एजेन्सी– भारतको हैदराबादमा भएकाे बहुचर्तित बलात्कार काण्डका चार अभियुक्त प्रहरी कारबाहीमा मारिएका छन्। हैदराबादबाट ५० किलोमिटर टाढा रहेको महबुब नगर जिल्लाको चटनपल्ल गाउँमा चार अभियुक्त इन्काउन्टरमा मारिएका हुन्।
तेलंगना प्रहरीका एडिजी जितेन्द्रका अनुसार शुक्रबार बिहानीपखको ३ बजे चार अभियुक्त प्रहरी कारबाहीमा मारिएका हुन्। यी चार अभियुक्तलाई लिएर बिहीबार राति प्रहरी महिलाको शव भेटिएको ठाउँमा पुगेको थियो। घटनास्थल पुगेपछि प्रहरीमाथि चारै अभियुक्तले हमला गर्न खोजेपछि भएको मुठभेडमा उनीहरुकाे मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। १४ दिनसम्म प्रहरी हिरासतमा बसेका उनीहरु १५औं दिनमा प्रहरीसँगकाे मुठभेडमा मारिएका हुन्।
मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्नाकेशवुलु मारिएका हुन्।
यस्तो छ बलात्कारको कहानी
२७ नोमेम्बर हैदराबादको एक टोल प्लाजामा २६ वर्षीया पशु चिकित्सक महिलाले आफ्नो स्टुकर पार्क गरिन्। र, आफ्नो काममा निस्किन्। फर्केर आउँदा उनको स्कुटर पन्चर भएको थियो। स्कुटर पन्चर भएपछि त्यही छाडेर उनी ट्याक्सीमा घर जाने निधो गरिन्। त्यसबेला रातको ९ बजिसकेको थियो। राति भएकाले डर लागेको भन्दै उनले आफ्नो बहिनीसँग फोनमा कुरा गरिन्।
त्यही बेला अचानक एक युवक उनको अगाडि आएर स्कुटर आफूले बनाइदिने बताए। फोनमै ती महिलाले आफ्नी बहिनीलाई यसबारे जानकारी गराइन्, ‘एक जना ट्रक ड्राइभर आएको छ, स्कुटर बनाइदिन्छु भन्छ।’ तर, ती महिलाले ड्राइभरले भनेको कुरा इन्कार गरिन्। तर पनि ती ड्राइभरले महिलाको पिछा गर्न भने छाडेनन्। त्यसपछि ती महिलाले बहिनीलाई केही समयपछि फोन गर्ने भन्दै फोन काटिन्।
केहीबरेमै ती पशु चिकित्सक महिलाको फोन स्वीच अफ भयो। महिलाको परिवार उक्त टोल प्लाजामा गएर सोधखोज गर्यो। तर, केही फेला परेन। महिला हराएको भन्दै प्रहरीको निवेदन समेत दिए।
२८ नोमेम्बर बिहान पुलिस स्टेशनको सेटमा बनाउँदै गरेको एक पुलको मुनि आधी जलेको अवस्थामा युवतीको शव फेला परेको सूचना आयो। त्यो शव अघिल्लो दिन हराएकी पशु चिकित्सककै हो भन्दै उनका परिवारले सनाखत गरेका थिए। पछि अनुसन्धानबाट ती महिलाको बलात्कारपछि हत्या भएको पुष्टि भयो। घटनाको अनुसन्धानको क्रममा हैदराबाद प्रहरीले चार अभियुक्तलाई पक्राउ गरेको थियो।
सडकदेखि संसद्सम्म विराेध
यस घटनाको भारतभर विरोध प्रर्दशन भएको थियो। सडकदेखि संसद्सम्म दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको थियो।संसदमा बोल्दै सांसद जया बच्चनले भिडले नै दोषीलाई सजाय दिनुपर्ने समेत टिप्पणी गरेकी थिइन्। संसदमै फाँसी दिनुपर्ने भन्दै कुरा उठेको थियो।
तमिलनाडुकी सांसद विजिला सात्यनान्थले देश महिला तथा बालबालिकाको सुरक्षित नभएको चिन्ता व्यक्त गर्दै पक्राउ परेका चारै अभियुक्तलाई फाँसी दिनुपर्ने बताएकी थिइन्। उता रक्षामन्त्री राजनाथ सिंहले समेत यस किसिमको घटनाले लज्जित बनाएको बताएका थिए।
चार अभियुक्तको प्रहरी कारबाहीमा मारिएपछि मृत महिलाकी बहिनीले प्रहरीको यो इन्काउन्टर उदाहरण बन्ने प्रतिक्रिया दिएकी छन्। यवुतीका पिताले पनि प्रहरी इन्काउन्टर उचित रहेको बताउँदै भनेका छन्, ‘तिलंगना सरकार, पुलिस र मेरो साथमा उभिने सबैलाई धन्यवाद।’
रक्सी पिएर सात घण्टा बलात्कार
रक्सी पिएर यी चार अभियुक्तहरुले ती महिलालाई सात घण्टासम्म बलात्कार गरेका थिए। मारिएका चारै जना ट्रक ड्राइभर हुन्। एक जनाको उमेर २६ वर्ष छ भने बाँकी तीनै जना २० वर्षभन्दा मुनिका छन्।
भारतमा बलात्कारका घटना डरलाग्दो रुपमा देखापर्दै आएका छन्। उत्तर प्रदेशमा गत मार्चमा बलात्कार भएपछि उजुरी दिन अदालत जान लागेकी महिलामाथि आगो लगाइएको थियो। उनी अहिले अस्पतालमै उपचाररत छिन्।
सन् २०१२ को डिसेम्बरमा दिल्लीमा एक महिलाको बसभित्र सामूहिक बलात्कार र हत्या भएको थियो। सन् २०१७ को तथ्याङ्क अनुसार भारतमा दैनिक ९२ वटा बलात्कार घटना सार्वजनिक हुने गरेका छन्। २०१७ मा मात्रै ३३ हजार ६ सय ५८ वटा बलात्कार घटना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।