काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार भएको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटान समक्ष २३७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
कप्तान ज्ञानेन्द्र मल्लको शतकको मद्दतले नेपालले विशाल योगफल तयार गरेको हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २३७ रन बनाएको हो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा १०७ रनको योगदान दिए। कमजोर मानिएको भुटानलाई उच्च लक्ष्य दिने क्रममा कप्तान मल्लले ९ छक्का र पाँच चौका प्रहार गरेका थिए।
यो सँगै २०-२० क्रिकेटमा शतक प्रहार गर्ने मल्ल नेपालका दोस्रो खेलाडी भएका छन्। यसअघि पारस खड्काले शतक प्रहार गरेका थिए।
बिहीबारको खेलमा पारस खड्काले २८ बलमा ९ चौका र एक छक्काको मद्दतमा ५७ रन बनाए। उपकप्तान दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए। नेपालले ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो।
भुटानका कर्मा दोर्जीले दुई विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।