रोल्पा- रोल्पा लुंग्री गाउँपालिका–१ पाङकी लालसरा पुन १८ वर्षकी भइन्। गाउँकै विद्यालयमा कक्षा १० पढ्दै गरेकी उनी हरेक साँझ गाउँमा सञ्चालन भएको संवाद केन्द्र जान्छिन्। २ घण्टा गाउँघरका सामाजिक मुद्दाबारे साथीहरूसँग छलफल गरेर घर फर्किन्छिन्।
सोही गाउँकी १६ वर्षीया अर्की किशोरी लिला पुन कक्षा ६ मा पढ्छिन्। आर्थिक अवस्था कमजोर भएर तीन वर्ष पढाइ छाडेकी उनी यसै वर्षबाट पुनः कक्षा ६ मा भर्ना भएकी हुन्। गाउँमा संवाद केन्द्र स्थापना भएपछि उनले छाडेको पढाइलाई समेत निरन्तरता दिन थालेकी हुन्। राम्रो गायक बन्ने सपना बुनेकी उनको समाजसेवी बन्ने धोको पनि छ।
लालसरा र लिला जस्ता १८ वर्षमुनिका किशोरीहरूलाई समाजमा देखिने सामाजिक मुद्दाबारे बहस, छलफल र अन्तरक्रिया गर्ने भन्दै लुंग्री गाउँपालिका वडा नं. १ र २ ले संवाद केन्द्र स्थापना गरेका छन्।
दिनभर विद्यालय अध्ययन गरेर हरेक साँझ उनीहरू संवाद केन्द्र जान्छन्। बालविवाह, बहुविवाह, मादक पदार्थ सेवन, घरेलु हिंसा, लैंगिक विभेद, जातीय विभेद, जुवा तास तथा अन्धविश्वास जस्ता मुद्दाबारे बहस छलफल गर्छन्। उनीहरूको सहजीकरणका लागि हरेक संवाद केन्द्रमा एक जना सहजकर्ताको व्यवस्था गरिएको छ।
सहजकर्ताले सहजीकरण सिपबारे एक गैर सरकारी संस्थाबाट ८ दिनको तालिम पनि लिएकी छन्। सहजकर्ताको सहजीकरणमा उनीहरूले समाजमा देखिएका सामाजिक समस्याहरूको सूची तयार गर्छन्। तयार पारिएका सूचीले समाजमा पारेको प्रभावको आधारमा स्तरीकरण समेत गरेका छन्। समस्या स्तरीकरणका आधारमा सबै सबालहरूलाई दैनिक रुपमा बहस छलफल गर्छन्। त्यति मात्र हैन ती सवाल समाधानका लागि समुदाय र टोलमा सचेतीकरणका लागि घरदैलो भेटघाट, सडक नाटक जस्ता कार्यक्रम पनि आफैं सञ्चालन गर्छन्।
संवाद केन्द्र होस् वा घरघरमा भेट हुँदा नै किन नहोस्, मुट्ठी कसेर एकले अर्कालाई ‘जय संवाद’ भनेर अभिवादन गर्छन्। समूहमा मिलेर काम गर्ने हो भने जस्तो सुकै समस्या पनि समाधान गर्न सकिन्छ भन्ने भावना छ उनीहरूमा।
संवाद केन्द्रमा उनीहरूले व्यक्तिगत सपना र पारिवारिक कार्ययोजना बनाउने गर्छन्। जीवनमा आफ्नो लक्ष्य के हो किटान गरेर त्यसलाई प्राप्त गर्न कार्ययोजना बनाउने गर्दछन्।
सपना पूरा गर्न काम पनि गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ उनीहरूमा। ‘कार्ययोजना बनाएर सोहीअनुसार काम गर्ने बानीको विकास भएको छ,’ परिवर्तन संवाद केन्द्रका सहजकर्ता रीमा पुनले भनिन्, ‘मादक पदार्थ सेवनको समस्या अधिक रहेका कारण अधिकांश किशोरीले पारिवारिक योजना अन्तर्गत मादक पदार्थ सेवन न्यूनीकरण राखेका छन्।’
संवादले उनीहरूमा सकारात्मक सोचको विकासका साथै जीवन उपयोगी सिपको समेत विकास भएको महसुस भएको छ। आफ्नै कक्षाकी एक साथीसँग झगडा गरेर लामो समय समेत बोलचाल बन्द गरेकी लालसरा पुनले अचेल बोलचाल गर्न थालेकी छन्।
केन्द्रमा भएको कार्यक्रमको प्रभावले आफूमा व्यावहारिक रुपमै परिवर्तन आएको पुनले बताइन्। घरमा बुबा आमा लगायत परिवारका धेरै सदस्यले मादक पदार्थ सेवन गरेर हैरान भएकी उनी अहिले विस्तारै लतबाट कम गराउन सफल भएकी छन्।
पारिवारिक कार्ययोजनामा परिवारका सदस्यलाई मादक पदार्थ सेवन न्यूनीकरण गर्ने योजना राखेकी उनले यस विषयमा परिवारमा परामर्श गर्ने गर्छिन्।
संवाद केन्द्र जान थालेपछि आएको परिवर्तनले ३ वर्षअघि पढाइ छाडेकी साही गाउँकी लिला पुनः विद्यालय भर्ना भएको बताउँछिन्। ‘घरको आर्थिक अवस्था कमजोर हुँदा कक्षा ६ मा पढ्दा पढ्दै पढाइ छाडेकी थिएँ। संवाद केन्द्रको प्रभावले मलाई फेरि पढ्नुपर्छ भन्ने भावना जागेका कारण पढाइ सुरु गरेको छु,’ पुनले भनिन्।
संवाद केन्द्रको नाममा रोल्पाको लुंग्री गाउँपालिका वडा नं. १ र २ मा २५ वटा संवाद केन्द्र सञ्चालनमा रहेको बताइएको छ। ‘संवाद केन्द्र सम्बन्धित वडा कार्यालयहरूको समन्वयमा स्थापना भए पनि कक्षा सञ्चालनका लागि व्यवस्थापन समिति गठन गरिएको हुन्छ,’ लुंग्री गाउँपालिका २ का वडाध्यक्ष अमृत घर्तीमगरले भने, ‘यसले किशोरीहरूको नेतृत्वमा बालविवाह न्यूनीकरण, मादक पदार्थ सेवन विरुद्ध अभियानमा सहयोग गरेको छ।
संवाद केन्द्र सञ्चालनले आफूहरूको अभियानलाई सहयोग गरिरहेको गाउँपालिका १ का वडाध्यक्ष मति पुनको भनाइ छ। ‘दबाबले मान्छेमा परिवर्तन दिगो नहुने सिकाइका आधारमा छोरीहरूकै परामर्शबाट बुबा आमालाई मादक पदार्थ सेवनमा छुटकरा दिने प्रयास सार्थक बन्दै गएको छ,’ पुनले भने, ‘बालविवाह न्यूनीकरणमा समेत किशोरीहरूको कृयाशीलता बढ्दा सकारात्मक प्रभाव देखिन्छ।’
संवाद केन्द्र सञ्चालनका लागि मानव अधिकार सचेतना केन्द्र नामक स्थानीय गैर सरकारी संस्थाले स्ट्रम फाउण्डेशनको सहकार्यमा सहयोग गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।