त्यो घटनापछि ११ वर्षकै उमेरमा राणाविरोधी भएँ: प्रयागराज सिंह सुवाल

पुष्पा केसी | २०७६ मङ्सिर २० शुक्रबार | Friday, December 06, 2019 ०७:००:०० मा प्रकाशित

प्रयागराजसिंह सुवाल ९० वर्ष पुगे। राणा शासकको क्रुर अत्याचार देखेपछि उनी ११ वर्षकै उमेरमा राणाविरोधी भएका थिए। जबकि उनका पिता राणाकै इञ्जिनियर थिए। भूमिगत जीवन, जेलजीवन, काठमाडौंको मेयर हुँदै यातायात मन्त्रीसम्म बने उनी। प्रजातन्त्रका लागि लडेका उनले आफ्नो विगत र त्योसँग जोडिएका घटनाको बेलिविस्तार लगाएका छन्। नेपाल लाइभकर्मी पुष्पा केसीले उनको संस्मरण उनकै शब्दमा प्रस्तुत गरेकी छिन्ः

घटना वि.सं. १९९७ साल माघ ६ गतेको हो। त्यतिबेला म ११ वर्षको थिएँ। त्यो दिन ओमबहालबाट नजिकै इनाखामा रहेको मामाघर गएको थिएँ। घरबाट नजिकैको मामाघरबाहिर साथीहरुसँग खेलिरहेको थिएँ। लप्सीको बियाँ घोटेर फिरफिरे (च्याम्पाती) बनाएर घुमाउँदै साथीहरुकोसँग ठोक्काउन खुबै प्रतिस्पर्धा चल्थ्यो। त्यो दिन पनि साथीहरुसँगै बाग्मतीनजिकै ढुङ्गा छापेको सडकमा लप्सीको बियाँ घोट्दै थियौं, फिरफिरे बनाउन। त्यहीबेला हाम्रै उमेरका अर्का साथी आइपुगे। साथी त आए तर खेल्न होइन कुनै अप्रिय खबर बोकेर। 

‘ओइ! तल बाग्मती जाने बाटोको छेऊमा एउटा मान्छे झुण्ड्याएको छ,’ त्यो साथीले एकै सासमा भन्यो।

खबरले हामी सबैलाई झट्का दियो। खबर ल्याएर आउने साथीले थप्यो, ‘हेर्न जाऔं। हेर्न जाऔं।’ त्यसपछि हामीहरु सबै त्यतै लाग्यौं। 

त्यहाँ स्वीपरहरूको बस्ती थियो। अलि ओरालो ओर्लिएपछि मुल सडकमा पुगिन्थ्यो। मूल सडक पुगेपछि अर्को साइडमा एउटा मान्छे रुखमा झुण्डिएको वारिबाटै देख्यौं। च्याम्पाती खेल्नेजति सबै मान्छे झुण्डिएकोतर्फ गयौं। रुखमा झुण्डिएको मान्छेले गेरु वस्त्रको कमिज र धोती लगाएको थियो। टाउको एकातिर फर्किएर हावामा हल्लिरहेको थियो।

हामी आएकै बाटोबाट छ/सात जनाको एउटा समूह आयो। त्यसमा एकजना अलि बुढो मानिस थिए। उनी सडक पार गरेर हामी भएकै ठाउँमा आए। उनी निकै आक्रोशित देखिन्थे।  झुण्डिएको लासतर्फ हेर्दै टाउको तनक्क तन्काएर छाति फुलाए। ती वृद्धको अनुहार र आवाज अहिले पनि मेरो कानमा गुञ्जिन्छ, ‘क्या बात बेटा, बेटा हो तो तुम जैसा हो।’  

त्यसपछि ती मानिसले झुण्डिएको लासलाई एक चक्कर लगाएर घुमे। र, राम राम राम भन्दै आएकै बाटो फर्किए। 

हामीलाई  पछि मात्रै थाहा भयो, झुण्ड्याइएका व्यक्ति शुक्रराज शास्त्री रहेछन्। र, ‘क्या बात बेटा’ भन्दै  जाने व्यक्ति शुक्रराजका बुवा माधवराज शास्त्री रहेछन्। 

