सुनसरी- बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई अनुसन्धानका लागि चार दिन थुनमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ। सुनसरी जिल्ला अदालतले बलात्कारको आरोपमा अनुसन्धान गर्न साेमबार पहिलो पटक प्रहरीलाई अनुमति दिएको हो।
विराटनगरस्थित विराट नर्सिङ होमको आइसियूमा भर्ना भएको अवस्थामा उनलाई सोमबार बिहान चार बजे पक्राउ गरिएको थियो। सुनसरीका डीएसपी विनोद शर्माको टोलीले उनलाई पक्राउ गरेर अनुसन्धानको लागि म्याद थप गर्न अदालत पेस गरेको थियो।
अदालतबाट पक्राउ पूर्जि लिएपछि विरामी भएको बाहानामा उनी अस्पताल भर्ना भएका थिए। सुनसरीको चतरास्थित आश्रमका सिद्धबाबामाथि एक महिलाले बलात्कारको आरोप लगाएकी थिइन्। महिलाको उजुरीपछि थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको थियो।
गिरीमाथि कात्तिक ४ गते एक महिलालाई बलात्कार गरेको आरोप लागेको थियो। आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप ती महिलाले लगाएकी थिइन्। उक्त आरोपमा बारेमा प्रहरीले उनीसँग बयान लिने छ।
बयानपछि तोकिएको म्यादमा अनुसन्धान समाप्त नभएमा प्रहरीले पुन: म्याद माग्न सक्ने छ। बलात्कारको आरोप लगाएकी महिलाले विगत ६ महिनादेखि सिद्धबाबालाई पटकपटक म्यासेज गरेको भेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।