जसमा फर्छ्यौट भएका १ हजार ३ सय ६ मुद्दाका १ हजार ४ सय ७३ अभियुक्त पक्राउ परेका छन् भने ४ सय ६५ अभियुक्त फरार छन्। ४ सय ३ वटा मुद्दा फर्छ्यौट हुन बाँकी नै छ।
आव ०७६/०७७ को साउनदेखि कार्तिकसम्म २ सय ९७ मुद्दा दर्ता भएका छन्। १ सय ९८ फछ्र्याैट भए भने ९९ मुद्दा किनारा लाग्न बाँकी छ। फर्छ्यौट भएका मध्ये २ सय ९९ पक्राउ परेका छन् भने यस अवधिमा मात्रै फरारको संख्या ९३ पुगेको छ।
यसैगरी, आव ०७५/०७६ मा दर्ता भएका ७ सय ६६ मुद्दामा ५ सय ६१ फर्छ्यौट र २ सय ५ मुद्दा फर्छ्यौट हुन बाँकी छन्। भएका मुद्दामा ६ सय ३८ पक्राउ परे भने २ सय ५६ जना अझै फरार छन्। आव ०७४/०७५ मा दर्ता भएका ६ सय ४६ मध्ये ९९ मुद्दा फर्छ्यौट हुन बाँकी छ। फर्छ्यौट भएका ५ सय ४७ मुद्दाका ५ सय ४६ अभियुक्त पक्राउ परेका थिए भने १ सय १७ जना फरारको सूचीमा छन्।
अपाराध गरेर भारतीय क्षेत्रमा सेल्टर
जिल्ला प्रहरी कार्यालय सप्तरीले भने अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रभावकारी कदम चालिएको दाबी गर्दै आएको छ। आपराधिक क्रियाकलाप नियन्त्रण र शान्ति सुरक्षाको प्रत्याभूति गराउन २०७६ असोज ८ गतेदेखि ‘एक वर्षे सुरक्षा रणनीति’ नै सञ्चालन गरिएको छ। अनुसन्धान र नियन्त्रणलाई प्रभावकारी बनाउन तथा फरार अपराधी पक्राउ गर्न अभियान नै सञ्चालन गर्ने सुरक्षा रणनीतिमा उल्लेख छ।
यसबाहेक अपराध नियन्त्रणलाई नै लक्षित गरी समुदाय-प्रहरी साझेदारी कार्यक्रम सञ्चालनमा छ। जिल्ला, पालिका, वडा, टोल र विद्यालय तहसम्म समिति गठन भएका छन्। प्रहरीले प्रशिक्षण, घरदैलो, अन्तरक्रिया, भेटघाट, सार्वजनिक सुनुवाइ लगायतका क्रियाकलाप सञ्चालन गरिरहेको छ।
तर, खुला सीमा नाकाका कारण सिमावर्ती क्षेत्रमा अपराध कर्म गरेर भारतमै लुक्न पुग्ने गरेकाले समस्या देखिएको प्रहरीको भनाइ छ। आपराधिक घटना निरन्तर घटदै गएको र फरार अभियुक्त नियन्त्रणमा समेत प्रहरीले कडाइका साथ काम गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीको मुद्दा फाँटका प्रहरी निरीक्षक सन्तोष खड्का बताउँछन्।
एसपी कृष्ण प्रसाईले भने प्रयास गर्दा गर्दै पनि कतिपय घटना टुंगोमा पुग्न नसकेको बताए। ‘हामी हरसम्भव प्रयास गरिरहेका छौं,’ उनी भन्छन्, ‘आपराधिक घटनाको सफल अनुसन्धान र घटना घट्दै नदिन हामी प्रतिबद्ध छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।