धरान- भर्खरै सम्पन्न उपनिर्वाचनमा नेकपाको गढ मानिएको धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले ‘सानदार’ जित हासिल गर्यो। कांग्रेसका उमेदवार तिलक राईले नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतले पराजित गरे। यो जित नेपाली कांग्रेसका लागि ऐतिहासिक बन्न पुग्यो। कांग्रेसबाट विजयी भएका तिलकले २६ हजार ७ सय ९ मत ल्याउँदा नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मतले चित्त बुझाउनुपर्यो।
उनै तिलक ०७४ सालको चुनावमा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका थिए। उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएपछि नेकपाभित्र घात अन्तर्घातको चर्चा उठेको छ। अर्कोतिर कांग्रेस उत्साहित भएको छ। कम्युनिष्टले ‘पकेट क्षेत्र’ मान्दै आएको धरानमा नेकपाको हारभित्र विभिन्न परिघटनाको भूमिका देखिएको छ।
नेकपाभित्रको गुटबन्दी
नेकपाका उम्मेदवार प्रकाश राई पराजित हुनुको प्रमुख कारण नेकपाभित्रकै समस्या हो। आन्तरिक गुटबन्दीको खेल तल्लो स्तरसम्म देखिएपछि धरानको उपनिर्वाचनलाई प्रभावित पार्यो। नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भीम आचार्यको निर्वाचन क्षेत्रसमेत रहेको धरानमा पार्टीभित्र उनले आफ्नो पक्षको लाभमा काम गरेको चर्चा छ।
आचार्य लामो समयदेखि सुनसरीको पार्टी राजनीतिमा हाबी छन्। धरानको उपनिर्वाचनमा ओलीनिकट प्रकाश राईले टिकट पाए। तर आचार्यले आफ्ना विश्वासपात्र नेकपा सुनसरीका इन्चार्ज रमेश बस्नेतलाई निर्वाचन परिचालन समितिको संयोजक बनाए। बस्नेतले आफ्नै पार्टीका कार्यकर्तादेखि नेतासम्मलाई जिम्मेवारी दिन सकेनन्। प्रदेश सांसददेखि जिल्ला सदस्यसम्म भूमिकाविहीन भए। पूर्व माओवादी केन्द्रका स्थानीय नेताहरु समेत भूमिका नपाएको भन्दै घरमै बसे। प्रदेश सांसद लिलम बस्नेत नेता आचार्यनिकट व्यक्तिहरुले चरम गुटबन्दी गरेको आरोप लगाउँछन्।
चुनावी सभामा गुट हाबी भएको स्पष्ट देखिएको थियो। चुनावी सभामा आचार्य बोल्दै गर्दा सँगै पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपनेता सुवासचन्द्र नेम्वाङ्गमध्ये प्रचण्डलाई मात्र आसन ग्रहण गराए। नेम्वाङ्गसँगसमेत आचार्यले हात मिलाएनन्। जिल्ला स्तरका नेताहरुको आसनग्रहण हुँदासमेत नेम्वाङ्गलाई आसनग्रहण गराइएन। आचार्यनिकट कार्यकर्ताको मात्र जिम्मेवारी पाएपछि ओलीनिकट कार्यकर्ताहरु भूमिकाविहीन भए। जसले गर्दा अघिल्लो निर्वाचनमा भन्दा कम मत खस्नु र आफ्नै गढ मानिएका वडामा पनि नेकपालाई कम मत आएको देखिन्छ।
कांग्रेसको एकता
गुट राजनीतिबाट माथि उठ्न नसकेको कांग्रेस धरानको सन्दर्भमा अभूतपूर्व एकता कायम देखिएको थियो। पार्टीको आन्तरिक किचलोको प्रत्यक्ष लाभ प्रमुख प्रतिपक्षले पायो। उम्मेदवारी सिफारिसदेखि नै कांग्रेस एकढिक्का देखिएको थियो। तिलक राईलाई सर्वसम्मत उम्मदेवार सिफारिस गरियो। सुजेन्द्र तामाङ्ग र किशोर राई पनि उम्मेदवारको आकांक्षी देखिएका थिए। तर पार्टीभित्र एकताको सन्देश दिन भन्दै दुवैजना पछि हटे।
पार्टी एक भएर लागेपछि कार्यकतामा छुट्टै उत्साह सञ्चार भयो। जसले गर्दा निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै गयो कांग्रेसले उम्मेदवारको नाम सिफारिस भएदेखि नै घरदैलो सुरु गर्यो। नेकपाभन्दा २० दिन अगाडिदेखि नै घरदैलोमा लागेको कांग्रेसले हरेक जनताको घरमा पुग्यो। जतिबेला नेकपाले नामसमेत सिफारिस गर्न सकेको थिएन। घरदैलोसँगै अन्य सानादलहरुसँगको सहकार्यको रणनीति पनि बनाउँदै गयो, जसले निर्वाचन परिणाममा राम्रो सहयोग पुर्यायो। केन्द्रीय स्तरका नेताहरु महेश आचार्य र शेखर कोइरालाले धरानमै बसेर कार्यकर्ता परिचालन गर्ने काम गरे। अघिल्ला निर्वाचनमा दुईधारमा देखिने कांग्रेसी नेता कार्यकर्ताहरु एक हुनुले धरानमा काग्रेसले विजय हासिल गर्न मद्दत पुर्यायो।
उपमहानगरपालिकाले बढाएको कर
नेकपाका उम्मेदवार पराजयको अर्को कारण धरान उपमहानगरपालिकाले बढाएको कर थियो। निर्वाचनमा कांग्रेसले सोही मुद्धालाई चुनावी अस्त्र बनायो। घरबहाल करदेखि रिक्सा, टेम्पो नवीकरण गरेबापत बढेको करले धरानबासी नेकपाको स्थानीय सरकारसँग चिढिएका थिए।
नेकपाका उम्मेदवार हार्नुमा सुकुम्वासीको मुद्धा पनि थियो। सुकुम्बासीलाई धनीपुर्जा उपलब्ध गराउने आश्वासनले कांग्रेसको जित सहज भएको थियो। सुकुम्वासी बस्तिबाटै मासिक शुल्क उठाउन थालेपछि कांग्रेसले सुकुम्वासीको साथ लिन सफल भयो। नेकपासँग रुष्ट सुकुम्वासी मतदातालाई अव्यवहारिक कर घटाउने प्रतिबद्धता कांग्रेसले जनायो।
परिवर्तनको नारा
परिवर्तनको नारा लगाउने कार्यमा धरानमा यसपटक कांग्रेस अगाडि देखियो। यस अघिको निर्वाचनमा दुई कम्युनिस्टको मतको योगले जित्ने दम्भ पालेर बसेको नेकपालाई कांग्रेसले वास्तविक परिवर्तनकारी आफू भएको देखाउने प्रयास गर्यो। स्थानीय जनताका समस्या निराकरण नहुनुको जड नै नेकपा भएको मुद्धालाई कांग्रेसले उच्च रुपमा उठायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।