धनगढी- कैलाली डिभिजन वन कार्यालय र ईलाका वन कार्यालय अत्तरियाको संयुक्त टोलीले गोदावरीदेखि फोक्सेडाँडासम्मका टहरा भत्काएको छ।
डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेल नेतृत्वको टोलीले वन अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना बुधबार भत्काएको हो।
नेपाल लाईभमा ‘प्रदेश राजधानीमा वन माफियाको चलखेल, जंगल अतिक्रमण गरेर रातारात टहरा’ शीर्षकमा समाचार प्रकाशित भएपछि वन कार्यालय प्रमुखको टोली गोदावरी क्षेत्र पुगेको थियो।
डिभिजन वन प्रमुख कँडेलले भने, ‘गोदावरीदेखि फोक्सेडाँडासम्मका झण्डै १२ टहरा भत्काइएको छ।’ उनले सडक छेउका भौतिक संरचना हटाइएको र अन्य स्थानका संरचना पनि विस्तारै हटाइने बताए।
टोलीमा इलाका वन कार्यालयका सहायक वन अधिकृत शेरबहादुर भण्डारी, धनगढी उपमहानगरपालिकाका रेन्जर रामअवतार चौधरी थिए। टोलीले दिउँसो टहरा भत्काए पनि साँझ पुनः अतिक्रमण गरेर बसेका व्यक्तिहरुले भौतिक संरचना निर्माण सुरु गर्न लागेको स्थानीयले बताएका छन्।
सोही क्षेत्रका एक स्थानीयले भने, ‘टोलीले भौतिक संरचना भत्काएर गएपछि अहिले साँझ पुनः केही व्यक्तिहरुले भौतिक संरचना निर्माण गर्न थालेका छन् ।’
डिभिजन वन कार्यालय प्रमुख कँडेलले फेरि निर्माण गरिएको भए बिहीबार पुनः टोली खटाएर भत्काइने बताए। उनले पहिलो पटक सच्चिन भौतिक संरचना भत्काइएको र पुनः दोहोर्याए कारबाही प्रक्रिया अघि बढाइने बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले २०६५ असोज १२ गते तेघरी जंगलमा राजधानी स्थल तोकेलगत्तै वनमाफियाहरुले वरपरको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण गर्न थालेका थिए। राजधानीस्थल तोकिएको तेघरी जंगलनजिकै रहेको हनुमान मन्दिर क्षेत्र, गोदावरी आर्यघाट जाने क्षेत्र, चुनेपानी, समाधि गडा, भ्यागुतेपानी, बाँसपानी, गाईमारा क्षेत्र उच्च अतिक्रमणको चपेटामा परेको छ।
टोलीले सडक छेउमा रहेका भौतिक संरचना भत्काए पनि वनभित्र बनाएका संरचना भने हटाउन नसकेको जनाइएको छ । डिभिजन वन प्रमुख कँडेलले भने, ‘समय अभाव भयो। सडक छेउ बनाइएका संरचनामात्र भत्काएका छौं। वनभित्र एक हप्ताभित्र हट्छ।’
प्रदेश वन निर्देशनालयको तथ्यांकअनुसार कैलालीमा अहिलेसम्म २१ हजार १ सय ५४ दशमलब ७७ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ। देशभरमा १ लाख हेक्टर वनको क्षेत्रफल अतिक्रमणको चपेटामा परेको छ भने त्यसको २१ प्रतिशत (२१ हजार एक सय ५४ दशमलव ७७ हेक्टर क्षेत्रफल) वन क्षेत्र कैलालीमा मात्रै अतिक्रमण भएको छ। यो तथ्याङ्कले देशभरकै सबैभन्दा बढी कैलाली जिल्लामा वन क्षेत्र अतिक्रमण भएको देखिन्छ।
देशभरमै अतिक्रमित वन क्षेत्रको १ लाख हेक्टर क्षेत्रफलमध्ये २१ हजार हेक्टर क्षेत्रफल कैलालीमा अतिक्रमण भएको हो । नेपालको कूल अतिक्रमित क्षेत्रफलमध्ये २१ प्रतिशत वन क्षेत्र कैलालीमै अतिक्रमण भएको देखिन्छ, जुन तथ्यले देशभरमै सबैभन्दा बढी प्रतिशत वन क्षेत्र अतिक्रमण कैलालीमै भएको देखिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।