काठमाडौं– गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र बाहिरिएको छ। प्रश्नपत्र बाहिरिएपछि कलेजमा विवाद सुरु भएको छ।
कलेजले बढी शुल्क लिएको विरोधमा पहिलो वर्षका विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेर बाहिर बसिरहेका थिए। यहीबीचमा कलेजका प्रिन्सिपल र सिइओका छोराछोरीसहित पाँच जनाले भने परीक्षा दिएको चिकित्सा शिक्षा संघर्ष समितिका महासचिव अनित सिन्हाले जानकारी दिए। उनका अनुसार अरु विद्यार्थीले भने परीक्षा बहिष्कार गरेका छन्।
परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको थाहा पाएपछि भित्र पसेर विरोध गरेका ९ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको उनले जानकारी दिए। हस्तक्षेपका क्रममा प्रहरीले लाठीचार्ज गर्दा ढोकाको सिसा फुटेको छ भने त्यसक्रममा एक विद्यार्थीको हात काटेको छ।
पहिलो वर्ष ९५ जना विद्यार्थी अध्ययनरत छन्। तर परीक्षामा कलेज सञ्चालकका दुई छोराछोरी र अन्य गरी पाँच जनामात्र सहभागी भएको बताइएको छ। परीक्षा बिहान १० बजेदेखि २ बजेसम्म हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।