गोरखा- भीमसेन थापाको जन्मथलो गोरखाको फिनाम पीपलथोक पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ। गोरखा नगरपालिकाको सहयोगमा भीमसेन उद्यान’ निर्माण गरेपछि आन्तरिक पर्यटक पीपलथोक पुग्न थालेका छन्।
विसं १८३२ मा थापाको जन्म पीपलथोकमा भएको थियो। पीपलथोकमा थापाको पूर्णकदको सालिक राखेर उद्यानमा स्वदेशी र विदेशी पर्यटकको गन्तव्यस्थल बनाउने तयारी गरिएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बताए। भीमसेन उद्यान नजिकै थापाकै पालामा बनेको जर्नेल धारा पनि रहेको छ।
ऐतिहासिक महत्व बोकेको पीपलथोकबाट मनास्लुलगायत हिमशृंखलाको अवलोकनका साथै पर्यटकीय केन्द्र अजिरकोट, सिरानचोक, लिगलिगकोटको दृश्यावलोकन गर्न सकिन्छ। यस्तै भीमसेन उद्यान निर्माण गर्न स्थानीय बासिन्दा मकर गुरुङले दुई रोपनी क्षेत्रफलको जग्गा दान गरेका छन्। सोही जग्गामा एक रोपनी थपेर उद्यान निर्माण गरिएको हो।
आव २०७२÷७३ मा गोरखा नगरपालिकाअन्तर्गत वातावरणमैत्री स्थानीय शासन कार्यक्रमबाट उद्यान निर्माण गर्न पाँच लाख, आव २०७३÷७४ मा जिल्ला वन कार्यालयले एक नगर एक उद्यान कार्यक्रमअन्तर्गत आठ लाख र गोरखा नगरपालिकाले तीन लाख बजेट लगानी गरी उद्यान निर्माण गरेका हुन्।
उद्यानमा धुपीलगायत विभिन्न जातका बोटबिरुवा हुर्काइएको छ । फूलबारी बनाइएको छ भने आराम गर्न मिल्ने प्रतीक्षालयहरु बनाइएको गोरखा नगरपालिकाका वातावरणविद् ध्रुवप्रसाद घिमिरेले जानकारी दिए। वडाध्यक्ष खोपबहादुर अधिकारीका अनुसार भीमसेन उद्यान पुग्ने सडक स्तरोन्नतिका लागि यसवर्ष रु ३० लाख बजेट विनियोजन भएको छ।
सदरमुकामबाट गोरखा दरबार हुँदै पीपलथोक पुग्ने सडक कच्ची हुँदा बर्खायाममा पर्यटक पुग्न कठिन छ । यसवर्ष सडक सुधार गरी बर्खामा पनि सवारी चल्न सक्ने बनाउने उनले बताए। भीमसेन उद्यान निर्माण समितिका अध्यक्ष मकर गुरुङले आन्तरिक पर्यटक उद्यानमा आए पनि विदेशी पर्यटक ल्याउन नसकिएको बताए।
उद्यान आसपासका क्षेत्रमा होमस्टे निर्माण गर्ने, सडक स्तरोन्नति गर्ने र भीमसेन उद्यानको प्रचारप्रसार गर्न सक्ने हो भने पर्यटकीय केन्द्रका रुपमा पीपलथोक विश्वसामु चिनिने उनले बताए।
गोरखा नगरपालिका प्रमुख पन्तले छेवेटारस्थित दरौँदी नदीमा ¥याफ्टिङ गर्न आउने पर्यटकलाई पश्चिमकाली, चिल्ड्रेन पार्क हुँदै पीपलथोकस्थित भीमसेन उद्यानसम्म ल्याउन सकेमा यस क्षेत्रका बासिन्दाको जीवनस्तर थप उकासिने बताए। छेवेटारदेखि पीपलथोकसम्म पदमार्ग र स्तरीय सडक निर्माण गर्न नगरपालिकाले अर्थ लगानी गर्ने उनको भनाइ छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।