इटहरी– बलात्कारको आरोप लागेर प्रहरी निगरानीमा रहेका सिद्धबाबा भनिने कृष्ण गिरी राष्ट्रपति र प्रधानमन्त्रीलाई आशिर्वाद दिने व्यक्ति थिए। उनका बिगतका गतिविधिले यस्ताे छनक देखाएकाे हाे।
बलात्कारको आरोप लागेपछि बिरामी परेर अस्पताल भर्ना भएका उनलाई प्रहरीले अहिले सम्म बयान लिएकाे छैन। सुनसरी जिल्ला प्रहरी कार्यलय इनरुवाका प्रहरी नायव उपरीक्षक बिनोद शर्माका अनुसार बिरामी भएर सुतेपछी बयानको लागि समस्या भइरहेकोछ। उनकाे आईसीयूमा राखेर उपचार भइरहेकोले बयानमा समस्या भएको प्रहरीले जनाएकाे छ।
मंसिर १६ गते सुनसरी जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न ४ दिनको म्याद दिएको थियो। तर ४ दिन बितीसक्दा समेत बयान हुन नसकेपछी पुन: अदालत लैजाने तयारीमा प्रहरी लागेकोछ।
गिरीका गतिविधि
गिरी सुनसरीको बराहक्षेत्रस्थित चतराधाममा आश्रम बनाएर बस्दै आएका छन्। नेपालमा मात्र हैन विदेशमा पनि आफ्ना थुप्रै अनुयायी बनाइसेका उनीले प्रधानमन्त्रीदेखि राष्ट्रपतीलाई समेत आशीर्वाद लिन बोलाउँछन्।
वातावरण प्रदूषण शुद्धीकरण गर्ने भन्दै गत फागुनमा श्रीराम तारकब्रह्म महायज्ञको आयोजना गरे। जहाँ लाखौको संख्यामा उनका अनुयायीहरुले अवलोकन गरेका थिए। जसबापत उनले करोडौं रुपैया आर्जन गरे। तर उक्त रकम अझैसम्म सार्वजनिक भएकाे छैन।
सो महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीकाे हातबाट भयो। प्रदेश १ मा हरितक्रान्ति अभियान चलाउने घोषणा कार्यक्रम मार्फत उक्त महायज्ञको उद्घाटन गरियो। प्रदेश १ सरकारले पनि उनको हरितक्रान्ति अभियानका लागि ५० लाख रुपैयाँ सहयोग गरेको थियो।
त्यतिबेला गिरीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईभन्दा आफूलाई माथिल्लो स्तरमा राखेर अभिव्यक्ति दिएका थिए। राईले पनि आफू बाबाजीबाट प्रभावित भएको बताएका थिए।
सोही महायज्ञको समयमा सुनसरी मोरङ्ग सिंचाई परीयोजनाको १३ बिघा जग्गामा आठ करोड रुपैयाँ लागतको एक सय २८ कोठे भवन बनाए। कोशी विस्थापित परिवार बसेको उक्त स्थानबाट पाँच वर्षअघि सरकारले जबर्जस्ति हटाएको थियो। तर, गरीले भने कुनै प्रक्रिया नै पूरा नगरी भवन बनाएका छन्। जुन भवनको राष्ट्रपति भण्डारीबाटै उद्घाटन भएको थियो। भण्डारीकी आमा मिथीला पाण्डे पनि सोही आश्रममा बस्ने गर्छिन्।
राष्ट्रपति भण्डारी २०७४ मा रामनवमीको अवसर पारेर गिरीले गरेको भूसमाधिमा पनि सहभागी भइन्। २०७५ मा योग दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईसहित प्रदेशमन्त्रीहरू सहभागी भएका थिए।
गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्मदर्शनका ज्ञाता भएको बताउँदै आएकाछन्। उनले भिन्न विश्वविद्यालयबाट विद्यावारिधी गरेको भन्दै विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि गर्दै आएका छन्। जसमा उनीले राष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखसँगै विदेशी शक्तिकेन्द्रलाई साक्षी राख्ने गर्छन्।
गिरीले २०६४ सालमा चतरामा आयुर्वेदिक स्वास्थ्य साधना शिविर सञ्चालन गरे। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भैंसी पूजा गराए। प्रचण्डपछि आयुर्वेदिक विश्वविद्यालयको शिलान्यास गर्न नेपालका लागि तत्कालीन भारतीय राजदूत रञ्जित रेलाई निमन्त्रणा गरे।
निवर्तमान सभामुख कृष्णबहादुर महरा पनि आशीर्वाद लिन गिरीको आश्रममा पुगेका थिए।
सम्पर्क विस्तार
गिरी २०६३ सालमा बालसन्त मोहनशरण देवाचार्य (बालसन्त)को सम्पर्कमा पुगे। बालसन्तकै आश्रममा गिरीले आफुलाई थप विकशित गराए। बालसन्तले नै गिरीलाई डोहोर्याएर पहुँचवालासँग परिचय गराइदिए।
भीआईपीसंँग कनेक्सन बढ्दै गएपछि उनले आफ्नै गतिविधि संचालन गर्न थाले। पूर्वमन्त्रीहरु कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, एनपी साउद, विजयकुमार गच्छदार, लालाबु पण्डित, ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेता पनि बेलाबेलामा गिरीको आशीर्बाद लिन पुग्छन्।
२०६५ सालतिर अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली, वाम बुद्धिजीवी प्रदीप नेपाल र मोदनाथ प्रश्रितले समेत गिरीको आशीर्वाद लिए। पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्कीलगायत धेरै उच्चपदस्थ व्यक्ति उनका अनुयायी बनेका छन्।
गिरीकै निम्तोमा तारकब्रह्म महायज्ञका बेला पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आएका थिए। प्रधानमन्त्री भएकै बेला देउवा २०७४ जेठ अन्तिममा पत्नी आरजुलाई लिएर गिरीसमक्ष आशीर्वाद थाप्न आएका थिए। त्यतिबेला नेपाललाई हिन्दू राज्य बनाउनु भन्दै गिरीले देउवालाई आशीर्वाद दिएका थिए।
उनी पोखरा र चतरामा भूसमाधी बसेर चर्चामा आए। आफू लामो समयसम्म जमिनमुनि र जलभित्र बस्न सक्ने, हावामा उड्न सक्ने भन्दै अनुयायीलाई मोहित बनाउने गर्छन् उनी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।