काठमाडौं- निर्वाचन आयोगका अनुसार यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनमा विगत निर्वाचनको तुलनामा बदर मत सङ्ख्या न्यून देखिएको छ। मतदाता शिक्षा कार्यक्रममा प्रयोग गरिएको नमूना मतपत्र, जानकारीमूलक पोष्टर, ब्रोसर, मतदाता शिक्षा कार्यकर्तामार्फत सञ्चालन गरिएको घरदैलो कार्यक्रमका साथै विभिन्न सञ्चारमाध्यमबाट प्रेषित सूचना, सन्देशका कारण बदर मत सङ्ख्या न्यून भएको आयोगको ठम्याइ छ।
मङ्सिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सदस्यको लागि विभिन्न ५२ पदको उपनिर्वाचन सम्पन्न भएको थियो। कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य एक पदको लागि मतदाता सङ्ख्या ७१ हजार ८ सय ७१ रहेकोमा ४५ हजार ५ सय ४६ जना मतदाताले मतदान गरेका थिए। जसमध्ये सदर मत सङ्ख्या ४४ हजार ९ सय ४६ र बदर मत सङ्ख्या ६ सय रहेकोमा बदर मत प्रतिशत १ दशमलव ३२ रहेको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
भक्तपुर निर्वाचन क्षेत्र नं १ को १, बागलुङ निर्वाचन क्षेत्र नं २ को २ र दाङ निर्वाचन क्षेत्र नं ३ को २ गरी जम्मा तीन प्रदेशसभा सदस्य पदको लागि मतदाता सङ्ख्या एक लाख ४८ हजार ९ सय १८ रहेकोमा ९८ हजार ७ सय ३४ जना मतदाताले मतदान गरेका थिए। त्यसमा सदर मत सङ्ख्या ९७ हजार ६७ र बदर मत सङ्ख्या १ हजार ६ सय ६७ रहेकोमा बदर मत प्रतिशत १ दशमलव ७१ रहेको छ।
त्यसैगरी स्थानीय तहका सदस्यतर्फ सुनसरीको धरान उपमहानगरपालिका प्रमुख-१, पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष-१, सङ्खुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष-१ र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष-१, हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष-१ र विभिन्न नगरपालिका/गाउँपालिकाका वडाअध्यक्ष-४३ गरी जम्मा ४८ पदको लागि जम्मा मतदाता सङ्ख्या २ लाख ३३ हजार ३ सय २५ रहेकोमा एक लाख ५४ हजार ८ सय ३५ मतदाताले मतदान गरेका थिए। जसमध्ये सदर मत सङ्ख्या १ लाख ५२ हजार ४ र बदर मत सङ्ख्या २ हजार ७ सय ७० रहेकोमा बदर मत प्रतिशत दुई रहेको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।