काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपालले अन्तिम समयमा गोल खाँदै श्रीलंकासँग अंक बाँडेको छ।
दशरथ रंगशालामा बुधबार भएको आफ्नाो दोस्रो खेलमा श्रीलंकासँग नेपालले १–१ को बराबरी खेलेको हो। पहिलो हाफमा १ गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल खाँदै बराबरी खेल्यो।
खेलको नवौं मिनेटमा नेपालका रेजिन सुब्बाले हुलमुलमा खाली पोस्टमा हानेको बल पोस्टमाथीबाट बाहिरिएको थियो। खेलको २०औं मिनेटमा नेपालको राम्रो प्रहार श्रीलंकाका किपरले जोगाएका थिए।
नेपालको ३० औं मिनेटको प्रहार पनि बिफल भयो। त्यसको ३ मिनेटपछि श्रीलंकाका खेलाडीले अनन्त तामाङलाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो। पेनाल्टीमा नेपालका कप्तान सुजलले गोल गर्दै अग्रता दिलाए। अभिषेकले ४३औं मिनेटमा दिएको क्रस पासमा सुजलको हेड बल पोस्ट माथिबाट बाहिरिएको थियो।
पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफको सुरुमा पहिलो हाफमा जस्तो सम्हालिएको खेल देखाउन सकेन। खेलको ४८औं मिनेटमा रेजिन सुब्बाले राम्रो अवसर खेर फाले।
खेलको ८४औं मिनेटमा अनन्त तामाङले गरेको हेड श्रीलंकाको पोष्टको नजिकैबाट बाहिरिएपछि नेपालले २–० गोलको अग्रता बनाउने अवसर गुमायो। तर खेलको अतिरिक्त समयमा श्रीलंकाले फ्रिकिकबाट आएको बललाई गोल गर्दै १–१ गोलको बराबरी खेलेको हो।
राउण्ड रोबिनका आधारमा हुने खेलका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्। पुरुष फुटबलमा नेपाल र भुटानसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स रहेका छन्।
पहिलो खेलमा भुटानलाई ४–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकासँग १–१ गोलको बराबरी खेल्दै ४ अंक बनाएको छ। भुटानको २ खेलमा ३ अंक छ। माल्दिभ्स र श्रीलंकाको समान २–२ अंक छ। बंगलादेशको भने १ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।