डडेल्धुरा- केही समयअघि सम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका बासिन्दा आपसमा कुरा गर्दा आफ्नै भाषा प्रयोगमा ल्याउँथे। अर्थात्, बोलीचालीमा डोट्याली भाषाको प्रयोग हुन्थ्यो।
तर, पछिल्लो समय सामान्य बोलीचालीमा पनि अंग्रेजी शब्द प्रयोग गर्ने क्रम बढ्दै गएको छ। खासगरी युवायुवतीले स्थानीय भाषा प्रयोग गर्नै छाडेका छन्। स्थानीय भाषा ओझेल पर्दै गएका छन्।
घरपरिवारभित्र पनि अंग्रेजी भाषा मौलाउँदै गएपछि डोट्याली भाषा संरक्षणका लागि वर्णविन्यास बनाइ डडेल्धुरामा महाकाली साहित्य संगम सक्रिय भएको छ। पुरानो भाषा ओझेलमा पर्दै गएकाले संस्थाले पछिल्लो समय डोट्याली भाषाको वर्णविन्यास बनाएको र डोट्याली भाषाको त्रैमासिक पत्रिका पनि प्रकाशनमा ल्याएको संस्थाका अध्यक्ष कर्णबहादुर चन्दले बताए।
भारतको कुमाउस्थित नैनीताल विश्वविद्यालयबाट अंग्रेजीमा बिए गरेका चन्दले करिब ३४ वर्ष विभिन्न विद्यालयमा अंग्रेजी शिक्षण पनि गरे तर अहिले उनी आफैं र संस्था नै डोट्याली भाषाको प्रचारमा जुटेका छन्। डोट्याली भाषाले ०४७ पछि मात्र राष्ट्रिय भाषाको मान्यता पाएको हो।
भारतको दुबाह नगरीबाट कुमाउ, चम्फावत, गढवालदेखि नेपालको बैतडी, डडेल्धुरा, डोटी हुँदै स्याङजासम्म फैलिएको बसाइ र बसाइसराइसँगै भाषा पनि आएको चन्दले बताए।
डोटेली भाषाबाटै स्याङजाली भाषाको उत्पत्ति भएको र पछि स्याङजाली भाषाबाट नेपाली भाषाको उत्पत्ति भएकाले नेपाली भाषा ‘डोट्याली भाषाको चेली’ भएको उनी बताउँछन्। पछिल्लो समय डोट्याली त परै जाओस् समाजमा अंग्रेजी भाषा सामान्य बोलीचालीमा पनि आउने गरेकाले वर्णविन्यास, पत्रिका र शब्दकोषसमेत तयार पारी बजारमा ल्याइएको साहित्यकार चन्दको भनाइ छ।
उनले भने, ‘डोट्याली भाषा एक आफ्नै ईतिहास बोकेको भाषा हो, यसमा कयांै शब्द छन् जुन हामी अहिलको परिवेशमा उच्चारण नै गर्न सकिरहेका छैनौं र उच्चारण गर्न पनि कठिनाई हुने गरेको छ।’
डोटेली भाषाकी चेली स्याङजाली र स्याङजाली भाषाकी चेली नेपाली भएकाले नेपाली भाषा डोट्याली भाषाकी नातिनी भएको चन्द (एमके सलेनी) को भनाइ छ।
‘सुदूरपश्चिम प्रदेशको प्रादेशिक भाषा बनाउने एवं कक्षा ५ सम्मको पाठ्यक्रम बनाउन पहल गरिरहेका छौं, यसमा सबैको साथ र सहयोगको खाँचो छ,’ उनले भने, ‘डडेल्धुरा ाट त्रैमासिक रुपमा डोट्याली भाषामा प्रकाशित हुने सोराई पत्रिकामा पनि डोट्याली वर्णविन्यास राखिएको छ।’