जति त्यो घटनाले दुःखित बनायो, मेरो मस्तिष्क उत्तिकै बेचैन बन्यो। त्यसको पर्सिपल्ट म बज्यैको घर क्षेत्रपाटी गएको थिएँ। त्यहाँ पनि त्यस्तै अप्रिय खबर सुनियो, ‘विष्णुमतिमा दुई जनालाई गोली हानेर मारियो।

मलाई हेर्न जान मन लागेको थियो। तर आमाले, ‘रगत धेरै बगेको छ रे केटाकेटी डराउला नजाऊ’ भनेर रोक्नुभयो।  गोली हानेर हत्या गरिएको ठाउँमा जान पाइनँ। शोभाभगवतीको अगाडि विष्णुमतिमा गोली हानिएको गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई रहेछ। एउटा आँखाले नै देखेको दृश्य त छँदै थियो। फेरि अर्को सुनेको घटनाले उसैगरी मेरो मन–मस्तिष्कलाई बिथोल्यो। मनमा चोट प¥यो। मलाई थाहा थियो, मनमा चोट परे पनि गर्न केही सकिदैनथ्यो। गंगालाल त मेरा दाइहरू गणेश र सूर्यलालका मिल्ने साथी थिए। घरमै आइरहने हुँदा गंगालालसँग पारिवारिक सम्बन्ध पनि थियो। 

फेरि गंगालाललाई मारेको पर्सिपल्ट ‘धर्मभक्त माथेमालाई पशुपति जाने बाटोमा झण्ड्याएको छ रे’ भन्ने खबर आयो। धर्मभक्तको घर मेरोनजिकै थियो। धर्मभक्त पहलमान थिए। र, केही युवालाई शारीरिक व्यायाम सिकाउँथे पनि। 

हामी केटाकेटी उहाँसँग धेरै डराउँथ्यौं। सडकमा हिँड्दा पनि छाति फुलाएर हिँड्नु हुन्थ्यो। राजा त्रिभुवनलाई शारीरिक व्यायाम सिकाउँछन् पनि भन्थे। हातमा एउटा छाता बोक्थे। लमकलमक हिँड्थे। हामी हेथ्र्यौं मात्र। उहाँसँग कुरा गर्ने कहिल्यै आँट आएन। धेरै फूर्तिलो शरीर। उहाँले त्यही टोलमा पनि केही युवालाई व्यायाम सिकाउनु हुन्थ्यो। पहलमान सिकाउँदा हामीलाई तालिम दिने कोठामा जान दिदैंनथे। तर हामी पर्खाल चढेर झ्यालको सानो प्वालबाट हेथ्र्यौं। 
त्यसपछि नै हो मेरो मनमा राणाविरोधी भावना जागृत भएको, राणा शासन फाल्नुपर्छ भन्ने लागेको। नत्र के थाहा पाउँथ्यौं र ११ वर्षको कलिलो बाल मस्तिष्कले शासन र सत्ता सञ्चालनजस्तो जटील विषय कसरी बुझ्नु? तर, मलाई त्यही दृश्यले राणा शासनविरोधी। त्यही दृश्यले राणाको विरोधमा नाराबाजी गर्न कहिले जोश, जाँगर र ऊर्जा दियो, कहिले पीडा। त्यहि कुरुप दृश्य नै थियो, जसले हृदयमा फैलायो राणा शासनविरुद्धको जरा। त्यसपछि नै हो ममा राणाहरु खराब र बदमास रहेछन् भन्ने घृणा जन्मिएको।

अनि, त्यही दृश्य नै थियो, मलाई राजनीतिको बाटोमा डो¥याउने। म एकपटक काठमाडौं नगरपालिकाको उप–सभापति (उपमेयर), एक पटक सभापति (मेयर) र एक पटक मन्त्री बनेँ। त्यसको गोरेटो सुरुवात पनि त्यही दृश्यबाटै भएको हो। अहिले सोच्छु– अहो ! कुनै दृश्य यति शक्तिशाली पनि हुँदो रहेछन्।’
०००

मेरो उमेर बढ्दै थियो। राणा शासनविरोधी गतिविधि पनि बढ्दै थिए। मलाई राजनीतिबारे कुनै जानकारी थिएन। तर, जुलुस आएको थाहा पाउनेबित्तिकै दौडिहाल्थें, राणाको विरोध गर्न। 

