काठमाडौं- चीनका विदेश मन्त्री वाङ यीले यही डिसेम्बर महिनामा भारतको भ्रमण गर्ने तयारी भएको छ।
दुई पक्ष बीच भ्रमणबारे आन्तरिक रुपमा तयारी भइरहेकाले उनको भ्रमण यही महिनाको अन्त्यतिर हुने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन्।
स्रोतले दिएको जानकारीअनुसार दुई देशको सिमानाका विषयमा छलफल गर्न उनी भारत आउन लागेका हुन्।
चिनियाँ विदेश मन्त्री वाङले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग पनि भ्रमणका क्रममा भेटवार्ता गर्ने जनाइएको छ।
सन् २०१७ मा डोक्लामको विषयलाई लिएर भारत र चीनबीच विवाद बढेको थियो। यसले नयाँ दिल्ली र बेइजिङबीचको सम्बन्धमा चिसोपना बढाएको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङका बीचमा गत अक्टोबरमा महाबलिपुरममा भएको अनौपचारिक भेटवार्तापछि अहिले सबैभन्दा उच्चस्तरको चिनियाँ भ्रमण हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।