काठमाडौं- १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलको खेल तालिकामा नै विरोध भएको छ। आरामको समय नपाउने र लगातार खेल हुने गरी तालिका बनाइएको भन्दै विरोध भएको हो।
आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा माल्दिभ्स, बंगलादेश, श्रीलंका र भुटानले खेल तालिकामा आपत्ती जनाएका हुन्।
माल्दिभ्सका प्रशिक्षक पिटर सग्टले खेल तालिका फुटबलको हितमा नभएको कारण खेल्नै अप्ठ्यारो हुने भन्दै आफूहरु आफ्नो फुटबल संघसँगको छलफलपछि मात्रै खेल्ने नखेल्ने निर्णयमा पुग्ने बताएका छन्।
त्यस्तै श्रीलंकाका प्रशिक्षक एम एन पकिर अलि, भुटानका प्रशिक्षक पेमा दोर्जी र बंगलादेशका प्रशिक्षक जेमी डेले पनि खेल तालिकामा असन्तुष्टी जनाए।
श्रीलंकाका प्रशिक्षक भन्छन्– ‘हामी स्वर्ण पदकका लागि तयारी गरेर आएका छौँ तर यो खेल तालिकाले हामीलाई असर गर्नेछ। यो सुहाउँदो भएन।’
‘फिफा र एएफसीको नियमभन्दा बाहिर रहेर खेल तालिका आएको छ। यसले खेलाडीलाई घाइते बनाउने समस्या आउन सक्छ’ आफ्ना असन्तुष्टी जनाउँदै भुटानका प्रशिक्षकले भने।
बंगलादेशका प्रशिक्षकले पनि आफूहरुको तयारी राम्रो भएको तर खेल तालिका नमिलेको बताउँदै भने– ‘हामीले तयारी राम्रो गरेर आएका छौँ, तर यो खेल तालिका मिल्दो भएन। पहिलेको तालिका नै ठिक थियो। यो खेल तालिकाले त खेलाडीलाई सागपछिको अरु खेलमा सहभागी गराउन पनि समस्या हुन्छ। यो खराब ब्यबस्थापन हो।’
परिवर्तन गरिएको खेल तालिका अनुसार सोमबार पहिलो खेल बंगलादेश र भुटानबीच र दोस्रो खेल माल्दिभ्स र श्रीलंकाबीच हुने तय थियो। त्यसको भोलिपल्ट मंगलबार नै भुटान, माल्दिभ्स र बंगलादेशको खेल रहेको छ।
एन्फा भन्छ – सहमति भइसक्यो
चार देशका प्रशिक्षकले खेल तालिकामा असन्तुष्टी जनाएको एक घण्टापछि अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले भने खेल तालिकामा रहेको असन्तुष्टी समाधान भइसकेको बताएका छन्। ‘हामीसँग पर्याप्त समय नभएकाले यस्तो खेल तालिका सार्वजनिक गरिएको हो। उहाँहरु हामीसँग कन्भिन्स हुनुभएको छ। सबै टिम सहभागी हुनुहुनेछ। उहाँहरुले असन्तुष्टी पहिलेदेखि जनाउनुभएको हो, तर सहमति भइसकेको छ।’
‘हामीसँग मैदानको अभाव भएको कारणले पनि यस्तो खेल तालिका बनाउनुपर्ने भएको हो। मैदान एउटा मात्र हुँदा खेल तालिका व्यस्त भयो। हामीले अर्को विकल्पका रुपमा फाइनल नखेलौँ राउन्ड रोबिनको आधारमा खेलौँ भनेको हो तर उहाँहरु मान्नुभएन’ उनले अघि भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।