२००४ सालमा दयावीरसिंह कंसाकारले परोपकार संस्था स्थापना गरे। त्यसले अझै राणाविरोधी गतिविधिमा संलग्न हुन हामीलाई सजिलो भयो। मेरो सम्बन्ध विस्तारै छिमेकी दाइ समाजसेवी कृष्ण मानन्धरसँग बाक्लिँदै गयो। परोपकारमा मानन्धर प्रधानसेवक हुनहुँदो रहेछ। उहाँले मलाई पनि स्वयंसेवक बनाउनुभयो। त्यसपछि जुलुसमा जाने क्रम अझ बाक्लिँदै गयो। जुलुस हुनुअघि नै टोलभरका युवालाई खबर दिने उहाँ नै हुनुहुन्थ्यो। 

बबर शमसेरसँगको भेट

बुवा नै बबरशमसेरको घरमा टेक्सटाइल इन्जिनियरको काम गर्नुहुन्थ्यो। त्यसैले सुरुमा  मलाई राणा शासनको विरोध गर्न अप्ठ्यारो भयो। 

सिआइडीले कुरा लगायो होला। म राणा शासनको विरुद्ध लागेको बालाई थाहा भयो। कहिलेकाहीँ समातेर लैजाने, कहिले केटाकेटी भनेर छोड्ने भइरहन्थ्यो। बालाई त उनीहरुले कांग्रेसको बाउ नै भन्न थालेछन्।
 
एक दिन अफिसबाट घर आइपुग्ने बित्तिकै सोध्नुभयो, ‘हिजो कहाँ गइस्?’ 

म पनि १६÷१७ वर्षको भइसकेको थिए। जवाफ फर्काएँ, ‘बालाई किन चाहियो?’ 

म बुवाको छेउमै बसेको थिए। बुबाबाट कुटाइ खाएको कहिल्यै सम्झना पनि थिएन। तर, त्यस दिन तमाखु खाइरहनुभएका बुवाले प्याट्ट खुट्टामा हिर्काउनुभयो।  मलाई पनि झोंक चल्यो भनिदिएँ, ‘तपाईंको मालिकलाई म गोली हान्छु।’ 

सायद बुवाका लागि त्यो जवाफ अनपेक्षित नै थियो होला। मेरो जवाफबाट बुवा झस्किनुभयो। केही बोल्नुभएन। त्यसपछि बुवाले मलाई कहिल्यै केही भन्नुभएन। 

उमेर बढ्दै जाँदा कक्षा पनि बढ्दैं गयो। आन्दोलनसँगै मेरो पढाइ पनि जारी थियो। अन्ततः मैले दरबार हाईस्कुलबाट सेकेन्ड डिभिजनमा एसएलसी पास गरें। बुवाले एकदिन बबरशमसेरकहाँ भेट्न जानुपर्छ भन्नुभयो। मैले पनि बुबाको कुरा टार्न सकिनँ।

‘बबरशमसेर जर्सापकोमा सबैका छोरा गएका छन्। सबैका छोरा आए तेरो छोरो आएन भन्लान्। गएर धन्यवाद, पास भएँ भन्नुपर्छ,’ बुवाले सिकाउनुभयो। त्यसलाई मैले सहज रुपमा लिएँ। बाबुछोरा बबरशमसेरको घरमा गइयो।

बबरशमसेर भएको कोठामा पुगेपछि बुबाले मेरो छोरा भनेर परिचय गराउनुभयो। 

बबरशमसेरले भने, ‘ए तिम्रो कांग्रेस छोरा यही हो?’ 

बुवाको जवाफ थियो, ‘हो सरकार।’ 

अनि बबरशमसेरले भने ‘हामी भएको बेला पढ्नु। अहिले एसएलसी पास ग¥यौ। के पढ्न मन लाग्छ त्यो पढ्नु। पढिसकेपछि जे गर्न मन लाग्छ त्यही गर्नु।’

