काठमाडौं- जोरपाटी–सुन्दरीजल सडकखण्ड अन्तर्गत गोकर्णेश्वर नगरपालिकाभित्र पर्ने संरचना १५ दिनभित्र हटाउन नगरपालिकाले सूचना निकालेको छ। सडक विस्तारको काममा अवरोध भएको भन्दै नगरपालिकाले यस्तो सूचना निकालेको हो।
नगरपालिकाले स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाका जनप्रतिनिधिसँग छलफल गरी सडक विस्तारमा अवरोध पुर्याउने संरचना हटाउने निर्णय गरेको हो। नगरपालिकाकाअनुसार जोरपाटी–सुन्दरीजल सडक खण्ड अन्तर्गत सडक सीमाभित्रका निजी जग्गामा बनेका अस्थायी संरचना, टहरा भएको ठाउँमा फुटपाथसहित कम्तिमा १४ मिटर र सार्वजनिक, प्रतिजग्गा भएको ठाउँमा फुटपाथसहित अधिकतम २२ मिटर कालोपत्रे गर्ने सहमति भएको छ।
सोही सहमतिअनुसार उक्त, सडकखण्डको न्यूनतम १४ मिटर र अधिकतम २२ मिटर सीमा क्षेत्रभित्र पर्ने अस्थायी संरचना, टहरा हटाउन नगरपालिकाले दुई साताअघि सार्वजनिक अपिल गरेको थियो। जोरपाटी–सुन्दरीजल सडक विस्तारको विषयमा बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग समेत छलफल भएको थियो। मन्त्रीसँगको छलफलपछि उक्त सडक विस्तार क्षेत्रभित्र परेका अस्थायी संरचना, टहरा र रुखलगायत संरचना १ महिनाभित्र स्थानीय तहले हटाउने र बाटो निर्माणलाई तीव्रता दिने सहमति भएको नगरपालिकाले जनाएको छ।
१५ दिनभित्र संरचना नहटाइए नगरपालिकाले प्रक्रियाअनुसार हटाउने जनाएको छ। नगरपालिकाले यो नै अन्तिम सूचना भएको समेत उल्लेख गरेको छ। त्यस्तै निजी बाहेकका सरकारी र सार्वजनिक प्रतिजग्गामा बनेको टहरा नगरपालिकाले शुक्रबारदेखि हटाउन सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।