काठमाडौं- खजुरीको नेपाल प्रालिमा काम गर्दै आएकी मेनुका घिमिरेले कम्पनीमा आफूले काम गरेवापत श्रम ऐन २०७४ बमोजिम सेवासुविधा पाउनु पर्ने माग राखिन्।
तर न्यूनतम पारिश्रमिकलगायत सेवासुविधा पाउनु पर्ने माग राखेकै कारण कम्पनीले कामबाट निकालिदियो।
‘म अखिल नेपाल औद्योगिक मजदूर संघअन्तर्गत आधिकारिक ट्रेड युनियनको सदस्य पनि हो। पारिश्रमिकलगायत अन्य सेवासुविधा हुनुपर्छ भनेकै कारण मलाई कामबाट निकालियो,’ पीडित घिमिरे भन्छिन्, ‘पछिल्लो समय हामीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउनु पर्ने विषयलाई उठान गरेका थियौँ।’
घिमिरेसँगै खजुरीको नेपालले बिनाकारण निकालेको भन्दै कोशिला परियार, मेनुका घिमिरे, विष्णुमाया तामाङले गत वैशाख १ गते श्रम अदालतमा पुनर्बहालीको माग राख्दै मुद्धा हालेका छन्। वैशाख ३ गते नै सोही कारण देखाउँदै खजुरीको नेपालमा कार्यरत सपना सुन्दासले मुद्दा हालेकी छन्।
खजुरीको कम्पनीले कम पारिश्रमिक दिएर काम लगाउने र नियमअनुसार सेवासुविधा नदिने गरेको पाइएको छ। सेवासुविधा तथा न्यूनतम पारिश्रमिकको माग गर्ने कर्मचारीहरु विना कारण निकालिने प्रवृत्ति देखिएको छ।
गत वैशाखदेखि हालसम्म उक्त कम्पनीले विनाकारण श्रमिक कटौती गरेका १० वटाभन्दा बढी मुद्दा दर्ता भएको श्रम अदालतले जनाएको छ।
‘समस्यामा परेका वास्तविक श्रमिकहरु अझै अदालतसम्म आउन सकेका छैनन्। विभिन्न मजदूर संगठनमा आबद्ध श्रमिकमात्रै अदालतसम्म आइपुग्छन्। उनीहरुलाई कसरी हटाउने र सोझासाझालाई सस्तो मूल्यमा काम लगाउने भन्ने प्रवृत्ति रोजगारदातामा देखिएको छ’ श्रेस्तेदार जीवन भण्डारीले भने।
नेपाल लाईभले खजुरीको नेपालसँग कामदार कटौतीका सम्बन्धमा प्रतिक्रिया लिँदा कम्पनीले खुलेर बोल्न चाहेको छैन्। कम्पनी व्यवस्थापन समितिका प्रतिनिधि ओमनाथ महर्जनले आफ्नो कम्पनीबाट बिनाकारण मजदूर कटौती नभएको दावी गरे
‘हाम्रो कम्पनीमा कामदारलाई त्यस्तो केही भएको छैन’ महर्जनले एक वाक्यको प्रतिक्रिया मात्रै दिए। थप केही बोल्न चाहेनन्।
कामदार कटौतीमा पाँचतारे होटल सोल्टीदेखि र्याडिशनसम्म
२०७६ जेठ २१ गते सोल्टी होटलमा कार्यरत कर्मचारी प्रविन केसीले आफूलाई बिना कारण कामबाट निकालेको भन्दै श्रम अदालतमा मुद्धा दायर गरेका छन्।
शुभकुमारी मल्ल, सुमन दाहाल, सविन बज्राचार्य तथा मुरारी केसीले आफूलाई बिना कारण कामबाट निकालेकाले पुनर्बहालीको माग राख्दै (जेठ ५ देखि १४ गतेसम्म ) श्रम अदालतमा मुद्धा दायर गरेका छन्। अन्य थुप्रै तारे होटलका उजुरी पनि श्रम अदालतमा विचाराधीन छन्।
देशका पाँच तारे होटल नै कामदार कटौतीमा सक्रिय रहेको पाइएको छ। उनीहरूले बिना कारण कामदार निकाल्ने, श्रम ऐनबमोजिमका सेवासुविधासमेत उपलब्ध नगराउने पाइएको छ।
अदालतमा मुद्दाका चाङ
२०७६ वैशाखदेखि हालसम्म कामदार कटाती, सेवासुविधाबाट वञ्चित, अवकाशबाट पुनर्बहालीलगायतका मद्दाका चाङ अदालतमा थुप्रिएका छन्। २०७६ वैशाखदेखि हालसम्म २ सयभन्दा बढी मुद्दा परेको अदालतले जनाएको छ। त्यसमा पनि बिना कारण कामदार कटौती गर्ने समस्या पछिल्लो समय निकै विकराल देखिएको छ।
बिना कारण कामदार कटौती गर्ने कम्पनीमा सनराइज कन्टेनर्स प्रालि, त्रिवेणी टेक्सटाइल प्रालि, प्राइम ईन्टरनेशनल स्कुल, मकरी गाउँ हाइड्रोपावर, हेल्पिङ ह्याण्ड सामुदायिक अस्पताल, एशियन डिस्टिलरी प्रालि, सिजि एग्रो प्रोडक्शन, डिएचएल एक्सप्रेस नेपाल प्रालि, जानकी आँखा अस्पताल, किसान माइक्रो फाइनान्स वित्तिय प्रालिलगायत अन्य विभिन्न उद्योग, तथा प्रतिष्ठान पनि छन्।
किन बढ्यो कामदार कटौती प्रवृति ?
