समय यस्तो आएछ साथी,
मन्दिर मक्किँदै गयो
पुजारी मोटाउँदै गए
ईश्वर निराकार बन्दै गयो
मनुवाहरू पूर्णाकार बन्दै गए!
श्रद्धा राखौं त म के मा राखौं ?
मन्दिर, पुजारी वा ईश्वर! |१|
समय यस्तो आएछ साथी,
साच्चिँकै फूल फलाउनेहरू ओइलाउँदै गए
कागजको फूल फलाउनेहरू फक्रिँदै गए।
सुगन्ध लगौं त म के को लगुँ?
वास्तविक फूलको वा कागजी फुलको! |२|
समय यस्तो आएछ साथी,
थरीथरिको जीवन जिउनु पर्दोरहेछ यहाँ
कहिले 'क' वर्गको त कहिले 'घ' वर्गको
'क'मा जिउँदा,
'ए'ले वर्गसंघर्ष गर्यो
'ख'मा जिउँदा,
'बि'ले वर्गसंघर्ष गर्यो
'ग'मा जिउँदा,
'सि'ले वर्गसंघर्ष गर्यो
'घ'मा जिउँदा,
'ए प्लस बि प्लस सि'सबै मिलेर वर्गसंघर्ष गरे
त्यसैले;
अहिले वर्गबिहीन छु साथी
केबल एक्लो, बौलाइएको, रन्थनिएको...
अपूर्ण निराकार! |३|
समय यस्तो आएछ साथी,
ॐकार हरायो, 'द होली वाइन अल्माइटी' आयो
ईश्वर हरायो, सम्प्रभु आयो
मानवीयता हरायो, धर्म निरपेक्षता आयो
बुद्धको शान्ति हरायो,
डार्विन वा माओको निरन्तर क्रान्ति आयो
गीता, कुरान, मुन्धुम हरायो
समाज बदलियो, संस्कृति फेरियो।
...हुँदाहुँदा, अन्त्यमा;
म बाँचेको धरातल बदलियो
कालापानी हरायो, लिपुलेक हरायो
जानेको, बुझेको सबै हरायो
केबल एकोहोरो बाँकी रह्यो
...त उही (?)
समयको माग
धरातलको प्यारो
मार्क्सवादी ऐतिहासिक भौतिकवादी गीता! |४|
समय यस्तो आएछ साथी,
कुरीतियुक्त
बलीको विरोधमा बिद्रोह गरियो
बिद्रोहले क्रान्ति जन्मायो
क्रान्तिको नाममा मान्छेकै बली दिइयो
असंख्य बलिको जगमा
दन्त्यकथाको निर्मम पात्र
महिसासुरको नयाँ साम्राज्य खडा भयो।
समयवाचाल निस्क्यो साथी
सार्है वाचाल...अत्यन्तै अक्षोभ्य
मिथक भित्रको उत्तर-आधुनिकवादी हाल! |५|
समय यस्तो आएछ साथी,
सत्य छुट्याउनु पर्ने
मेरो गणित
महाकवि देवकोटाको जस्तो
एक मा एक जोडे "तीन" मात्र होइन
"चार" देख्ने भैइसकेछ।
सूर्य छेक्न हत्केलानै काफी भएको
यत्र-तत्र..., सर्वत्र देख्दा
म दिग्भ्रमित छु साथी
मगज कसको बिग्रेको छ?
मेरो वा ती आधुनिक गीता मार्गिको! |६|
समय यस्तो आएछ साथी
एक प्लस एक
'दुई' भन्दा प्रतिगामी भइयो
'तीन' भन्दा देवकोटा जस्तै पागल बनाइयो
'चार' भन्दा बल्ल क्रान्तिकारी भइयो।
त्यसैले साथी,
म सत्य मानौं त केलाई मानौं?
'एक' प्लस 'एक'
प्रतिफल?
दुई, तीन वा चार...! समयावसान! |७|
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।