धरान कम्युनिष्टको बलियो क्षेत्रको रुपमा चिनिन्थ्यो। २०१५ सालमा भएको आम निर्वाचनयता हालसम्म धरानमा कम्युनिष्टले पराजय व्यहोरेको थिएन। त्यो निर्वाचनमा नेपाली कांग्रेसका दीक्षायाम चौधरीले जितेपछि अहिलेसम्म कांग्रेसले सो क्षेत्रमा जित्न सकेको थिएन। त्यसैले कम्युनिष्ट पार्टीले सो क्षेत्रलाई आफ्नो गढको रुपमा लिएको थियो। २०४८ सालको आमनिर्वाचनमा जित सुनिश्चित गर्न एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी यसै क्षेत्रबाट उम्मेदवार बनेका थिए। तर पार्टी एकतापछि पनि नेकपाले यो क्षेत्रमा आफ्नो शाख जोगाउन सकेन। हालै भएको उपनिर्वाचनमा धरानमा नेपाली कांगेसले ऐतिहासिक सफलता हात पारेको छ। नेपाली कांग्रेसका तर्फबाट परिवर्तनको नारा लिएर चुनावी अभियानमा होमिएका नवनिर्वाचित मेयर तिलक राईसँग नेपाल लाईभका विनय बाह्रकोटीले गरेको कुराकानी।
ऐतिहासिक विजयको अनुभूति कसरी गरिरहनु भएको छ?
धेरै ठूलो जिम्मेवारी बोध भएको छ। म जुन विश्वासका साथ निर्वाचित भएको छु, त्यसलाई कायम गराउनुछ। आजदेखि मेरो जिम्मेवारी सुरु भएको छ। अब धरानलाई कसरी समृद्ध बनाउने र थप विश्वासिलो वातावरण सृजना गर्ने भन्नेमा सोचिरहेको छु। त्यसैले सबै धरानबासी र कार्यपालिकाका साथीहरूलाई आफ्नो सम्झेर सबैको सहयोग लिएर काम गर्ने योजनामा छु।
लामो समयदेखि धरान कम्युनिष्टको गढ मानिँदै आएको थियो। दुई पार्टी मिल्दा पनि तपाईं विजय हुनुभयो। यस विषयलाई कसरी लिनु भएको छ?
हिजोसम्म कम्युनिष्टको किल्ला भन्ने थियो। त्यो बेला पनि हामी प्रतिस्पर्धी थियौं। अहिले हिजोको जस्तो परिस्थिति छैन। जनता विकास र परिवर्तनको पक्षमा छन्। नेकपाको नेतृत्वले धरानलाई अगाडि बढाउन सकेन त्यसैले अब कांग्रेस चाहिन्छ, तिलक राई चाहिन्छ भनेर जनताले विश्वास गरेर विजयी गराएका हुन्। जनताले लालकिल्ला भत्काउने भन्दा पनि विकास गर्न मत दिएका हुन् भन्ने मैले बुझेको छु।
तपाईं अघिल्लो पटक पनि उम्मेदवार हुनुहुन्थ्यो। त्यो बेला विश्वास नगर्ने, अहिले विश्वास गर्ने कसरी भयो ?
त्यो बेला हामीबीचमै केही प्राविधिक समस्या थिए। अहिले पनि म एक्लो तिलक राई लागेर मात्र विजय हासील भएको हैन। मेरो सम्पूर्र्ण पार्टी र टिमकै कारण सम्भव भएको हो। पहिला हामी आफूमा समस्या थियो। त्यसैले जनताले विश्वास गरेनन् भनौं। अब जनताको विश्वासलाई थप उचाईंमा पुर्याउने अभिभारा मेरो काँधमा छ। म जनतालाई धोका दिन्न।
अबको अढाई वर्षे कार्यकालमा कस्ता काम तपाईंको प्राथमिकतामा छन्?
सुरुमा म कार्यालयमा जान्छु। कर्मचारी र जनप्रतिनिधि साथीहरूसँग परामर्श लिने र छलफल गर्छु। पार्टीका साथीसँग छलफल गरेर काम गर्ने टिम बनाउँछु। सबैको धारणा र सुझाव लिएपछि अगाडि बढ्छु। जनताले जे कामका लागि मलाई निर्वाचित गराए मैले त्यही गर्ने हो।
धरानमा सकुम्बासी, खानेपानी र अत्यधिक करवृद्धिजस्ता समस्या छन्। कसरी समाधान गर्ने सोच्नु भएको छ ?
निर्वाचनका दौरानमा मैले अत्यधिक बढेको कर समायोजन गर्छु भनेकै हो। म सहमतिमै कर घटाउँछु। त्यसमा मेरो प्रतिस्पर्धी दलका नेताहरूले पनि सहयोग गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु। अव्यवहारिक र अवैज्ञानिक करलाई व्यवहारिक र वैज्ञानिक रुपमा समायोजन गरिन्छ। अब यो सकुम्बासी समस्या धरानको ठूलो समस्या हो। यसलाई पनि म वैज्ञानिक विधिबाट नै समाधान गर्छु।
खानेपानी ल्याउने विषयमा समय गुज्रिसक्यो। धेरै ढिलो भइसक्यो। यतिधेरै जलाधार क्षेत्र भएर पनि धराने जनताले पानी खान नपाउनु ठूलो समस्याको कुरा हो। मेरै कार्यकालमा धरानमा पानी आउँछ। त्यसमा ढुक्क हुन म सबैलाई आग्रह गर्छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।