विश्व निकेतनमा कान्छो शिक्षक 
म दरबार हाइस्कुलमा ९ कक्षामा पढ्थें। टोलमा नरमान श्रेष्ठ भन्ने थिए। उनी पनि राणाविरोधी रहेछन्। उनले स्कुल खोल्ने विचार गरेछन्। र, त्यहीँ नै राणाको विरोधमा युवाहरु तयार गर्ने सोचेका रहेछन्। शिक्षा निर्देशक थिए बबरशमसेरका छोरा मृगेन्द्रशमसेर। स्कुल स्थापना गर्न स्वीकृति लिनका लागि श्रेष्ठ बिहान–बिहान मृगेन्द्रशम्सेरलाई खुसी बनाउन उनको घरमा जाने रहेछन्। श्रेष्ठले स्कूल स्थापनाका लागि मृगेन्द्रसँग कुरा पनि गरेछन्। तर, मृगेन्द्रले ‘तिमी बल्छी हान्न आएको होला हो ?’ भनेर श्रेष्ठलाई प्रतिप्रश्न गरेछन्।

स्कुल जाँदै थिएँ। निराश र हतासमा फर्किएका श्रेष्ठले वीर अस्पताल अगाडि मलाई त्यो घटना सुनाए। अन्ततः केही वर्षपछि मृगेन्द्रले स्कुल स्थापना गर्न स्वीकृति दिए। विश्व निकेतनका नाममा स्कुल स्थापना पनि भयो र सबैभन्दा कान्छो शिक्षकका रुपमा म पनि पढाउन थालेँ। 

विद्यालयले हिरण्यलाल, सूर्यलालजस्ता राजनीतिक युवा पनि जन्मायो। विद्यालयमा हप्ताको एकपटक प्रत्येक शिक्षकले अनिवार्य राजनीतिक भाषण दिनुुपर्ने आन्तरिक निर्देशन थियो। जुलुसको खबर आयो भने विद्यार्थी र शिक्षक पनि सहभागी हुन्थे। राजा त्रिभुवन भारत निर्वासनमा गएपछि आन्दोलन पनि बृहत हुँदै गयो। आन्दोलनले मूर्त रुप लिएपछि राणा शासनको अन्त्य पनि भयो र देशमा प्रजातन्त्र स्थापना भयो। 

खुर्सानी खोस्दा जेलमा

२०१० सालमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भए। त्यतिबेला सरकारले नेपालमा उत्पादित वस्तु भारत निर्यात गर्न थाल्यो। खुर्सानी, प्याज, तरकारीलगायत वस्तु भारत निर्यात गर्न भन्दै काठमाडौंबाट ट्रकका ट्रक उतै जान थाले। त्यसको असर काठमाडौंमा देखियो। नेपाली बजारमै उत्पादित वस्तु खरिद बिक्री हुने अवस्थामा भारत निर्यात हुन थालेपछि अभावले झनै मूल्य आकाशियो।

आफ्नो देशमा नभएको वस्तु सरकारले जबरजस्ती विदेश निर्यात गर्न थालेपछि मलगायत टोलमा रहेका परोपकार संस्थाका स्वयंसेवकले जुक्ति निकाल्यौं। हामीहरुले भारत लैजान ट्रकमा लोड गरेको खुर्सानी टेकु भन्सारबाहिरै रोक्ने योजना बनायौं।

भन्सारभित्र लगेको सामान कब्जा गर्दा बढी खतरा हुने भएकाले हामीहरुले बाहिर गेट पालेलाई पनि जानकारी गरायौं।

‘भाइ यिनीहरुले बदमासी गरेका रहेछन्। खुर्सानी जति भारत लैजान थालेपछि यहाँ खुर्सानीको अभाव भयो। महङ्गो छ। हामीले खान नपाउने भयौं। हामी बाहिरै राख्छौं,’ भनेपछि पालेले पनि सहमति जनाइहाले। खुर्सानी कब्जा गर्न भन्सार कार्यालय, टेकु पुगेका मलगायत छ/सात जनाले धमाधम खुर्सानीका बोरा बोक्न थाल्यौं। दुई÷तीन ट्रकबाट करिब दुई सय बोरा खुर्सानी बाहिर निकालियो। अरु स्वयंसेवक साथीहरु पनि त्यहीँ जम्मा हुन थाले। त्यही बीचमा चार÷पाँच सय स्थानीय पनि जम्मा भइहाले। 

भन्सारबाट बाहिर राखेपछि कहाँ लैजाने भन्ने प्रश्न तेर्सियो। त्यतातिर हामीले सोचेकै थिएनौं। मैले सुझाएँ, ‘नोक्सान हुन नदिउँ। सबै रेकर्ड राखौं। अनि असनमा र इन्द्रचोकमा लगेर बेचौं।’

