काठमाडौं- उपनिर्वाचनमा प्रदेशसभा सदस्य अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नं १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भए। स्वभाविक रुपमा कांग्रेसमा उत्साह सञ्चार गर्यो।
मत परिणामले सत्तारुढ दलभित्र समेत तरंग ल्याइदियो। यसअघि पूर्वएमालेले जितेको स्थान कांग्रेसको पोल्टामा गएपछि यतिबेला नेकपा वृत्तमा खैलाबैला मच्चिएको छ।
यस निर्वाचन क्षेत्रमा कांग्रेसले स्वभाविक जित्ने अवस्था थियो। वा, सत्तारुढ दलमा आत्मघात हुँदा कांग्रेस अघि देखियो। कांग्रेस विजयी हुनुमा दोस्रो कारण बलियो देखिएको छ। अन्तर्घातको स्विकारोक्ति नेकपाकै नेता कार्यकर्ताका अभिव्यक्तिबाट छर्लङ्ग भएको छ।
विदेश भ्रमणमा रहेका नेकपाको भ्रातृ संस्था राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पार्टी भित्रबाटै असहयोग भई नेकपाका उम्मेदवार हारेको उल्लेख गरे। दीपशिखाको सिधा प्रहार पूर्वएमालेप्रति थियो।
उनले ट्विटमा लेखेका छन्, ‘नेकपाभित्र एउटा प्रवृत्ति छ, आफूलाई पहिलो दर्जाको र अर्कोलाई दोस्रो दर्जाको ठान्ने!’
दीपशिखाको स्पष्ट संकेत पूर्वएमालेतर्फ थियो। पूर्वएमालेले पहिलो दर्जाको रुपमा आफूलाई परिभाषित गरेको भन्दै उनले आपत्ति जनाए।
साथै पूर्वएमालेको प्रवृत्तिप्रति प्रश्न उठाउँदै उनले पूर्वमाओवादीलाई दोस्रो दर्जाको ठानिएकोप्रति असन्तुष्टि जनाए। त्यसै प्रवृत्तिले भक्तपुरको मतपरिणाम नेकपाको पक्षमा नआएको उनको आकलन छ। उनी लेख्छन्, ‘चुनावको परिणाममा यो प्रवृत्तिले पनि काम गरेको छ!’
भक्तपुर जिल्ला कमिटीले पठाएका चार नामबाट पूर्वमाओवादीका स्थानीय नेता देविप्रसाद ढकाल (डिपी ढकाल) लाई उम्मेदवार बनाएसँगै असन्तुष्टि सुरु भइसकेको थियो। जिल्ला कमिटीले ढकाल सहित रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ र नारायणी फुयाँलको नाम केन्द्रमा सिफारिस गरेको थियो। सिफारिस भएका चारमध्ये ढकाल पूर्वमाओवादीबाट हुन्।
पार्टी केन्द्रको निर्णय अस्वीकार गर्दै कात्तिक १८ मा पूर्वएमालेका नेताहरुको सक्रियतामा जिल्ला पार्टी कार्यालयमा तालाबन्दी भयो। गत निर्वाचनमा ७८६ मत ल्याएका ढकाललाई उम्मेदवार बनाएपछि नेकपा जिल्ला कमिटी सदस्य साधुराम दाहाल सहितका स्थानीय नेता जिल्ला कार्यालय तालाबन्दी गर्न पुगेका थिए।
पूर्वएमालेका स्थानीय नेताको साथमा पार्टी कार्यालयमा तालाबन्दी गर्न चाँगुनारायण क्षेत्रका कार्यकर्ताहरु पनि परिचालित भएका थिए।
चाँगु नारायणमा गाउँपालिकामा पूर्वएमालेको उपस्थिति बलियो भएकाले सोही पक्षबाट उम्मेदवार बनाउनुपर्ने उनीहरुको जोड थियो। त्यसो त तत्कालीन चाँगुनारायण गाविसबाट २०५४ सालमा अध्यक्ष भएका श्रेष्ठ र उपाध्यक्ष बनेका बुढाथोकी जिल्ला कमिटीबाट सिफारिस भएका व्यक्ति हुन्। बुढाथोकी र श्रेष्ठ भक्तपुर जिल्ला सचिवालय सदस्य समेत हुन्।
पार्टी एकीकरणपछि जिल्ला नेतृत्व चयन गर्ने क्रममा सचिवको भाग पूर्वमाओवादीलाई परेको थियो। ढकाल जिल्ला कमिटी भक्तपुरका सचिव हुन्। सिफारिस भएका अन्य तीनभन्दा पदीय हैसियतमा उनी माथि थिए। तर,पदीय हैसियत उनको उपल्लो भए पनि उनलाई उम्मेदवार मान्न पूर्वएमाले पक्ष तयार भएन। यसअघि पूर्वएमालेबाट जित निकालेको उक्त स्थानमा सोही समूहबाट उम्मेवार पाउनुपर्ने उक्त समूहको दाबी थियो।
गत निर्वाचनमा बागी उम्मेदवार दिएका हरिशरण लामिछानेले जित निकालेका थिए। आधिकारिक उम्मेदवारमा त्यस समयमा पनि वाम गठबन्धनले ढकाललाई अघि सारेको थियो। तर, स्थानीय एमालले नेता तथा कार्यकर्ताले ढकाललाई मत नदिने संकेत नदेखिएपछि ढकालको उम्मेदवारी निष्क्रिय राखिएको थियो।
लामिछाने १२ हजार ७८९ मत ल्याई विजयी भएका थिए। कांग्रेस उम्मेदवार जीवन खत्रीले ९ हजार ९७७ मत ल्याई पराजित भएका थिए। २ हजार ८१२ मतान्तरले पूर्वएमालेका लामिछाने विजयी भएका छन्। तत्कालीन समयको मतान्तर हालको भन्दा बढी छ। निर्वाचित कांग्रेस उम्मेदवारले २ हजार २४३ मतान्तरले नेकपाका उम्मेदवार ढकाललाई पछि पारेका छन्।
चाँगुनारायण नगरपालिकाका सबै वडा र भक्तपुर नगरपालिकाका १० वडा समेटेर भक्तपुर १ (क) बनाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई वर्तमानमा मतपरिणामले सन्तुष्टि दिएको छैन। थापा लेख्छन्, ‘ हिजो दुई वटा मिल्दा पनि एक्लै जितेका ठाउँमा आज दुई वटा पार्टीबीच एकता भएर नेकपा भइसकेपछि चुनावमा जाँदा किन यस्तो?’ उम्मेदवार चयन गर्ने क्रममा ढंग नपुगेको थापाको बुझाइ छ। ट्विटमा उनी लेख्छन्, ‘ढंग नपुगेर बैतडी, दाङ, चितवन, सर्लाही र अर्घाखाँचीमा ५ वडा नेकपाले गुमायो अन्यथा नेपाली कांग्रेसको शेरविजोग नै पो हुँदोरहेछ।’
पूर्वमाओवादी समूहले पूर्वएमालेबाट असहयोग भएको गत निर्वाचनमा छनक पाइसकेको थियो। उपत्यकामा पूर्वमाओवादी पक्षलाई छोडिएको दुई निर्वाचन क्षेत्रमा उक्त समूह पराजित भएको थियो।
काठमाडौं ६ र १० मा पूर्वएमालेको असहयोगबाट पूर्वमाओवादी नेताद्वय झक्कु सुवेदी र हितमान शाक्य पराजित भएको तर्क पूर्वमाओवादी भित्र छ। सोही क्रमको निरन्तरताको रुपमा ढकालको पराजयलाई लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।