नयाँदिल्ली– भारत र भूटानका उच्च सरकारी अधिकारीबीच द्वीपक्षीय सहयोगका विविध विषयमा छलफल भएको छ। दुई मुलुकबीच भूटानमा भारतद्वारा सञ्चालित विभिन्न परियोजनाको समीक्षा पनि गरिएको भारत सरकारले जनाएको छ।
भारतको राजधानी नयाँदिल्लीमा भएको यो द्वीपक्षीय छलफल दोस्रो हो। भारतीय पक्षको नेतृत्व भारतीय विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव टिएस त्रिमूर्तिले गरेका थिए भने भूटानी टोलीको नेतृत्व भूटानका विदेश सचिव किंगा सिङ्ग्येले गरेका भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यसै यसै वर्षको अगस्टमा भएको भूटान भ्रमणका क्रममा भारतीय सहयोगमा माङदेचु जलविद्युत आयोजनाको प्रारम्भ गरिनुका साथै दक्षिण एसियाली भूउपग्रहको “अर्थ स्टेशन” निर्माण सम्बन्धी सम्झौता र भूटानमा भारतीय रुपे कार्डको शुभारम्भ गरिएकाे थियाे।
यस वार्षिक विकास समीक्षा बैठकमा भूटानसँग भारतको विकास साझेदारीका विषयमा छलफल गर्ने महत्वपूर्ण संयन्त्र हो। भारतले भूटानको १२औं पञ्चवर्षीय योजना अवधिमा व्यापार सहजीकरणका निम्ति भारु ४०० करोड तथा विभिन्न परियोजना कार्यान्वयनका लागि भारु ४ हजार ५०० करोड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ, भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा ५१ वटा ठूला तथा मझौला र ३५९ वटा साना विकास परियोजना कार्यान्वयनका विभिन्न चरणमा रहेको जनाइएको छ। भूटानको विकास प्रक्रियामा निरन्तर सहयोग गर्न भारत प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ। दुबै मुलुकबीच अर्को द्वीपक्षीय छलफल आगामी सन् २०२० मा थिम्पुमा गर्न सहमति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।