तर, खुर्सानी असनका र इन्द्रचोकका व्यापारीले लैजान मानेनन्। त्यसपछि सबै खुर्सानी ल्याएर मेरै टोलमा राखिदिए। त्यसले मलाई हैरान बनायो। किनभने पहिलो आइडिया त मेरै थियो। 

टोलमा संघको कार्यालय थियो। अब यहीँ राख्ने भनेर ताल्चा लगाएर राखें। एक तले भवन भएकाले ताल्चा लगाए पनि झ्यालबाट जान मिल्ने थियो। फेरि खुर्सानीलाई सुरक्षा गार्ड बस्नुपर्ने भयो। राति लैजाला भनेर दुईजना साथी र म गार्ड बस्ने भयौं। खुर्सानी राखेको कोठामा कहाँ सुत्न सकिन्थ्यो र। कोठाबाट निस्केर बार्दलीमा सुत्यौं। उज्यालो नहुँदै तल ओर्लियौं। खुर्सानी राखेको दिनभर प्रहरीले थाहा पाएन। तर, बेलुका चार बजेतिर प्रहरी आएर खुर्सानी लिएर गयो।

त्यही घटनालाई लिएर प्रहरीले वारेन्ट पनि जारी गरेछ। टोलका कति मानिसलाई समातेर लग्यो। म पनि केही समयपछि समातिएँ, त्यो पनि फुटबल खेल्दै गर्दा। म एनआरटीबाट मिडफिल्डरमा रहेर फुटबल खेल्थेें। दशरथ रंगशाला बनेको थिएन। त्यतिबेला फुटबल लिग सिंहदरबारभित्रको मैदानमा हुन्थ्यो। एनआरटीको लिग पुलिसकै टिमसँग परेछ। वारेन्ट जारी गरेको धेरै समय भइसकेको थियो। मलाई खुर्सानी काण्डको वारेन्ट सकिसक्यो होला भन्ने लागेको थियो। प्रहरीले हाम्रोे गाडी हेरेर गयो। मैले त्यही लिगको अर्को खेल पनि खेलें। 

त्यो दिन म जता दौड्न्छु प्रहरीहरु पनि दुवै छेउबाट उतै दौडिन थाले। वारेन्ट छ कि क्या हो भन्ने शंका लाग्यो। साथीहरु भने खेलाउनलाई छैन, सकियो भन्न थाले। खेल सकिने बित्तिकै मैले ड्रेस चेन्ज गरें। 

पछि साथीहरुले नै भन्न थाले, ‘हामी निस्किँदा त एक–एक जनालाई रोकेर सोध्दैं हे¥यो। वारेन्ट बाँकी छ क्या हो।’

त्यो दिन पनि त्यत्तिकै रह्यो। अर्को खेलमा भने म समातिएँ। सिभिल ड्रेसमा आएका प्रहरी अघिल्लो खेलमा जस्तै मैदानभित्र जता दौडन्छन्, छेउमा उसैगरी दौडिए। खेल सकिएपछि इन्सपेक्टर रोम थापा नै आएर वारेन्ट पेपर देखाउँदै समातेर लगे। 
मेरा साथीहरु आक्रोशित हुँदै कराउँदै थिए। तर, मैले रोकें, ‘आइ विल एसेप्ट। उहाँले त आदेश पालना गर्ने हो। उहाँहरुलाई डिउटी गर्न दिनुहोस्। गोलमाल नगर्नुस्।’ खेल मैदानबाटै प्रहरीले लिएर गए पनि एक हप्तामै छोड्यो।

वीपीले भने, ‘ह्वाट क्यान वी डू ?’

२०१४ सालको स्थानीय निर्वाचनबाट म तत्कालीन काठमाडौं नगरपालिकाको सभापतिमा (मेयर) निर्वाचित भएँ। राजा महेन्द्रले २०१७ साल पुस १ गते ‘कु’ गर्नुअघि मैले वीपी कोइरालासँग भेटेका थिएँ। तत्कालीन काठमाडौं नगरपालिकाको सभापति र कांग्रेसको जिल्ला सभापति पनि भएकाले प्रधानमन्त्री कोइरालासँग मेरो भेटघाट भइरहन्थ्यो। पुस १ गते पनि म त्रिपुरेश्वरमा रहेको प्रधानमन्त्री क्वार्टरमै थिएँ। प्रधानमन्त्री कोइरालासँग सामान्य कुराकानी भयो। थापाथलीमा तरुण दलको कार्यक्रम सुरु हुने बेला भइसकेको थियो। हामीहरु सबै कार्यक्रम स्थलतर्फ लाग्यौं। कार्यक्रम सुरु भएको केही समयमै कार्यक्रमस्थलबाटै सेनाले सबैलाई समाएर लगे। म भने त्यहाँबाट भाग्न सफल भएँ। नगरपालिकाको गाडी त्यहीँ छोडेर पर्खालबाट हामफाल्दै साथीको गाडीमा पाटन पुगेँ। र, भूमिगत भएँ।

