काठमाडौं- आज घटस्थापनासहित जमरा राखेर विधिवत् रुपमा यस वर्षको दसैंको स्वागत गरिएको छ।
हनुमानढोकाको दसैंघरमा राज्यका तर्फबाट वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापनासहित जमरा राखियो।
विधिपूर्वक बिहान ९:४१ को शुभसाइतमा जमरा राखिएको हनुमानढोका दरबार हेरचाह अड्डाका पण्डित देवराज अर्यालले जानकारी दिए। नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा जुराएको थियो।
प्रत्येक दिन बिहान दुर्गा सप्तशती चण्डी, देवीभागवत लगायत देवी स्तोत्र पाठ गरी दुर्गा भवानीको प्रतीकका रुपमा घडा थापिएको स्थलमा विजयादशमीसम्म बिहान–बेलुका पूजा एवम् आरती गरिन्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बडादसैंको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको सङ्कल्पसहित शीतलनिवासमा घटस्थापना गरेकी छिन्। शुभसाइतमै नवदुर्गाको प्रतीकका रुपमा कलश स्थापना गरी दियो र गणेशका पूजा गरेर राष्ट्रपति भण्डारीले जौ (यव) छरेकी थिइन्।
रासस
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि विधिवत् रुपमा नेपालीको महान् चाड दसैं सुरु भएको छ। घटस्थापनाका अवसरमा आज घर–घरमा जौ अथवा आफ्नो कुल परम्पराअनुसार गहुँ, मकै लगायत विभिन्न बीज छरेर जमरा राखिएको छ।
यसैगरी विभिन्न शक्तिपीठमा पनि घटस्थापनासहित जमरा राखियो। दुर्गा पक्ष सुरु भएपछि उपत्यका लगायत देशभरका शक्तिपीठमा दर्शन गर्न भक्तजनको भिड लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।