काठमाडौं- जारी तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत करातेको कुमुतेतर्फ नेपालकी अनुपमा मगरले स्वर्णपदक हात पारेसँगै करातेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ।
महिला ६८ केजी माथिको तौल समूहको फाइनलमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर नेपाललाई स्वर्ण पदक जितेकी हुन्। अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६–३ ले पराजित गरिन्।
यसअघि करातेको एकल कातामा मण्डेकाजी श्रेष्ठ र टिम काताअन्तर्गत पुरुषतर्फ मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण मानन्धर तथा टिम काता महिलामा निर्मला तामाङ र सङ्गीता मगर सरु कार्की तथा ५५ केजीमा लक्ष्मण तामाङले नेपाललाई स्वर्णपदक दिलाएका थिए।
त्यसैगरी ८४ केजीमाथि विप्लवलाल श्रेष्ठ, ४५ केजी मुनी कुसुम खड्का, ५० केजी मुनि अनु अधिकारी ६७ केजीमा नवीन रसाइली र ६८ केजीमा सुनिता महर्जनले स्वर्णपदक जितेका थिए। करातेमा अहिलेसम्म कुनै पनि स्पर्धामा नेपाल पदकविहीन भएको छैन। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।