त्यही समय बेलायती महारानी एलिजाबेथ आउने कार्यक्रम थियो। मैले टुँडिखेल खरीको बोटमा सिभिल रिसेप्सन दिनुपर्ने। भूमिगत भएकै बेला अञ्चलाधिसले राजाले चालेको कदमलाई सहयोग गरिदिन आग्रह गरे। तर, मैले समर्थन गर्न मानिनँ। मेरो जवाफ थियो,  ‘जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गर्दै थुन्ने कुरा ठिक छ भन्न सक्दिनँ।’
 
उसो त राजा महेन्द्रले ‘कू’ गुर्नअघि पनि नेपाली कांग्रेससँग राजा सन्तुष्ट छैनन् भन्ने हल्ला थियो। कुन दिन कांग्रेसलाई राजाले कारबाही गर्छन् भन्ने थियो। यही हल्ला मैले वीपीलाई पनि सुनाएँ, ‘वीपी बाबु, कुनै पनि बेला राजा महेन्द्रले कारबाही गर्न सक्छन् भन्ने हल्ला छ।’ 

वीपीले भन्नुभयो, ‘प्रयागजी त्यो हो। ह्वाट क्यान वी डू ? हामीसँग आर्मी छैन। हल्ला त भइरहेको छ। गतिविधि शंकास्पद नै छ। हामी सरकारमै छौं। भाग्नु पनि त भएन। वेट एण्ड सी। द्याट इज ट्रू। हाम्रोतर्फबाट प्रजातन्त्रको रक्षामा गल्ती हुनु भएन।’
त्यसको केही दिनपछि म  गणेशमान सिंहकोमा गएँ। गणेशमान बाहिर निस्किए। मलाई देख्ने बित्तिकै भने, ‘प्रयागभाइ अब धन्दा छैन, बुझ्यौ?।’ 
मैले आश्चर्यमिश्रित भावमा सोधे, ‘किन दाइ के परिवर्तन भयो र?’ 

गणेशमान, वीपीलगायतको राजा महेन्द्रसँग भेट भएको रहेछ। गणेशमानले प्रष्ट पार्नुभयो, ‘राजा महेन्द्रसँग अब राम्रो अन्डरस्ट्यान्डिङ भयो। हिजो पार्टीमा राजाले दरबारमै बोलाएका थिए। अब अर्कै स्थिति भइसक्यो। राजा महेन्द्र शास्त्रीय राग छोड्ने, म तबला बजाउने। रामनारायण मिश्र (तत्कालीन उद्योग वाणिज्य मन्त्री) फागु गीत गाउने। उता महारानी रत्ना भान्सामा खाना पकाउने। वीपी बाबुले तरकारी काटिदिने, मसला पिस्ने। अब हाम्रो अन्डरस्ट्यान्डिङ भयो। त्यस्तो केही पनि छैन। धन्दा मान्नुपर्दैन, प्रयागभाइ। अब प्रजातन्त्र रक्षाका लागि आनन्दसँग काम गर्नुपर्छ।’

उसो भए हामी पनि रमाइलो गरौं भन्दै मंगलादेवी सिंह (गणेशमान सिंहकी श्रीमती) सँग रक्सी मागेर खाएँ। तर, त्यसको केही दिनपछि त राजा महेन्द्रले ‘कू’ गरिहाले।
राजा महेन्द्रको कदमलाई समर्थन नगरेपछि म पनि झण्डै सात वर्ष जेल परेँ। 

झुण्ड्याउने खबर 

जेलबाट छुट्नुअघिको घटना पनि रोचक छ। मलाई नख्खु जेलमा राखिएको थियो। तारिणीप्रसाद कोइराला, गिरिजा कोइरालालगायत पनि त्यहीँ हुनुहुन्थ्यो।
 
