डडेल्धुरा–डडेल्धुराको भित्रीमधेसमा पर्ने आलिताल गाउँपालिकामा केही दिनदेखि बौलाहा कुकुरले आतंक मच्चाएको छ। आलिताल गाउँपालिका ७ र ८ मा बौलाहा कुकुर आतंक मच्चिएको हो।
बौलाहा कुकुरले टोकेर अहिलेसम्म १२ जनाभन्दा बढीलाई घाइते बनाएको छ। बौलाहा कुकुरले ८ विद्यार्थीसहित १२ जनाभन्दा बढीलाई टोकेको हो। उक्त कुकुरले बिहीबार बिहान आलिताल गाउँपालिका–७ मेलगाँजामा रहेको गौरीशंकर माध्यामिक विद्यालय आइरहेका ८ विद्यार्थीलाई टोकेको विद्यालयका शिक्षक इन्द्र साउँदले जानकारी दिए।
‘बिहान विद्यार्थीहरू विद्यालय आइरहेका थिए। त्यहीँ बेला बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ,’ उनले भने, ‘बौलाहा कुकुरले टोकेपछि विद्यालयका अन्य विद्यार्थीमा त्रास फैलिएको छ।’
बौलाहा कुकुरको टोकाइबाट घाइते भएका विद्यार्थीसहित अन्य व्यक्तिलाई उपचारका लागि जोगबुडा अस्पताल पठाइएको आलिताल गाउँपालिका–७ का स्थानीय तथा शिक्षक साउँदले जानकारी दिए। आलिताल प्रहरी चौकीले भने उक्त बौलाहा कुकुरको खोजी गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।