काठमाडौं- दुखाइ व्यवस्थापन चिकित्साशास्त्र अन्तर्गतका विभिन्न विधामध्ये एक विशिष्ठ विधा हो, जसले दुखाइसम्बन्धी अन्तरविभागीय दृष्टिकोण समावेश गर्छ। यसले दुखाइ कम गर्छ र दीर्घकालीन दुखाइ (क्रोनिक पेन) सँग बाँचिरहेकाहरूको लागि जीवनको गुणस्तर सुधार गर्छ। शारीरिक र भावनात्मक असक्षमता तथा यसको उचित व्यवस्थापनको अन्योलका कारण दीर्घकालीन दुखाइलाई स्वास्थ्य संकटको रूपमा समेत लिइन्छ।
विभिन्न तथ्यांकको आधारमा भन्ने हो भने दीर्घकालीन दुखाइ विश्वका धेरै क्षेत्रमा अशक्तताको प्रमुख कारणमध्ये एक हो। यसले मानिसको दैनिक क्रियाकलाप गर्न सक्ने क्षमतालाई बाधा पुर्याउन सक्छ।
दुखाइका कारण स्मरणशक्ति, निद्रा, रोजगार, सामाजिक कार्य र दैनिक गतिविधिमा महत्वपूर्ण अवरोध हुनु सामान्यप्रायः छ। दीर्घकालीन दुखाइका बिरामीले यौनक्रिडामा असफलता र कम ऊर्जाको जिकिर गर्छन्। दुखाइ हुँदा बिरामीले प्रायजसो भावनात्मक पीडाका लक्षणहरू देखाउँछन्। उदासिनता, चिन्ता, र चिढचिडाहट लगायतका समस्याको साथ प्रस्तुत हुने गर्छन्।
लामो समयदेखि दुखाइ भएका ५० प्रतिशत बिरामीलाई मानसिक समस्या हुन्छ। फलतः यसको जटिलताका कारण विकराल मनोरागको रुपमा प्रस्तुत हुन सक्छ ।
नाडीको चाल, रक्तचाप, श्वासप्रश्वास दर तथा शरीरको तापक्रमपछि दुखाइलाई चिकित्सकीय जाँचमा पाँचौ महत्वपूर्ण शरीरिक संकेतको रूपमा समेत लिइन थालिएको छ। बिरामीहरु चिकित्सकलाई भेट्न आउनुमा दुखाइ एक महत्वपूर्ण कारण हुने गरेको छ। वास्तवमा दुखाइ नभएसम्म बिरामी चिकित्सकको सम्पर्कमा नआएको कयौं उदाहरण हाम्रो समाजमा व्याप्त छ।
यो अनुमान गरिएको छ कि, प्रत्येक तीनमध्ये एक व्यक्तिले आफ्नो जीवनकालको कुनै न कुनै समयमा दीर्घकालीन पीडा अनुभव गर्छ। आकस्मिक कक्षमा आउने बिरामीमध्ये करिब २१ प्रतिशत बिरामी दीर्घकालीन दुखाइका कारण आउने गरेको एक तथ्यांकले देखएको छ भने वार्षिक रुपमा २५ प्रतिशत दिन कार्य गर्न असक्षम रहेको देखाएको छ। प्रत्यक्ष र अप्रत्यक्ष प्रभावलाई मध्यनजर गर्ने हो भने दीर्घकालीन दुखाइ कुनै पनि स्वास्थ्य अवस्थाको ठूलो आर्थिक बोझको रुपमा रहने गर्छ।
दीर्घकालीन दुखाइ (क्रोनिक पेन) लाई यसको पर्याप्त मूल्यांकन र व्यवस्थापनको लागि एक बहुआयामिक दृष्टिकोण र प्रयास आवश्यक पर्छ। सामान्यतः दुखाइसम्बन्धी रोगको दुखाइ निको हुन बढीमा लाग्ने तीन महिनाको उपचार समयभन्दा पनि बढी समयसम्म हुने दुखाइलाई दुखाइ अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय संघ (आइएएसपी) ले दीर्घकालीन दुखाइको रुपमा परिभाषित गरेको छ।
दुखाइ व्यवस्थापनमा औषधि–उपचार, मनोवैज्ञानिक मूल्यांकन र उपचार, अन्तरक्रियात्मक दुखाइ निदान प्रक्रियाहरू, व्यावसायिक उपचार र रिह्याबिलिटेसन उपचार पद्धतिहरुको प्रयोग गरिन्छ।
अन्तरदेशीय विभिन्न प्रविधीका रुपमा मेरुदण्डको खाली भागबाट स्नायु तन्तुलाई लठ्याउने सुई (स्पाइन इन्जेक्सन), स्नायु तन्तुको शिथिलता (नर्व ब्लकहरू), जोर्नीहरुमा लगाइने सुई, मेरुदण्डको रहको स्नायु तन्तुको उत्तेजना, इन्ट्राथिकल इम्प्लान्ट्स, लेजर थेरापी, बोटुलिनम विषाक्तको अनुप्रयोग र रेडियोफ्रिक्वेंसी मार्फत नशालाई गरिने शिथिलता (डिनर्भेसन) जस्ता विभिन्न प्रकारका विधिहरूलाई दीर्घकालीन दुखाइ निदानका प्रविधिको रुपमा प्रयोग गर्ने गरेका छन्। यी सबै प्रविधि सी-आर्म वा अल्ट्रासाउन्ड मार्गदर्शनको साथमा गर्ने गरिन्छ।
अन्तरक्रियात्मक दुखाइ (इन्टरभेन्सनल पेन) निदान प्रक्रियाले तुरुन्त दुखाइमा राहत प्रदान गर्छ। दुखाइ निदान विषयका सम्बन्धित विशेषज्ञ चिकित्सकहरू यस्ता दीर्घकालीन दुखाइ निदानका क्रममा अपनाइने अन्तरक्रियात्मक दुखाइ (इन्टरभेन्सनल पेन) निदान प्रक्रिया गर्दा बिरामीलाई बेहोस नबनाई तथा बाहिर बिरामीहरुलाई समेत सहजताका साथ गर्न सकिन्छ।
अन्तरक्रियात्मक दुखाइ (इन्टरभेन्सनल पेन) निदान प्रक्रियाहरू दुवै औषधी र शल्यक्रियामा भरपर्ने भएकोले अन्य औषधीजस्तो साइड इफेक्ट हुने खतरा रहँदैन। दुखाइका लागि गरिने शल्यक्रियाहरु अब सीमित हुनेछन् र सामान्यतया यस्ता शल्यक्रियालाई अन्तिम उपायको रूपमा लिइने छ।
दीर्घकालीन दुखाइको लागि अन्तरविषयात्मक उपचार पद्धति अन्तर्गतको चिकित्सकीय उद्देश्यहरूमा पीडाको तिव्रता घटाउनु, शारीरिक गतिविधी बढाउनु, दुखाइ नियन्त्रण गर्नु, बिरामीलाई काममा फर्किनसक्ने बनाउनु, मनोवैज्ञानिक सुधार ल्याउनु र स्वास्थ्य सेवाहरूको कम प्रयोग गराउने वातावरण बनउनु समावेश रहेको छ।
हाम्रो देशमा पनि दीर्घकालीन दुखाइको समस्या व्याप्त रहेकोले यस्ता समस्याको पहिचान समयमा नै गर्न सकेमा सम्बन्धित विशेषज्ञ चिकित्सकको परामर्शमा विभिन्न उपचारका पद्धति मार्फत सहज बनाउन सकिने छ।
(डा रिजाल पेन स्पेसलिस्ट हुन्)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।