काठमाडौं– लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले एम्फेटामाइन (आइस) १ किलो २ सय २३ ग्राम, कोकिन ९० ग्राम र यावा ८ सय ८१ ट्याबलेटसहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं–६ रामनगर बस्ने गोरखाको चुमनोबी गाउँपालिका–४ का ५६ वर्षीय ओडगेन लामा छन्। उनलाई ब्यूरोको टोलीले आइतबार साँझ धुम्बराहीबाट उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो।
पक्राउ परेका लामा यसअघि २०६२ कात्तिकमा ५६ किलो ४ सय ग्राम चरेससहित पक्राउ परेका व्यक्ति भएको पाइएको छ। त्यसबेला उनी लागूऔषध मुद्दामा साढे २ वर्ष कैद बसेर छुटेका थिए।
उनी भारतमा बस्दै नेपालको पूर्वीसिमाना हुँदै काठमाडौं लागूऔषध सप्लाइ गर्ने व्यक्ति भएको पाइएको ब्यूरोका एसएसपी बसन्त लामाले जानकारी दिए। पक्राउ परेका लामाविरुद्ध प्रहरीले लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।