उनी अघि भन्छन्, ‘जाण्णु संसारकी भाषा, उन्नति प्रगति गद्दु हो, भुल्लु आफ्नी महतारी ईजु भाषा उजड्डु डुब्दु मद्दु हो । अर्थात संसारकी भाषा जानिराख्नु उन्नति प्रगति गर्नु हो, आफ्नो मातृभाषा बिर्सनु उजाड हुनु वा बिग्रनु हो।’
यसकारण पनि पुराना अर्ति उपदेशलाई ख्याल गर्दै सामान्य बोलीचालीमा पनि आफ्नै भाषा प्रयोग गर्नुपर्ने उनको मान्यता छ।
१० वर्ष अस्थायी र साढे २३ वर्षभन्दा बढी स्थायी गरी झण्डै ३४ वर्ष शिक्षण पेशा गरी अवकास पाइसकेका चन्दले सुरुमा आफूले डोट्याली भाषाका शब्द उच्चारण गर्न र लेख्नमा निकै कठिनाई भएको बताए। कञ्चनपुरको महेन्द्रनगरबाट डोट्याली भाषामा प्रकाशित हुने गुगुल्टी अध्ययन र डोट्याली भाषामै आपसमा कुराकानी हुँदा अहिले सरल भएको उनको भनाइ छ।
बैतडीको शलेनामा २०१० असार १२ गते जन्मिएका चन्द बैतडीकै पाटनमा रहेको श्री कृष्ण माविबाट नौ कक्षा पास गरी भारतको मुम्बइ पुगेका थिए। पुनाबाट प्राइभेट एसएलसी र मुम्बइ विश्वविद्यालयबाट इन्टर पास गरी पुनः नेपाल फर्किए। त्यसपछि फेरि भारत गई कुमाउमा रहेको नैनीताल विश्वविद्यालयबाट अंग्रेजीमा बिए गरी नेपाल फर्किए र नेपाल सरकारको सेवाकालीन सेवाबाट प्राइभेटमा नै बीएड गरे।
शिक्षणका क्रममा डडेल्धुरा तथा डोटीका विद्यालयमा बस्दा उनले डोटीको दिपायलमा रहेको दिल्पेश्वरको इतिहास दिल्पेश्वर ज्योति नामक किताबसमेत प्रकाशित समेत गरिसकेका छन्।
डोट्याली भाषाको इतिहास
नेपाली भाषाभन्दा हजारौं वर्ष पुरानो मानिएको डोटेली भाषा बृहद् डोटी राज्य खण्डित भएसँगै ७औं शताब्दीबाट छिन्नभिन्न भएको इतिहासकारहरूको मत छ।
भारतको हालको कश्मीरसँग र यता राप्ती नदीसम्म सीमाना जोडिएको राजा शुभानुदेवले स्थापना गरेको बृहद् डोटी राज्यको कुनै समय मूलभाषा रहेको डोटेली इतिहासका विभिन्न कालखण्डमा टुक्रिँदै जाँदा अहिलेको स्वरूपमा पुगेको इतिहासकारहरूको भनाइ छ। डोटेली संस्कृतिका अधिकांश अनुसन्धानकर्ताले यस भाषालाई नेपालका आदिवासीको भाषासँगैको इतिहास भएको इतिहासकारहरू बताउँछन्।
देशमा नयाँ शिक्षा लागू हुनुपूर्व डोट्याली भाषाका विषयमा कसैलाई जानकारी थिएन। पहिलोपटक डा. तारानाथ शर्माले लेखेको ‘घनघस्याको उकालो काट्दा’ डोटेली भाषाको शब्द ‘बाटामी गाड पडन्छे’ प्रयोग गरिएपछि यस भाषाका विषयमा अनुसन्धान सुरु भएको मानिएको छ। यसअघि इतिहासकार पं. रामचन्द्र ओझा, वरिष्ठ साहित्यकार एनडीप्रकाश चटौत र पहलमानसिंह स्वाँर लगायतले डोटेली भाषामा लेखेका केही कृति भए पनि त्यसको प्रचारप्रसार हुन सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।