काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा नेपालले ५ स्वर्ण पदक जितेको छ।
लगनखेलमा आज सम्पन्न भएको उसु खेलमा नेपालले ५ स्वर्ण पदक जितेको हो। यो पटक सागमा १७ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। जहाँ नेपालले ५ स्वर्णसँगै ९ रजत र ३ कास्य पदक जितेर प्रतियोगिताको अन्त्य गरेको छ।
नेपालका लागि उसुको थाउलोअन्तर्गत महिला नान्दोमा निमा घर्तिमगरले स्वर्ण जितेकी हुन्। उनले कुल १८.९१ अंक जोडेर स्वर्ण जितेकी हुन्। १६.३ अंक बटुलेकी बंगलादेशकी मोर्जिना अख्त्तरले रजत पदक पाइन्।
पुरुष अलराण्डतर्फ च्वाङछवानमा दीपक हमालले स्वर्ण पदक जिते। दीपकले १९.३२ अंक प्राप्त गर्दै स्वर्ण पदक जितेका हुन्
त्यस्तै, थाउलो छानछ्वानमा पुरुषतर्फ विजय सिंजाली र महिलामा सुस्मिता तमाङले स्वर्ण जितेका हुन्। त्यस्तै, उसुको सान्डा सान्सोमा नेपालकी जुनी राईले स्वर्ण पदक जितेकी हुन्।
उसुमा आफुहरुले सोचेको भन्दा पनि राम्रो नतिजा आएको मुख्य प्रशिक्षक अमर थिङ बताउँछन्। उनले भने, ‘हाम्रो लक्ष्य ४ स्वर्ण थियो। तर ५ स्वर्ण जित्न सफल भयौं। सोचेको भन्दा पनि राम्रो नतिजा आयो। तर अझै राम्रो नतिजा आउनु पर्ने हो। तर रेफ्रीले श्रीलंकाको पक्षमा निकै अंक दियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।