हुम्ला- खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन। उपाध्यक्ष पदका लागि शनिबार सम्पन्न भएको मतदान कार्यको आज बिहान ८ बजेदेखि मतगणना सुरु हुने भनिए पनि विवादका कारण मतगणना हुन नसकेको हो।
तीनवटै राजनीतिक दलहरुले वडागतरूपमा मतगणना गर्नुपर्ने माग राखेका छन् भने मुख्य निवार्चन अधिकृतको कार्यालयले वडागतरूपमा गणना गर्न नसकिने बताएपछि विवाद भएको हो।
बिहान ८ बजे बसेको बैठक बिनानिष्कर्ष टुङ्गिएको थियो। अहिले पुनः सर्वदलीय बैठक बसेर विवाद समाधान गर्ने प्रयास भइरहको छ। पालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच प्रतिस्पर्धा हुने देखिएको छ। खार्पुनाथमा ८५ प्रतिशत मत खसेको छ।
नेकपा र कांग्रेसबीच विवाद
खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा नेकपा र कांग्रेस कार्यकर्ताबीच ढुङ्गामुढा भएको छ। शनिबार उपनिर्वाचनमा मतदान गरिसकेका स्थानीयवासीले आइतबार बिहान नेकपाका नेता तिजबहादुर शाहीको घरमा ढुङ्गामुढा गरेपछि विवाद भएको नेकपाका गाउँ कमिटी अध्यक्ष प्रकाश शाहीले जानकारी दिए।
अहिले दुवै पक्षबीच भएको विवाद सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।