तारिणी बिरामी भएँ भनेर अस्पताल जानुहुन्थ्यो र बारम्बार मसहित जेलमा भएका अन्यसँग भेटिरहनुहुन्थ्यो। छुट्नुभन्दा एक÷दुई वर्षअघि तारिणीले म बसेको ठाउँमा आएर भन्नुभयो, ‘राजा महेन्द्रसँग कांग्रेसको राम्रो समझदारी भइरहेको छ। चाँडैं नै जेलबाट रिहा गर्छ भन्ने सुवर्णले खबर पठाएका छन्। यदि छोड्न आयो भने जेमा सही गर भन्छ, त्यसमा सही गर्नु। सही गर्दिनँ कसैले नभन्नु। सही गरेर निस्किनु। आजभोलि जुनबेला पनि छोड्न आउन सक्छ।’ 

तारिणीले मलाई अझ जिम्मेवारी थप्नुभयो, ‘प्रयागजीले मार्सलजुलुम शाक्य र सिद्धिलाल दुई जनालाई सम्झाउनु। नाइँ आउदिनँ भन्लान्। ठिक पारेर राख्ने जिम्मा तपाईंको।’

त्यतिबेला सबैमा खुशी छायो। तारिणी भनेर त गए। आठ दिन, दश दिन हुँदै महिना र महिना हुँदै वर्ष बिते। तर, छोड्नै आएन कोही पनि।

जेलभित्र मलाई र लोकदर्शनलाई एउटा कोठा दिइएको थियो। लोकदर्शन जेलबाट छुटिसकेका थिए। पछि उनीसँग सेमन्तराज थिए। म बेलुका ढिलै सुत्थें। बेलुका पढ्ने गर्थें। एकदिन निदाउनै लागेका बेला कसैले ढोका ढकढक्यायो। जेलमा ढोका खोल्न पनि चुनौतीपूर्ण हुन्थ्यो। मैले सोधे, ‘को हा ?’ बाहिरबाट नेवारीमा आवाज सुनियो, ‘जी–जी (म–म)।’

थानकोटको एक जना टापटिपे चोर त्यहाँको नाइके थिए। उनी नै रहेछन्। नाइकेले खबर ल्याएर आए, ‘यहाँबाट लैजानलाई आर्मी आउँदैछ।’ 

ममा कौतुहलता बढ्यो, ‘किन ?’

जवाफ आयो, ‘झुण्ड्याउँनलाई रे। लैजाँदैछ धमाधम।’

झुण्ड्याउन लैजाँदैछ भन्ने खबरले मेरो ढुकढुकीको चाल तीव्र बन्यो। तर, पनि रोकिएन प्रश्न, ‘कसरी थाहा भो तिमीलाई झुण्ड्याउँछ भनेर ?’

खबर ल्याउनेले थप्यो, ‘म सेन्ट्रल जेलमा थिएँ। त्यतिबेला दुई÷तीन जनालाई झुण्ड्याएको थियो। यसैगरी उनीहरु नै लिन आएका थिए। छोड्ने भए त हामीलाई लिएर आउ भन्थ्यो। तर, आर्मीको मान्छेहरु आफैँ आएर धमाधम लिएर गइरहेका छन्। तारिणी, गिरिजालाई पनि लगिसक्यो। हामीलाई भन्दै भनेन।’

निदाउनै लागेको मलाई त्यो खबरले बेचैन बनायो। मलाई लाग्यो अब, यो रात नै जिन्दगीको अन्तिम हो। तर पनि ‘सास रहेसम्म, आश’ रहन्छ भनेजस्तै बाँच्छु भन्ने आशा मनमा पलाउन छोडेन। कतैबाट भाग्न, लुक्न सकिन्छ भनेर यताउता हेरें। निष्कर्ष निकालें, ‘चोर त भाग्न र लुक्न सक्दैन म कसरी सकुलाँ र ? भागौं भने पनि यति ठूलो पर्खाल छ। सुरक्षाकर्मीहरु वरिपरी हिँडिरहेका छन्।’ त्यसबारे पनि मैले सोच्न बन्द गरें। 

त्यस्तो बेलामा घर परिवार कोही सम्झिएन। लुक्न वा भाग्न सकिन्छ भन्ने मात्र लाग्यो।

अन्ततः मसँग कुनै विकल्प बाँकी रहेन। अनेक तर्कना खेलाउँदा खेलाउँदै कसैले ढोका ढक्ढक्यायो। मैले उता निदाइरहेको साथी सेमन्तराजलाई उठाएँ। र, आफूहरुलाई झुण्ड्याउन लैजान लागेकोबारे जानकारी दिएँ। 

बाहिरबाट आवाज आयो, ‘यो प्रयागराजको कोठा हो ?’

