कञ्चनपुर- सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला वडाल जोशीले महिलामाथि हुने हिंसाको प्रमुख कारण अशिक्षा भएको बताएकी छन्। ‘समानताको पुस्ता: बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित मङ्गलबार भीमदत्तनगरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले शिक्षित समाज निर्माण गर्नसके मात्रै महिलामाथिका हिंसा हट्ने बताइन्।
समाजको थिचोमिचो सहँदै आएका मुक्त हलिया र दलित समुदाय अझै हिंसाको पीडा खेप्न बाध्य भएको उनकाे भनाइ छ। 'महिलाहरुले हिंसा सहेर बस्नु पर्दैन', उनले भनिन्, 'न्यायिक निकायमा पुगेर हिंसाको प्रतिकार गर्नु पर्दछ।' हिंसाका घटनाहरु न्यायिक निकायमा पुगेपछि मेलमिलापमा टुङ्गिँदा यसले प्रश्रय पाउँदै आएकाले कानूनी उपचारमा लाग्नुनै श्रेयस्कर हुने उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।