काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको तेक्वान्दोमा संगीता बस्यालले स्वर्ण पदक जितेकी छन्।
तेक्वान्दोको ग्यारोगी अन्तर्गत महिला ६२ किलोमुनिको प्रतिस्पर्धामा उनले भारतकी गगनजोत गिललाई ८ का विरुद्ध १९ अंकले हराउँदै स्वर्ण जितेकी हुन्।
स्वर्ण जितेपछि नेपाल लाइभसँग कुरा गर्दै उनले देशको झण्डा फहराउन पाउँदा एकदमै खुसी महसुस भएको बताएकी छन्।
‘देशमै स्वर्ण जितेर नेपालको झण्डा फराउन पाउँदा खुसी छु। हुटिङ दिएर हौसला दिनुभएका दर्शकलाई पनि धेरै धन्यवाद’ उनले भनिन्।
फाइनल खेल निकै प्रतिस्पर्धात्मक रहेकोतर्फ संकेत गर्दै संगीता थप्छिन्, ‘एकदमै खुसी लागिरहेको छ। देशका लागि आज स्वर्ण पदक जितेको छु’ उनले नेपाल लाइभसँग भनिन्, ‘फाइनल खेल निकै गाह्रो थियो। तर पनि जित सम्भव भयो एकदमै खुसी छु।’
स्वर्ण पदक हात पारे पनि आफूले सोचे अनरुप अझै खेल देखाउन नसकेको उनले बताइन्। ‘आज अलि रुइक फिल भएको जस्तो भयो। जति सोचेको थिए, त्यसमा ५० प्रतिशत मात्रै दिन सके। तै पनि स्वर्ण जित्न सफल भइयो। खुसी नै छु। ७ वर्षको मेहनतपछि यो सम्वभ भएको हो।’
स्वर्ण जितेपछि आगामी दिनमा संगीताको यात्रा कता बढ्छ भन्ने नेपाल लाइभको प्रश्नमा उनी भन्छिन्, ‘एसियन खेलहरुको तयारी लाग्छु। यो भन्दा धेरै मेहनत गर्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।