मैले जवाफ दिएँ ‘हो।’

उताबाट निर्देशन आयो, ‘हिँड्नुस्।’ सुवालले सोधे, ‘यी गुन्टाहरु के गर्ने ?’ ‘पर्दैन’ भन्ने प्रतिउत्तर आयो। 

गुन्टा पनि पर्दैन भनेपछि मलाई झुन्ड्याउने नै भए भन्ने लाग्यो। तर, जब हामीहरुलाई बाहिर ल्याइयो, कतैबाट आवाज आयो। तारिणी, श्रीभद्रलगायत केहीलाई बाहिर ल्याइएको रहेछ। आवाज पनि चर्को आइरहेको थियो। त्यसको कारण रहेछ आर्मीले गिरिजाप्रसाद कोइरालालाई हिँड् भन्दा रहेछन् गिरिजा जान्नँ भन्ने रहेछन्। 

गिरिजाले ‘म कागज गर्दिन्नँ। बिना सही छोड्ने भए छोड’ भन्दारहेछन्। त्यही विषयमा चर्काचर्की परिरहेको रहेछ। त्यो सुन्नेबित्तिकै मलाई अब भने बाँचिने भइयो। मार्ने रहेनछन् भन्ने लाग्यो। 
केही समयपछि गिरिजाले निशर्त रिहाईको माग गर्दै जेलमै २२ दिनसम्म अनसन गरे। अन्ततः जेलबाट छुटे। 

राजा वीरेन्द्रले भने, ‘मलाई सहयोग गर है’

म २०३१ सालमा मन्त्री पनि बनें। पञ्चायतकालमा स्नातक चुनाव क्षेत्र भन्ने हुन्थ्यो। त्यसमा मुलकभरबाट स्नातक पास गरेकाले मात्र मत दिन पाउँथे। त्यसबाट चार जना निर्वाचित हुन्थे। त्यसमा मैले दुईपटक जितँे। मलाई कांग्रेसले नै उम्मेद्वार बनाएको थियो। सुवर्णशमसेरले त्यसमा साथ दिएका थिए। म स्नातक चुनाव क्षेत्रबाट निर्वाचित भएपछि राजा वीरेन्द्रले डिनरमा बोलाए। त्यहीँ मलाई राजा वीरेन्द्रले आफूलाई सहयोग गर्न आग्रह गरे। 

म डिनर सकेर फर्किदै थिएँ त्यहीबेला वीरेन्द्रले सोधे, ‘तिमीले ग्य्राजुएट कन्सटिच्युएन्सीबाट जितेको हो?’ मैले हो भनेर जवाफ फर्काएँ। लगत्तै राजाले सोधे, ‘दोस्रोपटक त फस्ट पोजिसनमा हो रे है। मलाई सहयोग गर है।’

त्यसअघिको निर्वाचनमा ऋषिकेश शाह पहिलो र म दोस्रो नम्बरमा थिएँ। तर अर्को निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर म पहिलो नम्बरमा आएँ। 

राजाको आग्रहपछि मैले भनें, ‘सहयोग त छँदैछ। तर, म डेमोक्रेसीमा विश्वास गर्छु सरकार।’ राजाले पनि भने, ‘म पनि त त्यही चाहन्छु।’

राजाको अभिव्यक्तिपछि मैले त्यसमा सहमति जनाए। त्यसको केही दिनपछि म निर्माण तथा यातायात मन्त्री भएँ। मेरै कार्यकालमा रिङरोड निर्माण भयो। ट्रलिबस सञ्चालनमा ल्याउनेदेखि धरान–धनकुटा राजमार्ग निर्माणलाई मैले आफ्नो कार्यकालको महत्वपूर्ण कामका रुपमा लिएको छु।