काठमाडौं- सोहिल महर्जनको एउटा सपना साग खेलकुदमा पूरा भयो। तर उनले पदक जितेका छैनन्। न उनी खेलाडी न त प्रशिक्षक नै। तर पनि खेलको जितले उनको उत्साह यसरी उचालियो मानौँ उनी मैदानमै भिडिँरहेका छन्।
खेलकुदका सपनाहरु खेलाडीले जति देखेका उनका हृदयनिकटले अझ बढी। ‘पदक जितेका’ सोहिल न खेलाडी न प्रशिक्षक र अफिसियल नै। उनी त करातेको दर्शकदीर्घामा देखिएका एक दर्शक। पदक जित्नुको उनको उत्साहसँग जोडिएकी छिन् कराते खेलाडी सुनिता महर्जन।
१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा करातेको ६८ केजी तौल समूहमुनि प्रतिस्पर्धा गर्न सुनिता रिङमा छिरिन्। दर्शकदीर्घामा तालिको आवाज गुञ्जियो। सबैले चिच्याउन थाले सुनिता.. सुनिता...। यहि स्वरमा स्वर थपिरहेका थिए सोहिल महर्जन। सोहिल महर्जन नाम मात्रले अहिले उनको परिचय पूर्ण देखिँदैन। सोहिल अर्थात् सुनिताका श्रीमान्।
सुनिताले सुरुमै बंगलादेशकी मोरेम खातुनविरुद्ध १ अंक ल्याइन्। त्यसबेला सोहिलको अनुहार हेर्नलायक थियो। उनी तालि बजाउँदै खुसी भइरहेका थिए। तर जब सुनिताकी प्रतिस्पर्धीले अंक पाउँथिन् सोहिलको मुटु चसक्क हुन्थ्यो। लाग्थ्यो, सुनितालाई लागेको मुक्का सोहिलकै मुटुमा पर्यो।
खातुनलाई १०–२ अंकले पराजित गर्दै सुनिता फाइनलमा प्रवेश गरेपछि सोहिल जुरुक्क उठेर ताली मार्दै हौसला बढाउँछन्। खुसीको मापन त नहोला तर, जति रिङमा सुनिता खुसी देखिन्थिन्, त्योभन्दा बढी खुसी सोहिलको मुहारमा देखिन्थ्यो।
त्यसको १० मिनेटपछि सुरु भएको फाइनलमा सुनिताको भेट स्वर्णका लागि पाकिस्तानकी कुल्सुनसँग भयो। पाकिस्तानकी कुल्सुन निकै छरितो खेलाडी थिइन्। उनी पनि श्रीलंकाली खेलाडीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन्।
पाकिस्तानकी कुल्सुनको खेल पनि राम्रोसँग नियालेका सोहिलका मनमा अनेक प्रश्नहरु उठिरहे। सोहिल भन्छन्, ‘निकै डर हुँदो रहेछ। यो मेरो पहिलो अनुभव हो। श्रीमतीले रिङमा उत्रिएर खेले पनि म नै त्यहाँ छु जस्तो महसुस भइरहेको थियो।’
सुनिताले स्वर्ण पदक थापिसकेपछि आफ्नो श्रीमान भएठाउँ आइन्। अंकमाल गरिन्। सोहिलले सुनिताको निधार चुमे। दुवै भावुक बने।
श्रीमतीको खेल भएकै कारण सोहिल अफिस बिदा मिलाएर सातदोबाटोस्थित कराते हलमा पुगेका थिए।
६ वर्षसम्म प्रेम सम्बन्धमा रहेका सोहिल र सुनिताले बिहे गरेको साढे २ वर्ष भयो। प्लस टु पढ्दादेखि नै प्रेम सम्बन्धमा रहेका सोहिललाई सुनिता खेलाडी हुन् भन्ने पहिले नै थाहा थियो। पहिलेदेखि नै उनी जुनसुकै प्रतियोगिता हुँदा श्रीमतीको खेल हेर्न पुगिहाल्छन्।
सोहिल भन्छन्, ‘एकदमै खुसी छु। परिवारकै एउटा सपना पूरा भएको छ। मेरो पूरै सहयोग छ। काठमाडौंमा भएको सबै प्रतियोगितहरुमा पुग्ने गरेको छु। म हुँदा उनलाई हौसला पनि बढ्छ।’
असफलताले स्वर्ण दिलायो
सुनिताले कराते खेल्न थालेको १५ वर्ष पूरा भयो। तर यो अवधिमा उनका लागि ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता भनेको नै यै एउटा साग हो।
हुन त उनले सन् २०१० मा पहिलो पटक दक्षिण एसियाली कराते च्याम्पियनसिप खेल्ने मौका पाएकी थिइन्। त्यसपछि उनको अन्तर्राष्ट्रिय प्रतियोगिता भनेकै केही दिन अघि बंगलादेशमा सम्पन्न पाँचौ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा भाग लिएकी थिइन्।
राम्रो गर्दा गर्दै पनि ओझेलमा परेकी सुनितालाई अन्तर्राष्ट्रिय एरिनामा स्वर्ण जित्नु थियो। मंगलबार उनले त्यो सपना पूरा गरिन्।
‘एकदम खुसी छु। अरुले स्वर्ण पदक जितेको देख्दा मलाई पनि जित्छु भन्ने आत्मविश्वास थियो’, मेडल भिर्दै सुनिता सुनाउँछिन्।
स्वर्ण पदकसम्मको यात्रा गर्दा धेरै मेहेनत र दुःख सुनिताले झेल्नु पर्यो। लामो समयदेखि कडा परिश्रम गर्दै आए पनि क्लोज क्याम्पबाटै बाहिरिदै गर्ने गरेकी सुनितालाई यो पटक भने भाग्यले साथ दिएको थियो।
उनी भन्छिन्, ‘यहाँसम्मको मेरो यात्रामा धेरै दुःख गर्नु परेको छ। दुःख गरेअनुसारको नतिजा पहिले आइरहेको थिएन। जति मेहेनत गरेपनि चुकी रहेको थिएँ। त्यसको ईख पनि थियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।