काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार भएको पुरुष क्रिकेटमा नेपालले भुटानलाई १४१ रनको विशाल अन्तरले पराजित गरेको छ ।
नेपालले दिएको २३७ रनको लक्ष्य पच्छ्याउने क्रममा २० ओभर नै खेलेको भुटानले ६ विकेट गुमाएर ९५ रनमात्रै बनाउन सक्यो ।
भुटानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पारस खड्काले २, करन केसी, पवन सर्राफ र ललित राजवंशीले एक/एक विकेट लिए। भुटानका युगेन दोर्जी भने रन आउट भएका थिए ।
भुटानका लागि रनजंङ मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाए। सोनाम तोग्बेले १५ र टोडेन सिंग्याले ११ रन बनाउनुबाहेक अरुले दोहोरो अंक छुन सकेनन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २३७ रन बनाएको थियो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा १०७ रनको योगदान दिए। कमजोर मानिएको भुटानलाई उच्च लक्ष्य दिने क्रममा कप्तान मल्लले ९ छक्का र पाँच चौका प्रहार गरेका थिए।
यो सँगै २०–२० क्रिकेटमा शतक प्रहार गर्ने मल्ल नेपालका दोस्रो खेलाडी भएका छन्। यसअघि पारस खड्काले शतक प्रहार गरेका थिए।
खेलमा पारस खड्काले २८ बलमा ९ चौका र एक छक्काको मद्दतमा ५७ रन बनाए। उपकप्तान दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए। नेपालले टी २० क्रिकेटमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।