काठमाडौं- १३औं सागमा भारोत्तोलन स्वर्ण जित्दै सञ्जु चौधरीले इतिहास बनाएकी छिन्। नेपाली महिला खेलाडीले भारोत्तोलनमा जितेको पहिलो स्वर्णपछि आफू असाध्यै खुसी भएको बताएकी सञ्जुलाई उनका बुबाआमाले टेलिफोनमार्फत बधाई दिएका छन्।
‘बाबा आमा यहाँ खेल हेर्न आउन त पाउनुभएन तर स्वर्ण जितेपछि फोन गरेर नाम उच्च राख्यौ सधैँ हामी तिमीसँगै हुन्छौँ, सधैँ राम्रो गर्नु भन्नुभयो’ बाबासँगको फोन संवाद सुनाउँदै सञ्जुले भनिन्।
यो पनि – ...अहिले बुबाले गाली गर्नुहुन्न !
नेपालगञ्जमा रहेका परिवारबाट पोखरामा भइरहेको भारोत्तोलन हेर्न कोही नआए पनि आफूले खेलमा परिवारको राम्रो समर्थन पाएको सञ्जुले सुनाइन्। पहिले पहिले घरबाट लुकेर खेल्न हिँडेकी सञ्जुले साग खेलकुदमा स्वर्ण जितेसँगै परिवारमा खुसी दिएकी छिन्। उनको साग स्वर्णले नेपाली भारोत्तोलनलाई नै मद्दत पुग्नेछ।
महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन्।
पोखरा माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबारदेखि सुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लिन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान बनाइन्। उनले स्न्याच, लीन एण्ड जर्क र जम्मातर्फ कीर्तिमान बनाएकी हुन्।
श्रीलंकन खेलाडी आरएमएनएस राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एण्ड जर्कमा ९१ गरी १६१ केजीका साथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १६० केजी भार बहन गर्दै कास्य जितिन्। चार देशले भाग लिएको पाकिस्तान खेलाडी चौथो भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।