पोखरा– १३ औं साग अन्तरगत पोखरामा भएका ब्याडमिन्टन प्रतियोगितामा नेपाल कास्य पदकमा सीमित भएको छ । पोखराको ब्याडमिन्टन कोर्टमा बिहीबार भएको खेलमा सेमिफाइनलमा नेपाली खेलाडीहरुले निराशाजनक प्रदर्शन गर्दै सिंगल डबल्स र मिक्स डबल्स तर्फका सबै स्पर्धा गुमाउँदै सेमिफाइनलबाटै बाहिरिएपछि नेपाल कास्यमा सिमित भएको हो।
सेमिफाइनलमा पुरुष सिंगलतर्फ नेपालका रत्नजित तामाङ भारतका आर्यमान टण्डनसँग २–१ को सेटमा पराजित भए । उनी टण्डनसँग २१–१८, १४–२१ र २१–१८ को सेटमा पराजित भएका हुन् ।
पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनको जोडी श्रीलंकाका डायस अंगोडा र बी थारिन्दुको जोडीसँग २१–११ र २१–१९ को सोझो सेटमा पराजित हुँदै सेमिफाईनलबाटै बाहिरिए ।
मिक्स डबल्स तर्फ नेपालका विकास श्रेष्ठ र अनुमाया राईको जोडी भारतका ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीसँग २१–१४ र २१–१३ को सोझो सेटमा पराजित भएपनि काश्यमा सिमित भए ।
महिला सिंगलतर्फ भारतका अस्मिता चलिदाले श्रीलंकाकी अचिनी निमेसिका रत्नासिरिलाई २१–५ र २१–७ को सोझो सेटमा पराजित गर्दै उपाधी नजिक पुगिन् । सोही ईभेण्टमा भारतकी गायत्री गोपिचन्दले श्रीलंकाकी दिल्मी डायसलाई २१–१७ र २१–१४ को सेटमा पन्छाउँदै फाईनल यात्रा सुरक्षित गरिन् ।
महिला डबल्स तर्फ श्रीलंकाकी टी प्रमोदिका र के सिरिमांगेको जोडीले भारतका मेघना जकमपुदी र सिक्की रेड्डीको जोडीलाई २१–१४ र २१–१८ को सोझो सेटमा पराजित गरे ।
पुरुष सिंगलतर्फ भारतका श्रील बर्माले श्रीलंकाका दिनुका निसान परेराला करुणारत्नेलाई २१–९ र २१–१२ को सोझो सेटमा पराजित गर्दै फाईनल भीडन्त पक्का गरे ।
पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीले पाकिस्तानका मोहम्मद अतिक र रज्जा मोहम्मद हसिनको जोडीलाई २१–१५ र २१–७ को सोझो सेटमा पराजित गरेको छ ।
मिक्स डबल्स तर्फ श्रीलंकाका डायस अंगोडा र टी प्रमोदिकाको जोडीले वंगलादेशका मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीलाई २१–८ र २१–९ को सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा तय ग¥यो ।
सोही ईभेण्टको अर्को खेलमा श्रीलंकाका रत्नासिरि कपुरु र यू को जोडीले भारतका कुहु गर्ग र अनुष्का परिखको जोडीलाई २१–१० र २१–१८ को सोझो सेटमा पराजित ग¥यो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।