सरकारले अघि सारेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएसँगै रोजगारदातामा कामदार कटौती गर्ने प्रवृत्ति बढेको विभिन्न ट्रेड युनियनका प्रतिनिधिको आरोप छ।
अखिल नेपाल ट्रेड युनियनले पछिल्लो समय रोजगारदाताले श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन नचाहेको पाइएको जानकारी दिएको छ।
अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले पछिल्लो समय सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएसँगै कामदार कटौती गर्ने प्रवृत्ति बढेको दावी गर्छन्। सिम्खडा भन्छन्, ‘श्रमिकको पसिना सस्तो मूल्यमा खान पल्केका रोजगारदाता विभिन्न आरोप लगाइ कामदार कटौती गर्नतर्फ लागेका छन्।’
श्रमिकको हकहितका लागि नयाँ नयाँ नीति आए पनि नीतिहरु कागजमै मात्र सीमित हुँदा श्रमिकहरुले अनुभूति गर्न नपाएको ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुस्कर आचार्यले बताए। पछिल्लो समय पनि कामदारलाई हेप्ने, उचित सेवासुविधा नदिने, बिना कारण निष्काशन गर्ने प्रवृत्ति रहेको उनको भनाइ छ।
रोजगारदाताहरुले भने कामदारको लापरबाहीका कारण उनीहरुलाई कामबाट निकाल्नु पर्ने स्थिति आएको तर्क दिने गरेका छन्।
यसअघि मजदूर आन्दोलनका कारण बन्द गर्नुपर्ने अवस्थामा पुगेको तारागाउँ होटल हायात रिजेन्सीले पनि कामदारले अनावश्यक आन्दोलन गर्ने, काममा प्रभावित पार्ने, अनावश्यक माग राखेर हड्ताल गर्ने प्रवृत्तिका कारण कामदार कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको प्रतिक्रिया दिएको थियो।
बिना कारण कामदार निकालेको आरोप लागेको सर्वाङ्ग अस्पतालका सिइओ सुशील खनालले पनि नेपाल लाईभसँग कामदारले काममा अल्छी गर्ने, आन्दोलन गर्ने प्रवृत्तिका कारण कटौती गरेको दाबी गरेका छन्।
यता श्रम अदालतले धेरै भारतीय श्रमिकहरु कम्पनीमा राख्ने र नेपाली श्रमिकलाई विस्थापित गर्ने गरेका समस्या पनि बढ्दै गएको जनाएको छ।
अदालतका श्रेस्तेदार भण्डारीका अनुसार पछिल्लो समय रोजगारदाताहरुले भारतीय श्रमिकहरु राख्ने र नेपाली श्रमिक कटौती गर्ने प्रवृत्ति बढेको छ।
भारतीय श्रमिकहरु दक्ष हुने र नेपालीभन्दा छिटोछरितो काम गर्ने हुँदा नेपालीको सट्टा भारतीय कामदार राख्ने प्रवृत्ति बढेको पाइएको छ। तराइका जिल्लाका उद्योग तथा प्रतिष्ठानमा यस्ता खालका समस्या बढेको पाइएको छ।
उद्योग मालिकहरु पनि भारतीय हुने र उनीहरुले श्रमिक पनि भारतीय नै रुचाउने हुँदा नेपाली श्रमिकरु कटौती गर्ने प्रवृत्ति बढेको हुन सक्ने श्रेस्तेदार भण्डारीले बताए।
कामदार कटौती सम्बन्धी के छ कानुनी प्रावधान ?
श्रम ऐन २०७४ ले आर्थिक समस्यामा परेका, गाभिएका, बन्द गर्नुपर्ने अवस्थामा पुगेका प्रतिष्ठानले श्रमिक कटौती गर्न पाउने व्यवस्था गरेको छ।
यस्ता कारणले श्रमिक कटौती गर्नुपर्ने भएमा ती प्रतिष्ठानले आधिकारिक ट्रेड युनियन तथा श्रम कार्यालयलाई जानकारी दिनु पर्दछ। कामदार कटौती गर्नुपर्ने अवस्थामा विदेशी श्रमिकलाई पहिले कटौती गर्नुपर्ने उल्लेख छ।
विदेशी श्रमिक कटौती गरिसकेपछि अरु स्वदेशी श्रमिक पनि कटौती गर्नुपर्ने अवस्था सिर्जना भएमा खराब आचरण भएका तथा एउटै प्रकृतिको काम गर्नेमा पनि सबैभन्दा पछि नियुक्ति भएका श्रमिकबाट कटौती गर्नुपर्दछ। कटौती गर्दा एक वर्ष पूरा गरेका श्रमिकलाई प्रत्येक वर्षको एक महिनाको आधारभूत पारिश्रमिक बराबर बोनस एकमुष्ट प्रदान गराउनुपर्ने व्यवस्था छ। कटौती गरिसकेपछि पुनः सोही योग्यता भएका श्रमिकलाई नियुक्ति दिन पाइदैन।
तर नेपालका उद्योग तथा प्रतिष्ठानहरुले कामदार कटौती गर्दा श्रमिक, आधिकारिक ट्रेडयुनियन तथा श्रम कार्यालयलाई जानकारी नगराई आफूखुसी कटौती गर्ने गरेको पाइएको छ। न्यूनतम तलब तथा सेवासुविधा माग गर्ने पुराना कामदार कटौती गरी सोही पदमा नयाँ कामदार भर्ना गर्ने र सस्तो मूल्यमा काम लगाउने प्रवृत्ति पनि बढेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।